arrow

‘कसले हाम्रा कमाउरेडहरूलाई यस्तो कुबुद्धि दिएको होला’ – बाबुराम भट्टराई

logo
प्रकाशित २०७५ मंसिर २७ बिहिबार
Baburam-bhattrai-stage.jpg.jpeg

काठमाडौं । सरकारले ५० अर्ब रुपैयाँभन्दा बढी लागत र नयाँ प्रविधिमा आधारित आयोजनालाई प्रतिस्पर्धै नगराई प्रधानमन्त्री नेतृत्वको समितिले सोझै दिन सक्ने कानून बनाउन लागेकोप्रति पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले कडा प्रहार गरेका छन् । 

डा भट्टराईले सामाजिक संजालमा ओली सरकारलाई यस्तो गलत काम गर्दा देश डुब्न बेर छैन भनेका छन् । उनले लेखेका छन् –‘यो त ‘बाँदरलाई लिस्नो’ जस्तो भयो ! त्यसै त क्रोनी क्यापिटालिज्मले थला परेको अर्थतन्त्रमा अब कानूनी रूपमै ठूला आयोजना प्रतिस्पर्धा बिना केही मान्छेले चाहेकालाई दिन पाएपछि देश डुब्न कति बेर लाग्ने भो र ! कसले हाम्रा कमाउरेडहरूलाई यस्तो कुबुद्धि दिएको होला ! यसको सबैले सशक्त प्रतिरोध गरौं !’

राष्ट्रिय प्राथमिकता प्राप्त केही पूर्वाधार संरचना आयोजनाको द्रुततर निर्माण तथा विकाससम्बन्धी विधेयकमा ठूला आयोजनाको निर्माण सम्झौता सोझै गरिने र यसको निर्णय प्रधानमन्त्रीको अध्यक्षतामा बन्ने आयोजना निर्देशक समितिले गर्ने उल्लेख गरिएपछि डा भट्टराईले सचेत हुन आग्रह गरेका हुन् । 

२५ देखि ५० अर्ब रुपैयाँसम्मको आयोजनामा प्रतिस्पर्धा गराइने भए पनि ‘प्रस्ताव आह्वान गर्दा पनि छनोट हुन नसकेको आयोजना, नयाँ प्रविधि र अवधारणामा आधारित तथा ५० अर्ब रुपैयाँभन्दा बढी लागत अनुमान भएको आयोजनाको निर्माणकर्तासँग सोझै वार्ता गरी छनोट गर्न पाउने कानून बन्न लागेको छ । 

सीधै भ्रष्टाचार गर्ने नियतले ल्याइएको यो योजनाले देश डुब्न बेर नलाग्ने र कमाउन खोज्ने कम्युनिष्ट नेताहरुलाई झन् बल पुग्ने डा भट्टराईको सन्देशबाट बुझ्न सकिन्छ । 

प्रधानमन्त्री ओली भ्रष्टाचारमा ‘शून्य सहनशीलता’ को नारा घन्काइरहे पनि यो योजना ल्याएर झनै ठूलो भ्रष्टाचार गर्न लागेको भन्दै आलोचना हुन थालेको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ