सर्लाही । जंगली हात्तीले बुधबार बिहानपख सर्लाहीको गौरीशंकर बालीनालीमा धेरै क्षति पुर्र्याएको छ । बिहान ४ देखि ५ बजेको समयमा हात्तीले गौरीशंकरस्थित हरकठ्वा गाउँभन्दा पश्चिम तर्फ किसान लगाएको उखु, गहुँ, आलु, केरा लगायतका बालीनाली नष्ट गरेको हाम्रा संवाददाता ढुण्डीराज पोखरेलले जनाएका छन ।
हात्तीले बिनोद साह तेलीले खेतमा छाप्रो बनाएर राखेको मलखाद पनि नष्ट गरेको छ । हात्तीले अन्य घरहरुमा क्षति नपुर्याएपनि बस्ती नजिकको खेतबारीमा ठूलो नोक्सान पुर्र्याएपछि स्थानीय त्रसित भएका छन् ।
दुई सातासम्म जिल्लाको राजमार्ग उत्तर लालबन्दी, हीरापुर, परवानीपुर र रानीगञ्ज क्षेत्रका जंगल छेउछाउका बस्तीमा क्षति पुर्याईरहेको तीन वटा हात्ती सोमवार राती राजमार्ग दक्षिण गौरीशंकर पुगेको हो ।
डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख माधवप्रसाद देवले एउटा मात्रै हात्ती भए नियन्त्रणमा लिने प्रयास गर्न सकिने भएपनि तीन वटा हात्ती रहेकाले नियन्त्रणमा लिन समस्या हुने बताए । उनले दुई–तीन वर्षमा यसरी आइरहने हात्ती आफै निकुञ्जतर्फ जाने बताए ।