संसद्को बदनाम गर्ने मिसिनरी संस्था 'युपिएफ'लाई तत्काल प्रतिबन्ध लगाउन गगनको माग
प्रकाशित २०७५ मंसिर २७ बिहिबार
627
Shares
काठमाडौं । नेपाली काँग्रेसका नेता गगन थापाले युनिभर्सल पिस फेडेरेसनलाई तत्काल प्रतिबन्ध लगाउन सरकारसँग माग गरेका छन् । बिहीबार आफ्नो आधिकारिक फेसबुक पेजमा एक सन्देश जारी गर्दै नेपालको बदनाम गराउने र धर्मान्तरको कामलाई तीब्रता दिने यो विवादित संस्थालाई तत्काल प्रतिबन्ध लगाउन माग गरेका हुन् ।
सामाजिक सञ्जालमा अहिले चर्चामा रहेको विवादित एसिया प्यासिफिक समिट सम्बन्धि भिडियोले आफ्नो ध्यानाकर्षण भएको समेत बताएका छन् । उक्त भिडियोको सुरुवातमै १३ वर्ष अगाडि नोबेम्बर २२ ,२००५ मा नेपालमा युनिभर्सल पिस फेडरेशन (युपिएफ) उद्घाटन भ्रमण भएको र उक्त दिनलाई नेपालको संसदले राष्ट्रिय शान्ति दिवस घोषणा गरेको भन्नु भ्रामक रहेको बताएका छन् ।
'युनिभर्सल पिस फेडरेशन उद्घाटन टुर कहिले, कसले गर्यो त्यो विषयमा हाम्रो कुनै चासो छैन तर सोही दिनलाई नेपालको संसदले राष्ट्रिय शान्ति दिवस घोषणा गरेको भनेर जुन भ्रम सिर्जना गर्न खोजिएको छ, त्यो आपत्तिजनक छ ।' नेता थापाले भने 'पहिलो कुरा, नेपालमा नोबेम्बर २२, २००५ अर्थात वि.सं २०६२ मंसिर ७ गते संसद नै थिएन । हुँदै नभएको संसदले घोषणा गर्ने कुरै रहेन । (स्मरण रहोस् त्यो दिन ऐतिहासिक १२ बुँदे समझदारी भएको दिन हो,त्यहि समझदारीको जगमा भएको जनआन्दोलनले संसदको पुनर्स्थापना गरेको थियो।) दोस्रो कुरा नेपालको संसदले पछि पनि कहिल्यै उक्त दिनलाई शान्ति दिवस भनेर घोषणा गरेको छैन । यो आफैमा झुटो, कपोलकल्पित र बदनियतपुर्ण छ । यसले नेपालको सम्मानित संसदको दुरुपयोग मात्र गरेको छैन, अन्तराष्ट्रिय समुदायमा समेत बदनाम गर्न खोजिएको छ, यो कृत्य निन्दनीय छ ।'
यस्तै उक्त भिडियो क्लिपमा नेपाल सरकार र युपिएफले संयुक्त रुपमा समिटको आयोजक गरेको मात्र भनिएको छैन युपिएफ – एसियाका अध्यक्ष एकनाथ ढकालले डिसेम्बर १ मा नेपाललमा भएको समिटमा आफैँलाई ‘जिससकी एकमात्र छोरी ‘ घोषणा गरेकी हक जा हन मुनलाई सवैले जिससकी छोरीको रुपमा स्वीकार गरेको र कसैले विरोध नगरेको तथा सवै नेपालीले वैधानिकता दिएको भनेका छन । नेपालमा र्इश्वरीय राज्य स्थापना गरिएको भनिएकोले यो नेपाल र नेपाली जनताको घोर अपमान भएको थापाले बताए ।
इसाई धर्मसँग आवद्ध कोरियन अन्तराष्ट्रिय संस्था यूनिभर्सल पिस फेडेरेसन (यूपिएफ) अन्तराष्ट्रिय रुपमानै विवादास्पद र बदनाम संस्था भएको संस्था हो । नितान्त धर्म परिवर्तनको उद्देश्य रहेको संस्था युपिएफले नेपालमा गर्ने क्रियाकलाप सदैव सन्देहपूर्ण हुने गरेको थापाले बताए । 'यसले नेपालको आफ्नो मौलिकता र संस्कृतिमा त हस्तक्षेप गरेकै छ, संविधानले बर्जित गरेको धर्मान्तर गर्ने काम समेत गरेको छ ।' थापाले भने 'यस किसिमको गैर कानूनी, गैर संवैधानिक काम गरिरहेको विवादित संस्था जसले अन्तराष्ट्रिय जगतमा नेपाल र नेपाली जनताको अपमान हुनेगरि नेपालको सम्मानित संसदको वदनाम गरेर भ्रम र अफवाह फैलाइरहेको छ । यस्तो कृत्य कुनै पनि नेपाली जनताको लागि सैह्य हुँदैन । त्यसैले युपिएफलाई अबिलम्ब नेपालमा प्रतिबन्ध लगाइनुपर्दछ । साथै धर्म परिवर्तन गर्ने, भ्रामक प्रचार गर्ने यस्ताखाले अन्य संस्थाको पनि पहिचान गरि आवश्यक कारबाही गर्नुपर्दछ ताकि युपिएफले अहिले गरेको जस्तो दुरुपयोग र दुस्साहस अरुले गर्न नपाउन ।'
उक्त भिडियोले नेपालका थुप्रै राजनीतिक र सरकारी अहोदाका ब्यक्तिको भुमिकामाथि अनेकन प्रश्नहरू उठाएको भन्दै थापाले भनेका छन् 'त्यस वारेमा तत् तत् व्यक्ति र निकायले प्रष्ट्याउनु आवश्यक रहेको यस किसिमको विवादित संस्थाको कार्यक्रममा आफ्नो राजनीतिक र सरकारी ओहोदाको दुरुपयोग गरेर सहयोग गर्ने र संलग्न हुनेहरुलाई सरकारले संरक्षण गरे पनि जनताले त्यस्ता मान्छेहरूको हिसाव किताव गरेर ऐन मौकामा दण्डित गर्ने नै छन ।'