प्रधानन्यायाधीशमा जबरालाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय
प्रकाशित २०७५ मंसिर २७ बिहिबार
569
Shares
काठमाडौं । नयाँ प्रधानन्यायाधीशका लागि न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नियुक्त गर्ने निर्णय भएको छ । बिहीबार बिहान बसेको संवैधानिक परिषदको बैठकले जबरालाई नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।
प्रधानन्यायाधीशका लागि न्याय परिषदले जबरा र पहिले अयोग्य घोषित भइसकेका न्यायाधीश दीपकराज जोशीको नाम सिफारिस गरेर पठाएकामा संवैधानिक परिषदले जबराको नाम अगाडि बढाएको हो ।
यसअघि प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले समय दिन नसक्दा संवैधानिक परिषदको बैठक बस्न नसक्दा नयाँ प्रधानन्यायाधीशका लागि नाम सिफारिस गर्न सकेको थिएन ।
न्याय परिषदले जोशीको नाम पठाउँदा ‘अयोग्य घोषित’ भनी विशेषण जोडेर पठाएकाले पनि जबराको नाममा सर्वसम्मत भएको हो । तर न्याय परिषदले पहिले आयोग्य घोषित भनी विशेषण किन झुण्ड्यायो भन्ने बहस हुन सक्छ ।
अब जबराको बारेमा संसदीय सुनुवाई समितिमा छलफल हुनेछ । संसदीय सुनुवाई समितिले नाम पारित गरे राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको नयाँ प्रधानन्यायाधीशको सपथ दिलाउने छिन् ।
प्रधानन्यायधीश ओमप्रकाश मिश्रको कार्यकाल आगामी पुस १७ सकिँदैछ । कानुनअनुसार प्रधानन्यायाधीशको पदावधि एक महिना बाँकी छँदा नै नयाँ प्रधानन्यायाधीश तोक्नु पर्नेमा त्यसो गर्न यसपटक पनि सरकार असफल भएको छ ।
मिश्रले बुधबार नै सर्वोच्च अदालतको वार्षिक प्रतिवेदन बुझाएका छन् । नेपालको संविधानको धारा १३८ मा सर्वोच्च अदालत, न्यायपरिषद् र न्याय सेवा आयोगले प्रत्येक वर्ष आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्ने र राष्ट्रपतिले त्यस्तो प्रतिवेदन प्रधानमन्त्रीमार्फत सङ्घीय संसद्समक्ष पेश गर्नुपर्ने व्यवस्था छ ।