चिसो बढेसँगै दार्चुला अस्पतालमा बिरामी संख्या बढ्यो
प्रकाश चन्द्र भट्ट,
प्रकाशित २०७५ मंसिर २७ बिहिबार
350
Shares
दार्चुला । चिसो बढेसँगै जिल्ला अस्पताल दार्चुलामा विरामीको संख्यामा वृद्धि भएको छ । अहिले दिनहुँ ३० देखी ४० जना बिरामी आउने गरेका छन् । केही दिन देखी मौसममा आएको परिवर्तन सँगै अत्याधिक चिसो बढेको हो ।
यस अघि दैनिक १५ देखी २० को संख्यामा विरामी उपचारका लागी आउने गरेको जिल्ला अस्पताल दार्चुलाका एमडिजिपी डा दिपेश मंगल जोशीले बताए ।
जाडो बढेसँगै चिसो मौसममा खासगरि रुघाखोकी, भाइरल इन्फ्लुएन्जा, दम, श्वासप्रश्वास तथा निमोनियाको संक्रमण हुने गरेको डा जोशीले बताए । यस्तै चिसोको एलर्जी, घाँटीको संक्रमण, चिसोमा हुने झाडापखाला, छाला, चिलाउने, सुन्निने, जस्ता समस्या पनि देखिन्छन्, उनले भने ।
चिसोले विशेष गरी मुटु, जोर्नी, श्वासप्रश्वास र दमका पुराना विरामी, कुपोषित बालबालिकालाई बढी आक्रमण गर्छ । साथै चिसोका कारण मुटु र मस्तिष्कमा असर पुग्ने र हृदयाघात हुने, कोलेस्ट्रोल बढाउने, पक्षघात गराउने र बालबालिकामा दादुरा, ठेउला पनि देखिने डा जोशीले बताए ।
जाडोयाममा जाडो बढे सँगै बालबालिका, महिला र वृद्धवृद्धा प्रभावित भएका छन् । यस्तै बालबालिकामा पनि भर्खर जन्मेका शिशुमा समस्या बढी देखिने गरेका उनको भनाइ छ । उनका अनुसार चिसोको बेला आराम, व्यायाम र खानपानमा भने ध्यान दिनु आवश्यक छ ।
चिसोबाट बच्न सावधानी अपनाउनु पर्ने उनको सुझाव छ । जाडोयाममा न्यानो लुगा लगाउनु पर्ने, झोलिला पदार्थ, पोषिलो खानेकुरा, फलफुल,तातो पानी, मांसहारी भए माछा मासु आवश्यकता अनुसार खानु पर्ने उनको सुझाव छ ।