arrow

ऐतिहासिक जीतगढी किल्लामा चित्रकार

logo
प्रकाशित २०७५ पुष १ आइतबार
Jitgadhi-Butwal-1.jpg

खस्यौली । रुपन्देहीको बुटवलकी चित्रकार सुमित्रा रानाले ऐतिहासिक जीतगढी किल्लाको चित्र कोर्न पाउँदा खुशी देखिएकी छन् । “यसले हामीलाई जीतगढीको ऐतिहासिक पक्ष जानकारी हुनुको साथै वास्तविक दृश्यबाट समेत नयाँ शिक्षा मिल्छ”, चित्र कोर्दै उनले भनिन् ।

इन्टरनेशनल वाटरकल सोसाइटी प्रदेश नं– ५ की संयोजक समेत रहेकी रानाले स्थलगत चित्रकला कार्यशालाको आयोजना गरेर चित्रको अन्तर्राष्ट्रियकरण हुने बताइन् । उक्त चित्र तयार गर्न दुईदेखि तीन घण्टा लाग्ने बताइएको छ ।

उनले फ्लेक्स प्रिन्टले चित्रकार विस्थापित भएको बेलामा चित्रका माध्यमबाट चित्रकार स्थापित हुनुका साथै नयाँ सन्देश जान्छ भनिन् । सन् १८१४ र १८१५ मा कर्णेल उजीरसिंहले अङ्ग्रेजहरूलाई हराएको ऐतिहासिक स्थानको रूपमा जीतगढीलाई लिने गरिन्छ ।

दुई पटकसम्म लडाइँ जीतेको स्थानका रूपमा रहेको जीतगढी किल्ला– १ किलोमिटरको दायरामा रहेको र मणिमुकुन्द सेन उद्यान पार्कमा रहेको दरबारबाट सुरुङमार्ग समेत रहेको बुटवल उप महानगरपालिका– १ का वडाध्यक्ष महेन्द्र लिगलले जानकारी दिए ।

हडसनद्वारा लिखित पुस्तकमा समेत जीतगढीको विस्तृत विषय उल्लेख भएको बताइएको छ । सो पुस्तक बेलायतको सङ्ग्रहालयमा रहेकाले त्यसलाई ल्याउने तयारी भएको समेत वडाध्यक्ष लिगलले बताए । उनले जीतगढी किल्लाको ऐतिहासिक महत्वलाई दर्शाएर गतवर्ष वैशाख ७ गते जीतगढी किल्लाको विजय उत्सव मनाउन थालिएको समेत जानकारी दिए । “हामी विश्वभर यसको प्रचारप्रसार गरेर पर्यटकीय आकर्षणको रूपमा विकास गर्न चाहन्छौँ”, उनले भने ।

यसको संरक्षण र सम्बद्र्धनका लागि प्रदेश सरकारले रु दुई करोड र सङ्घीय सरकारले रु ५० लाख विनियोजन गरेको जनकारी दिँदै वडाध्यक्ष लिगलले अङ्ग्रेजलाई हराएको नेपालीको वीरगाथाको रूपमा यसको प्रचारप्रसार गरिने बताए ।

चित्रकार रानाले आफूले बनाएका चित्रका विषयमा स्थलगत छलफल हुने र वास्तविक कला हेर्ने मौकासमेत मिल्ने जानकारी दिँदै चित्रकलाको माध्यमले प्रदेश नं ५ को ऐतिहासिक ठाउँ, संस्कार र संस्कृतिको प्रचारप्रसार हुने बताए ।

“प्रदेश नं ५ को ऐतिहासिक स्थान भएकाले हामीले यस ठाउँलाई रोजेका हौँ”, उनले भनिन् । चित्रकार रानाले यहाँको कला संस्कृतिलाई संरक्षण र सम्बद्र्धन गर्न चित्रकला प्रभावकारी हुने उल्लेख गर्दै रुपन्देहीका अन्य विभिन्न ठाउँका चित्र समेत कोरिएको जानकारी दिइन् ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको कुञ्जलापुर, अमुवा र तिनाउ नदीको विषय पनि चित्रमा समावेश भएको छ । अमुवामा पुरानो थारु घर चित्रमा उतारिएको छ । कुञ्जलापुरमा पनि थारु घर अगाडि इनार भएको र त्यहाँ बिस्कुन सुकाएको विषय चित्रमा उल्लेख छ । यस बाहेक रुपन्देहीको कञ्चन गाउँपालिकाको गजेडी तालको पनि चित्र कोरिएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ