arrow

सांसद बनाउन रोक्ने ओलीविरुद्ध वामदेवको मोर्चाबन्दी

देख्दा सामान्य तर प्रकृति गम्भीर 

logo
प्रकाशित २०७५ पुष १ आइतबार
ncp-meeting-sthai-committee.jpg

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति बैठकले एकाएक नयाँ मोड लिएको छ । दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले मिलेर संयुक्त रुपमा पेश गरेको राजनीतिक प्रतिवेदनलाई ‘काउन्टर’ दिँदै वामदेव गौतमले छुट्टै प्रतिवेदन पेश गरेपछि स्थायी समितिमा चर्काचर्की हुने देखिएको हो । 

शनिबार बसेको स्थायी समिति बैठकमा गौतमले सरकार र पार्टी नेतृत्वको हालसम्मको कामको आलोचना गर्दै पेस गरेको १६ पृष्ठको छुट्टै प्रतिवेदनले प्रधानमन्त्रीसमेत रहेका ओलीप्रति कडा प्रहार गरेको छ । 

उनको प्रतिवेदनमा ओलीले पार्टी कामको पनि जिम्मेवारी लिँदा न पार्टीको र न सरकारको भूमिका सफलतापूर्वक निर्वाह गर्न नसकेको उल्लेख गरिएको छ । 

ओलीको सरकारमा प्रभावकारी भूमिकाका लागि अर्का अध्यक्ष प्रचण्डलाई पार्टी सञ्चालनको जिम्मा दिएर  ‘एक व्यक्ति एक जिम्मेवारी’ को अवधारणा लागू गर्नुपर्ने गौतमको धारणा छ । 

अर्थात् गौतमले पार्टी कामको एकल नेतृत्व प्रचण्डलाई दिन माग गरेका हुन् । 

देख्दा सामान्य तर प्रकृति गम्भीर 
नेकपाका एक स्थायी समिति सदस्यका अनुसार गौतमको प्रतिवेदन देख्दा सामान्य लागे पनि प्रकृति गम्भीर खालको रहेको विष्लेषण गरेका छन् । उनले भने, ‘झट्ट हेर्दा सही जस्तो पनि लाग्छ र अहिले अझै बेला भएको छैन जस्तो पनि लाग्छ, तर प्रकृति भने गम्भीर खालको छ ।’

उनको भनाइलाई आधार मान्ने हो भने गौतमले ओलीप्रति ठाडो निशाना साँधेका छन् । ओलीको हालीमुहालीले एकता प्रक्रिया नै पूर्ण रुपले हुन नसक्दा पार्टीबारेमा आलोचना बढेको छ । 

पार्टी एकताका लागि विशेष भूमिका खेलेका गौतमलाई ओलीले माइनस गर्ने नीति अख्तियारी नै गरेको देखिन्छ । प्रतिनिधिसभाको निर्वाचनमा गौतमलाई हराउन ओलीले नै भूमिका खेलेका थिए । 

थुप्रै हार्ने ठाउँमा तत्कालीन माओवादीसंग चुनावी एकता गरेर जितेको तत्कालीन एमालेले बलियो गौतमको क्षेत्रमा हार्नुपर्ने कारण आन्तरिक ‘कू’ बाहेक हुनै सक्दैन । 

गौतमलाई सांसद बनाउन पछिल्लो समय भएका धेरै प्रयासमा ओली नै तगारो बने । ओलीलाई डर छ यदि गौतम सांसद भए भने आफ्नो कुर्सी खतरामा पर्न सक्छ । 

प्रचण्डले सघाउँदा समेत गौतमको केही सीप लागेन । अब गौतमको रणनीति पार्टीभित्र कब्जा जमाउनु नै हुनेछ । तसर्थ ओलीलाई काउन्टर दिन नै १६ पृष्ठको प्रतिवेदन ल्याइएको बुझिन्छ । 

सरकारको कामले जनतामा निराशा आएको यथार्थलाई प्राथमिकता दिँदै गौतमले ओलीलाई आफ्नो बाटो देखाउन चाहिरहेका छन् । नेकपाभित्रै पनि सरकारको गतिविधिको चर्को असन्तुष्टि छ । 

पार्टी नेतृत्वमा रहेकाहरुले कार्यकर्ता र जनतामा देखा परेका निराशालाई चिर्दै आशा र उत्साह सिर्जना गर्ने तर्फ कुनै कदम नचालेको गौतमको आरोप छ।

सरकारले जथाभावी गरेको र पार्टीमा छलफल नै नचलाई विवादित एसिया प्यासिफिक सम्मेलनमा आयोजक बन्नु गलत भएको उदाहरण दिँदै गौतमले पार्टी स्तरमा छलफल नगरी गरिने यस्ता गल्तीले ठूलो क्षति पुग्ने भन्दै ओलीको सेखी झारेका छन् । 

सरकारको बेथितिको चर्को आलोचना गर्ने क्रममा गौतमले प्रधानमन्त्री मातहत ठूला आयोजना लैजाने, राजस्व, राष्ट्रिय अनुसन्धान विभाग जस्ता निकायहरु लैजाने निर्णयको पनि विरोध गरेका छन् । 

स्थायी समितिको प्रतिवेदनबारे सोमबारदेखि छलफल हुनेछ । गौतमले भने ओलीको अधिनायकवादी शैलीको अन्त्य चाहेका छन् । आफूलाई अगाडि बढ्न रोक्नेलाई किन नै पो समर्थन गर्नु ? 

फेरि धेरै विवादित निर्णय गरेको सरकारलाई किन नै समर्थन गर्नु भन्दै अहिले धेरैजसो नेकपा नेताहरुले गौतमको साथ दिने समेत विश्वास लिएका छन् । गौतमको मोर्चाबन्दीमा अन्य शीर्ष नेताहरुको समेत साथ रहेको उच्च स्रोत बताउँछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ