arrow

हुवावेको बदला लिँदै चीन, समातिए अर्का क्यानेडियन नागरिक 

logo
एजेन्सी
प्रकाशित २०७५ मंसिर २७ बिहिबार
canada.png

काठमाडौं । हुवावेकी उपाध्यक्ष तथा वित्तीय प्रमुख मेङ वाङझोउ क्यानडामा समातिएको घटना सेलाउन नपाउँदै चीनमा क्यानेडियन नागरिकहरु पक्राउ पर्न थालेका छन् । 

विहीबार चीनमा क्यानेडियन व्यापारी माइकल स्पेभर पक्राउ परेको सार्वजनिक भएको हो । पछिल्लो समय चीन र क्यानडाको बीचमा  बढ्दो तनावको बीच यसअघि पूर्व कूटनीतिज्ञ माइकल कोभ्रिङ पक्राउ परेका थिए । चीनले पनि उनीहरुलाई पक्राउ गर्नुको कारण राष्ट्रिय सुरक्षा जोखिमलाई देखाएको छ । 

यसअघि हुवावेकी उपाध्यक्ष क्यनडामा समातिएकी थिइन् । उनीमाथि इरानमाथिको प्रतिबन्ध उलंघन गरेको आरोप लागेको छ । यद्यपि उनले भने यो आरोप अस्वीकार गर्दै आएकी छिन् । उनलाई सुपुर्दगी गरी अमेरिका पठाउन अमेरिकाले माग गरेको छ भने चीनले घर नफर्काए नकारात्मक नतिजाको भागीदार हुनुपर्ने चेतावनी क्यानडालाई दिँदै आएको छ ।
 
अमेरिकाले यो मामिलामा चीनले कुनै कदम उठाएको खण्डमा यसले आगामी दिनमा चीन–अमेरिका सम्बन्ध थप नराम्रो बन्नसक्ने चेतावनी दिएका छन् । 

चीनियाँ कदमको कारण

चिनियाँ विदेशमन्त्रालयले भने उनीहरु राष्ट्रिय सुरक्षाको जोखिम पुग्ने किसिमको गतिविधिहरु गरेको आशंकामा पक्राउ परेका हुन् । मन्त्रालयका प्रवक्ताले यस विषयमा कानुनी बाटोबाट उनीहरुलाई छाडिने पनि बताएका छन् । अहिले भने दुवै जनाको विषयमा अनुसन्धान जारी रहेको मन्त्रालयले बताएको छ । 

हुवावेको मामिलाको विषयमा प्रश्न गर्दा भने विदेशमन्त्रालयले चीनको आन्तरिक नियमअनुसार नै उनीहरु पक्राउ परेको बताएको छ । हुवावेकी उपाध्यक्ष क्यानडामा पक्राउ पर्नु भनेको अमेरिकाको गलत अभ्यास रहेको बताएको छ । यसले क्यानडाको यात्रा सुरक्षित छ भन्नेमा आशंका जन्माएको चीनले बताएको छ । चीनमा रहेका पश्चिमा कूटनीतिज्ञहरुले भने यसलाई राजनीतिक अपहरणको संज्ञा दिएका छन् । 

पक्राउ परेकाहरु को हुन् ? 

माइकल स्पेभोर बुधबार पक्राउ परेका थिए । उनी डाङडोङमा उत्तर कोरियाको सीमानानजिकै व्यवसाय चलाउँदै आएका छन् । उनको उत्तर कोरियन सरकारसँग पनि सम्बन्ध रहेको छ । क्यानडाको विदेशमन्त्रालयले भने उत्तर कोरियासँगको सम्बन्ध रहेको स्वीकार पनि गरेको छ । तर उनल चिनियाँ अधिकारीहरुसँग सोधेर सम्पर्क गरेको बताएको छ । उनी नियमितरुपमा उत्तर कोरिया जाने गरेका थिए र त्यहाँको विषयमा प्रतिक्रिया पनि दिने गरेका थिए । 

त्यसैगरी अर्का क्यानेडियन माइकल कोभ्रिङ १० डिसेम्बरमा सोमबार पक्राउ परेका थिए । उनी एक वौद्धिक समु आईसीजीमा आवद्ध रहेका छन् । यो संस्था चीनमा गैरसरकारी संस्थाको रुपमा  दर्ताश नभएकोले चीनमा रहेर काम गर्नु अवैध भएको चीनको तर्क छ । 

हुवावे प्रकरण के हो ? 

हुवावेकी उपाध्यक्ष तथा वित्तीय प्रमुख मेङ वाङझोउ डिसेम्बर १ मा क्यानडामा पक्राउ परेकी थिइन् । क्यानडामा उनको परिवार र सम्पत्तिको सम्बन्ध रहेको छ । मंगलबार उनले क्यानडामा आवश्यक धरौटी बुझाएकी छिन् तर अझै पनि उनलाई अमेरिका सुपुर्दगी गर्ने सम्भावना छ । सन् २०१६ देखि अमेरिकाले निरन्तरहरुपमा हुवावेमाथि अनुसन्धान गरिरहेको छ । 

उनले अर्को संस्थाको नामबाट हुवावेको कारोबार गरिरहेको आरोप लगाइएको छ । यद्यपि मेङका वकिलले भने यसअघि नै हुवावे र स्काइकोम छुट्टिएको र आरोप गलत रहेको बताएका छन् । यदि यो आरोप पुष्टि भएको खण्डमा मेङ अमेरिकामा ३० वर्ष जेल बस्नुपर्ने हुन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ