काठमाडौं । बिहीबार बसेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीसको लागि एकजना मात्रैको नाम सिफरिस गर्यो । गरोस् पनि कतिको । प्रधानन्यायधीस बन्नको लागि सर्वाेच्चमा २ जना न्यायाधीस मात्रै योग्य छन् । न्याय परिषद्ले ३ जनाको नाम सिफरिस गर्नुपर्नेमा योग्य व्यक्ति २ जनामात्रै थिए । त्यसमा पनि एकजना पहिले नै संसद्ले नरुचाएका व्यक्ति भएपछि अरुको विकल्प नै थिएन ।
अतः न्यायाधीस चोलेन्द्र शमशेर जबरालाई नै आगामी प्रधानन्यायाधीसको रुपमा प्रस्ताव गरियो । आफ्नो सरकारी जागिरको यात्रादेखि नै समय समयमा अरुको भन्दा भिन्न फैसला सुनाएर चर्चामा छाईरहने राणालाई कानून व्यवसायीहरु सम्भवतः सबैभन्दा बढी चर्चित फैसला गर्ने न्यायाधीसको रुपमा चिन्दछन् । अरु न्यायाधीस चर्चित मुद्दाका कारण चर्चामा आउँछन् । तर, राणा भने सामान्य मुद्दालाई पनि विशेष फैसला गरेर चर्चामा आउने कानून व्यवसायीहरु बताउँछन् ।
तत्कालीन समयमा लोक सेवा आयोगबाट सरकारी जागिरमा आउन नमिलेपछि उनलाई राजपरिषद् स्थायी समिति सदस्य युवराज शमशेर (आफ्नै बाबु)को तत्कालीन काठमाडौं नगरपालिकाको कर्मचारीमा जागिर लगाईदिएका थिए । उनको अदालतमा भएको प्रवेश भने सर्वाेच्च अदालतका अनुसार १९९६ को अप्रिल १७ देखिमात्रै हो ।
उनले सामान्य चर्चामा आउनेखालका फैसला त यो क्षेत्रमा आएदेखि नै गरेका थिए । तर, ११ साउन २०५८ को उनको फैसलाले भने उनलाई कहिलै नविर्सने गरी नेपाली समाजमा स्थापित गरिदियो । तत्कालीन पुनरावेदन अदालतका न्यायाधीस रहँदा उनी सहितको संयुक्त इजलासले गरेको म्यारिज खेल जुवा होईन भन्ने फैसलाले उनी म्यारिजको कुरा आउने वित्तिकै सबैको स्मरणमा आउने गरेका छन् । फैसला संयुक्त इजलासबाट भएको थियो ।
न्यायाधीशद्वय श्यामबहादुर प्रधान र राणाले त्यतिबेला फैसला गरेको भएपनि त्यसपछि समेत बेला बेलामा फैसलाबारे विवादमा आईरहने भएकोले प्रधानको त्यतिधेरै चर्चा नहुँदा पनि राणा भने सधैंभरी चर्चाको शिखरमा नै रहे । त्यो मात्रै नभएर २०७१ सालमा सर्वाेच्च प्रवेश गरेपछि पनि चोलेन्द्रका धेरै त्यस्ता फैसलाहरु भए । जसले चोलेन्द्रलाई चर्चामा ल्याई रह्यो । कुनैपनि विषयको मुद्दा राणाको बेन्चमा प¥यो भने केही न केही अनौठो फैसला भयो भनेपनि कसैले अन्यथा मान्दैनन् ।
२०५८ सालमा भएको सो म्यारिज सम्बन्धी फैसलामा तासको म्यारिज खेल जुवा ऐन २०२० को परिभाषाभित्र नपर्ने ठहर गर्दै उनीहरुले यसलाई जुवाको कोटीमा राख्न नमिल्ने फैसला गराएका थिए । त्यो चर्चा अहिले पनि म्यारिज फैसला नामले चर्चित छ । सो फैसलामा न्यायाधीसद्वय प्रधान र राणले प्रत्यर्थी तर्फबाट उपस्थित अधिवक्ताहरूले जिकिर अनुसार जुवा ऐन २०२० को दफा २ मा जुवा भन्नाले सम्पत्ति हार्ने वा जित्ने गरी कुनै संयोगको आधारमा बाजी थापी खेलेको खेल सम्झनुपर्ने भनी परिभाषा गरेको भन्दै यसरी खेलिने तासको म्यारिज खेल सरसर्ती हेर्दा संयोगको आधारमा खेलिने खेल देखिन नआएको हुँदा तासको म्यारिज खेल जुवा ऐन २०२० को उपरोक्त परिभाषाभित्र परेको भनी मान्न मिल्ने देखिएन भन्ने फैसला सुनाएका थिए ।
‘तासको म्यारिज खेल जुवा ऐनको परिभाषा अनुसार संयोगका आधारमा खेलिन्छ/खेलिँदैन भन्नेतर्फ हेर्दा तासको म्यारिज खेल के कसरी खेलिन्छ भन्ने सम्बन्धमा अभियोग दाबीमा केही उल्लेख भएको नपाइए तापनि सो खेल कसरी खेलिन्छ भन्ने इजलासको जिज्ञासा सम्बन्धमा वादीतर्फका विद्वान न्यायाधिवक्ताले तथा प्रतिवादीतर्फका विद्वान अधिवक्ताहरूले एकै मिलानको जवाफ दिनुभएको पाइयो ।’ फैसलामा भनिएको थियो ‘जस अनुसार दुई वा दुईभन्दा बढी अर्थात् बढीमा ६ जनासम्म व्यक्तिहरूद्वारा खेल्न सकिने, खेलका लागि तीन बुङ्ग तास चाहिने, प्रत्येक व्यक्तिलाई २१/२१ चक्की तास बाँडिने, बाँकी रहेको बुङ्गबाट एक चक्की पल्टाउने र तास बाँड्ने व्यक्तिदेखि देब्रेपट्टिको व्यक्तिले एक चक्की पल्टाउने जसलाई जोकरको रूपमा मानिने अर्थात् जस्तो एक्का पल्टिएमा बाँकी सबै एक्काहरू जोक्करको रूपमा जनिने र पानको एक्का पल्टिएमा त्यसको बास्सा, एक्का र दुवालाई म्यारिजका रूपमा मानिने, सो खेलमा तीन सिक्वेन्स अनिवार्य रूपले मिलेको हुनुपर्ने, सिक्वेन्स भन्नाले एकै रङका जस्तो दुवा, तिक्का र चौका भएमा एक स्विकेन्स हुन्छ । त्यसरी नै क्रमशः सबै अर्थात् २१ चक्की नै जसले बाँकी रहेको तासको बुङबाट वा बायाँतर्फकाले फालेको चक्कीबाट मिलाएर देखाउन सक्छ उसले म्यारिज खेल जित्ने हुन्छ भन्ने पाइयो ।’
तिनै विवादित फैसलामा ‘ह्याट्रिक गरेका राणालाई सरकारले आगामी प्रधानन्यायाधीसको रुपमा प्रस्ताव गरेको छ । उनको अब संसदीय सुनुवाई हुनेछ । यदि उनी संसदीय सुनुवाईबाट पास भए भने राष्ट्रपतिले उनलाई प्रधानन्यायाधीस नियुक्त गर्नेछिन् ।