रोल्पा । रोल्पामा झुण्डिएर आत्महत्या गर्नेको सङ्ख्या घट्दै गएको छ । जिल्ला प्रहरी कार्यालयको अभिलेख अनुसार पछिल्ला तीन वर्षयता यो दर घट्दै गएको देखिएको छ ।
जिल्ला प्रहरी कार्यालयका तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७२-७३ मा ४३ जनाले आत्महत्या गरेका थिए । आर्थिक वर्ष ०७३-७४ र ०७४-७५ मा यो सङ्ख्या २८ मा झरेको थियो । चालु आर्थिक वर्षको असोज मसान्तसम्म ११ जनाले झुण्डिएर आत्महत्या गरेको बताइएको छ ।
आत्महत्या जिल्लाको मुख्य समस्या भएकाले यसको न्यूनीकरणमा विभिन्न अभियान सञ्चालन गरिँदै आएको जिल्ला प्रहरी कार्यालय रोल्पाका निमित्त प्रहरी प्रमुख सुदर्शन पन्थीले बताए। जनचेतनामूलक कार्यक्रम, रेडियो कार्यक्रम तथा पम्प्लेट वितरण जस्ता कार्यक्रम जिल्लाव्यापी विस्तार गरेका छौं पन्थीले भने ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विद्यालय, टोल र वडा वडामा जनचेतनामूलक कार्यक्रमलाई सघन ढङ्गले अघि बढाइएकाले आगामी वर्ष आत्महत्या गर्नेको मात्रा अझै घट्ने विश्वास गरिएको छ ।
यसरी आत्महत्या गर्नेमध्ये अधिकांश १६ देखि २४ वर्ष उमेर समूहका भएको बताइएको छ । आत्महत्या गर्नेमा महिलाको सङ्ख्या धेरै भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रेममा धोका खाएको, पर पुरुषसँगको शारीरिक सम्बन्ध जस्ता कारणले झुण्डिएर आत्महत्या गर्ने गरेको देखिएको छ । रासस