बाढीले बगाएर भारतीय जंगलमा पुगेका गैडालाई नेपाल फर्काउन एसएसबीले दिएन
अंगद यादव,
प्रकाशित २०७५ मंसिर २५ मंगलबार
264
Shares
नवलपरासी । गत साउन महिनाको बाढीमा नारायणी नदीमा बगेर भारतीय भुमिमा पुगेका चितवन राष्ट्रिय निकुञ्जका ३ वटा गैंडा अलपत्र अबस्थामा रहेका छन् । भारतको सुस्ता जंगलमा पुगेका गैंडा फर्काउने प्रयास गरिए पनि भारतीय सीमा सुरक्षा बल एसएसवी र बन कर्मचारीले नेपाली पक्षलाई अवरोध गर्दै आईरहेका छन् ।
गैडा लिनका लागि भारत पुगेको चितवन राष्ट्रिय निकुञ्जको टोलीलाई केन्द्रको अनुमति विना गैंडा फिर्ता लैजान नमिल्ने भन्दै रोक लगाईएको सुस्ता बचाउ अभियानका सदस्य रविन्द्र जैसवालले बताए।
भारतले आफ्नो बन क्षेत्रमा रहेका गैंडाको रेखदेखका लागि ६ जना कर्मचारी राखेको तथा नेपालतर्फ आउन रोक लगाएको सुस्ताका स्थानियहरुले बताएका छन्। नेपालबाट बगेर भारत पुगेका ३ वटा गैंडाहरु मध्ये एउटा गैंडा पोथी हो। २ वटा गैडा विहारको सिर्सिया जंगलमा रहेको र एउटा विबादित क्षेत्र सुस्ता नजिकैको भारत तर्फको जंगलमा रहेका छन् ।
गैंडा नेपाल फर्काउनका लागि चितवन राष्ट्रिय निकुञ्जबाट रेन्जर दिनेश चौधरीको नेतृत्वमा ३ वटा हात्ति सहितको टोली सुस्ता पुगेको छ। टोलीले गैंडा फर्काउनका लागि भारतिय बन कर्मचारीहरुसंग पहल गर्दा केन्द्रबाट स्विकृति लिएर आउनु भनेर कर्मचारीले गैंडा फिर्ता ल्याउन रोकेको सुस्ता बचाउ अभियानका आजम खाँले बताए । खाँले बन विभाग कर्मचारीको गैर जिम्मेवारीले गर्दा समस्या भएको बताए ।
हात्ती सहितको टोली सुस्तामै रहेको छ। चितवनबाट अनुगमनका लागि टोली आउन भनिएको भएपनि अहिलेसम्म सुस्ता आएको छैन । टोली आएर थप अध्ययन गरेपछि गैंडा फर्काउनका लागि पहल गरिने सुस्ता प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक उपेन्द्र यादवले बताए । गैडाको सुरक्षाका लागि नेपालको तर्फबाट सुस्तामा रहेको शसस्त्र र जनपद प्रहरी खटिरहेको छ ।