arrow

कांग्रेस शीर्ष नेताहरुको सामुहिक ऐक्यवद्धताः हात समाएर एकताको सन्देश

एकताको सन्देश लिएर जिल्ला फर्कन महासमिति सदस्यहरुलाई देउवाको आग्रह,  बोलाइमा एकता र व्यवहारमा अनेकता नगर्न पौडेलको नेतृत्वलाई सचेत

logo
प्रकाशित २०७५ मंसिर २९ शनिबार
congress-mahaasamiti.JPG

काठमाडौँ । महत्वका साथ हेरिएको नेपाली काङ्ग्रेसको महासमिति बैठक आजदेखि राजधानीमा शुरु भएको छ । बैठक उद्घाटन समारोहमा नेताहरुले अब पार्टी एक भएर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत नेताहरुले हात समाएर एकताको सन्देश प्रस्तुत गरे ।

दुई नेताबीच दूरी बढेको सार्वजनिक टिप्पणी भइरहेका बेला बैठक उद्घाटन समारोहमा उपसभापति विजयकुमार गच्छदारले हात समाएर एकताको सन्देश दिन आह्वान गरेका थिए । गच्छदारले भाषण गर्ने बेलामा दुवै नेतालाई एक हुन सार्वजनिकरुपमा अनुरोध गरेपछि उपस्थित कार्यकर्ताले गडगडाहट तालीले स्वागत गरेका थिए । 

कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले आफू सबै नेतालाई मिलाएर अघि बढ्न तयार रहेको बताए । महासमिति बैठकबाट एकताको सन्देश लिएर जिल्ला फर्कन उनले महासमिति सदस्यलाई आह्वान गरे ।

वरिष्ठ नेता पौडेलले भाषण र भावनामा भन्दा पनि आत्मादेखि नीतिगतरुपमै पार्टी एकजुट हुनुपर्नेमा जोड दिए । बोलाइमा एकता व्यवहारमा अनेकता नगर्न उनले नेतृत्वलाई सचेत गराए ।

उपसभापतिद्वय गच्छदार र विमलेन्द्र निधिले विसं २०५५ मा नेताद्वय कृष्णप्रसाद भट्टराई एवं गिरिजाप्रसाद कोइरालाले एकताबद्ध भई जनतामाँझ जाँदा विसं २०५६ को निर्वाचनमा पार्टीको पक्षमा जनमत आएकोतर्फ नेतृत्वको ध्यानाकर्षण गराए ।

महामन्त्री डा शशांक कोइरालाले पनि दुवै नेतालाई पार्टी एकताबद्ध बनाउन सम्पूर्ण तागत लगाउन माग गरेका थिए । एकतामा पार्टीको हितभन्दा व्यक्तिको स्वार्थ महत्वपूर्ण हुनु नहुने उनको भनाइ थियो । 

अर्का महामन्त्री पूर्णबहादुर खड्काले रातिसम्म विधानको मस्यौदामा केन्द्रीय समिति बैठकमा सहमति गरी आइतबारको बैठकमा पेश गर्ने प्रतिबद्धता जनाए । कोषाध्यक्ष सीतादेवी यादवले पार्टी पदाधिकारीमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित हुने व्यवस्था विधानमा गर्न माग गरिन् । 

सहमहामन्त्री डा प्रकाशशरण महतले अर्को निर्वाचनको कार्ययोजनासहित पार्टी अघि बढ्ने बताए । पूर्वकोषाध्यक्ष चित्रलेखा यादवले पार्टीमा महिलाको प्रतिनिधित्व बढाउनुपर्नेमा जोड दिइन् । 

कार्यक्रममा नेता गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, कुलबहादुर गुरुङ, तारानाथ रानाभाट, डा रामशरण महत, अर्जुननरसिंह केसी, प्रवक्ता विश्वप्रकाश शर्मा, काठमाडौँ सभापति कृष्ण सबुज बानियाँलगायतले पार्टीलाई एकताबद्ध बनाउन सबै नेताको ध्यान जानुपर्नेमा जोड दिए ।

बैठकमा नेपालको सनातन धर्ममाथि भइरहेको आक्रमणप्रति नेताहरुले आपत्ति जनाएका थिए । केही नेताले भने महासमिति बैठकस्थलमै हिन्दूराष्ट्रका लागि हस्ताक्षर अभियान चलाएका छन् । 

बैठकको बन्दसत्र आइतबारदेखि शुरु हुनेछ । बन्दसत्रमा विधान मस्यौदालगायत चार वटा प्रस्ताव पेश हुने जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ