एक जना कार्यालय प्रमुखकै भरमा गहुँ सुपर जोन कार्यालय संचालन
कर्मचारी अभाव, ११ जनाको दरबन्दीमा ४ जना मात्रै कर्मचारी
सुनिल आउजी,
प्रकाशित २०७५ पुष २ सोमबार
624
Shares
धनगढी । कैलालीको उदाशिपुरमा रहेको गहुँ सुपर जोनको कार्यालयमा एक जना कार्यालय प्रमुख र ४ जना कर्मचारीले कार्यालय संचालन गरिरेहका छन् । किसानलाई गहुँ बालीमा आकर्षित गर्न कैलालीको लौसामा स्थापना गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई (गहुँ सुपर जोन) कार्यालय एक जना प्रमुखकै भरमा चलिरहेको छ ।
११ जनाको दरबन्दी रहेको कार्यालय अहिले एक जना कार्यालय प्रमुख, एक जना सामाजिक परिचालक र दुई जना कार्यालय सहयोगीकै भरमा मात्र चलिरहेको छ । कर्मचारी नहुँदा कामकाजमा कठिनाइ हुँदै आएको कार्यालय प्रमुख गोविन्दराज जोशीले बताए । उनले भने, ‘प्राविधिक त अन्य कार्यालयबाट सहयोगका रुपमा ल्याए पनि कार्यालयको दैनिक कामकाज गर्ने लेखापाल, सुब्बा र खरिदार नहुँदा समस्या भइरहेको छ ।’
गहुँ सुपर जोन कार्यालयमा लेखा अधिकृत एक जना, कृषि अधिकृत एक जना, एक जना विषय विशेषज्ञ, एक जना नायव सुब्बा, एक जना प्राविधिक सहायक, एकजना ओभरसियर, एक जना नायव प्राविधिक सहायक गरेर सात जना कर्मचारीको अभाव छ । दरबन्दी भए पनि केन्द्रबाट कर्मचारी नपठाउँदा कार्यालय प्रमुखकै भरमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गतको गहुँ सुपर जोन कार्यालय चलिरहेको छ ।
कार्यालयको आर्थिक कारोबार गर्ने लेखापाल मंसिर ५ गते उमेर हदबन्दीका कारण सेवा निवृत्त भएपछि झनै समस्या थपिएको जोशीले बताए । जोशीले भने, ‘अहिले कर्मचारीका नाममा एक जना सामाजिक परिचालक, एक जना हलुका सवारी चालक र कार्यालय सहयोगी नन्कुकुमार चौधरी र सुक्मी कठरिया मात्रै छौँ ।’ गहुँ सुपर जोनका लागि अहिले कार्यालयले ओजेटी गर्ने विद्यार्थीका साथै नार्कबाट प्राविधिकको सहयोग लिएर कार्यक्षेत्रमा काम गरिरहेको छ । ‘आफ्नै प्राविधिक भए झनै सहज हुने थियो,’ प्रमुख जोशीले भने–‘तर पनि अरुबाट सहयोग माग्दै काम चलाइरहेका छौँ ।’
हरेक वर्ष गहुँ लगाउँदै आए पनि यसवर्ष भने सुपर जोनबाट आधुनिक तरिकाले गहुँ लगाउने र उन्नत जातको बीउ रोप्ने सोचेका गौरीगंगा–७, मट्कौनाका किसान रणबहादुर बमले गहुँ सुपर जोनले बेवास्ता गरेपछि तोरी छरे ।
कार्यालयमा गहुँका बारेमा सोधपुछ गर्न जाँदा कर्मचारी नै नभेटिने गरेको बताउँदै उनले भने, ‘गहुँ सुपर जोन ‘एरिया’का किसानले सुपर जोनले वास्ता नगर्नु र छलफलै नचलाउँदा धेरै किसानले तोरी छरेका छौँ ।’ गहुँ सुपर जोनले किसानलाई गहुँको पकेट क्षेत्र बनाउनका लागि कार्यक्रम ल्याए पनि गहुँ लगाउन किसानलाई कसरी आकर्षित गर्ने भन्ने भेउ समेत कार्यालयले पाउन सकेको छैन ।
कार्यालयमा कर्मचारी नहुँदा यसपालिको सिजनमा गहुँ बीउ लगायत प्राविधिक सहयोग पाउन नसकेको स्थानीय किसान रमेश भाटले बताए । उनले भने–‘अब यस्तोमा हामी किसानले सुपर जोनबाट पाउने सेवा सुविधा कहिले र कसरी पाउने ?’ कैलारी गाउँपालिका, गौरीगंगा नगरपालिकाका केही वडा र घोडाघोडी नगरपालिकाका केही क्षेत्र समेटेर कार्यक्षेत्र बनाएको गहुँ सुपर जोनले बीज वृद्धि कार्यक्रम अन्तर्गत चालू आर्थिक वर्षमा ६५ बिघामा गहुँ खेती गरिएको छ ।