अनसनमा रहेका पूर्वलडाकु मंगलसेनको अवस्था गम्भीर, सरकारी बेवास्ता
प्रकाशित २०७५ पुष १ आइतबार
312
Shares
काठमाडौं । आफूहरुसँग भएको सम्झौता कार्यान्वयनको माग गर्दै गत विहीबारदेखि अनिश्चितकालीन आमरण अनसनमा बसिरहेका पूर्व लडाकुहरुको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ । ६ जना अनसनकारीहरु मध्ये मकवानपुरका मंगलसेन प्रजाको स्वास्थ्य स्थिती अत्यन्तै गम्भीर बनेको हो । विहान हाम्राकुरा प्रतिनिधि माईतीघर मण्डलामा पुग्दा उनी राम्रोसँग बोल्न समेत सकेका थिएनन् । उनीहरुको स्थिती विग्रन थालेपछि बल प्रयोग गरेर उनीहरुलाई नियन्त्रणमा लिने तयारी भईरहेको सूचना आफूहरुलाई आएको उनीहरुको आरोप छ ।
गत विहीबारदेखि सुरु भएको अनसनको सुरुवात गर्ने अपांगता भएका पूर्व लडाकु संगठनका संयोजक युवराज विकलाई झुठा मुद्दा लगाएर पक्राउ गरिएको आरोप आन्दोलनकारीको छ । विकलाई केही दिन अघि गृहमन्त्रालयमा विष सेवन गर्ने पूर्व लडाकु पूर्णप्रसाद भट्टराईलाई आर्थिक प्रलोभनमा पारी उनकै जाहेरीमा पक्राउ गरिएको आरोप उनीहरुले लगाएका छन् । भट्टराईलाई विष सेवन गर्न उक्साएको आरोप उनलाई लगाईएको छ ।
सरकारसँग यसअघि भएका सम्झौताहरु कार्यान्वयनको माग गर्दै उनीहरु अनिश्चितकालीन अनशनमा बसेका हुन् । उनीहरुको चीसोका कारण अहिले स्थिती गम्भीर बन्दै गएको छ । यसअघि जनयुद्धका घाईते तथा अपाङ्ग भएका व्यक्तिहरुको संगठनले संघर्ष समिति गठन गरी नेपाल सरकारसँग पटक–पटक वार्ता सम्झौताहरु गरेको थियो ।
यस अघि संगठनका संयोजक युवराज वि।क।ले अनसनको नेतृत्व गरेका थिए । उनलाई गृहमन्त्री थापाले पक्राउ गर्न लगाएपछि अहिले उनी महानगरीय प्रहरी वृत्त जावलाखेलको हिरासतमा छन् । अनसनकारीले गृहमन्त्री थापाको निर्देशनमा उनी पक्राउ परेको आरोप लगाएका छन् । अहिले आमरण अनशन नरविर कामीको नेतृत्वमा बसिरहेको छ । आफ्नो धरातल विर्सिएर आफैंलाई सत्तामा पुर्याउनेहरुलाई नै विर्सिएर गृहमन्त्री थापाले सत्ताको आडमा तिनै जनआन्दोलनका घाईतेहरुमाथि ज्यादती गर्नेगरेका छन् ।