arrow

पाँचमध्ये तीन राज्यमा मोदीलाई झड्का, राहुल लहर बढ्यो

logo
प्रकाशित २०७५ मंसिर २६ बुधबार
modi-rahul.jpg

काठमाडौं । भारतमा भएको पाँच राज्यको निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई झड्का लागेको छ । भारतीय जनता पार्टी भाजपाको सरकार रहेको मध्यप्रदेश, छत्तीसगढ र राजस्थानमा भाजपाले नराम्रो हार बेहोर्दा कांग्रेस आई सरकार बनाउने योजनामा लागिसकेको छ । 

मध्यप्रदेशमा रहेको २३० सीटमध्ये भाजपाले १०८ मा जित हासिल गर्दा एक सिटमा अगाडि छ । जबकि सन् २०१३ को निर्वाचनमा भाजपाले १६५ सिट ल्याएको थियो । 

कांग्रेसको ११३ सिट भइसकेको छ भने एक सिटमा अगाडि छ । अन्यले केवल ७ सिट जितेका छन् । कांग्रेसलाई सरकार बनाउन केवल अन्यबाट दुई सांसदको सहयोग भए पुग्नेछ । 

सन् २०१३ मा ५८ सिटमात्रै पाएको कांग्रेसले दोहोरो बढी सिट जितेको छ । 

त्यसैगरी छत्तीसगढमा कांग्रेसले भारी बहुमतसहित सरकार बनाउँदैछ । बहुमतका लागि ४६ सिट भए पुग्नेमा ९० मध्ये कांग्रेसले ६७ सिट जितिसकेको छ भने १ सिटमा अगाडि छ । सन् २०१३ मा कांग्रेसले ३९ सिटमात्र जितेको थियो । 

यता सन् २०१३ मा ४९ सिट जितेको भाजपाले यसपटक १५ सिटमै चित्त बुझाएको छ । अन्यको भागमा ७ सिटमात्र गएको छ । 

भाजपालाई राजस्थानमा सबैभन्दा ठूलो झड्का लागेको छ । भाजपाले सन् २०१३ मा १६३ सिट जितेकामा यसपटक ७३ सिटमा चित्त बुझाएको छ । 

२०० सिटका लागि भएको निर्वाचनमा १९९ को परिणाम आएको छ । जसमा कांग्रेसले १०० सिट जितेको छ । बहुमतका लागि १०१ सिट चाहिनेमा कांग्रेस एक सिट टाढा छ । कांग्रेसले अन्य दलहरुको २६ सिटबाट एक सांसदको समर्थन लिए पुग्नेछ । 

तेलंगाना र मिजोरम भने भाजपा र कांग्रेसबाट टाढा रहेका राज्य हुन् । तेलंगानामा ११९ सिटमध्ये टीआरएसले ८८ सिट जितेको छ । टीआरएसले सरकार बनाउने पक्का भएको छ । 

कांग्रेस भने सन् २०१३ को तुलनामा कमजोर सावित भएको छ । यसअघि ३७ सिट जितेको कांग्रेस २१ सिटमा अड्किएको छ । त्यसैगरी यसअघि ५ सिट ल्याएको भाजपा १ सिटमा झरेको छ । 

मिजोरममा भने कांग्रेसको सरकार ढलेको छ । ४० सिटमध्ये सन् २०१३ मा ३४ सिट ल्याएको कांग्रेसले अहिले ५ सिटमात्र ल्याएको छ । २९ सिट कांग्रेसले गुमाए पनि फाइदा एमएनएफलाई भएको छ । एमएनएफले २६ सिट ल्याएको छ । 

भाजपा पहिले शून्यमा भएका अवस्थामा अहिले एक सिट जितेको छ । अन्य दलले ८ सिट जितेका छन् । 

पाँच राज्यमा आएको नतिजाले महत्वपूर्ण तीन राज्यमा भाजपाको सरकार भएका अवस्थामा हार बेहोर्दा आगामी राज्य निर्वाचन र केन्द्रको लोकसभा निर्वाचनमा पनि असर पर्ने हो कि भन्ने आशंका बढेको छ । 

कांग्रेसका अध्यक्ष राहुल गान्धी कमजोर अध्यक्षमा पर्छन् । र पनि उनको लहर बढेको हो कि भन्ने आशंका गरिएको छ । पछिल्लो समय नराम्रो परिणामबाट गुज्रेको कांग्रेसलाई यो नतिजाले भने राहत दिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ