उपचारको रकम तिर्न नसक्दा कञ्चनपुरका एक युवक लखनउको अस्पतालमा बन्दी
जुद्ध चौधरी,
प्रकाशित २०७५ पुष ४ बुधबार
421
Shares
लालझाडी । उपचारको रकम तिर्न नसक्दा कञ्चनपुर स्थित लालझाडी गाउँपालिकाका एक युवक आठ महिनादेखि भारतको लखनउ स्थित एक अस्पतालमा बन्दी बन्न बाध्य भएका छन् । स्थानीय दलाल मार्फत जनकपुरको धनुषामा विद्युतको काममा लगाइएका कञ्चनपुरको लालझाडी गाउपालिका ४ जाँईका २३ वर्षिय अशोक चौधरी करेन्ट लागेर हात गम्भीर घाइते बनेका थिए ।
घाइते चौधरीको ८ महिना अघि देखि लखनउको सामरा अस्पतालमा उपचार पश्चात् सञ्चो भए पनि उपचार रकम तिर्न नसक्ने भए पछि अस्पतालले बन्दी बनाएर राखेको उनकि पत्नी अनिता चौधरीले बताइन् । पिडित चौधरीकै गाउका दलाल मान बहादुर चौधरीले राम्रो तलब सुबिधाको प्रलोभनमा पारी धनुषाको जनकपुर लगेर बिजुलीको काममा लगाएको पिडितका आफन्तले बताएका छन। तर त्यहाँ महिना दिन नपुग्दै २०७४ साल फागुन १९ गते बिजुलीको पोलमा काम गर्ने क्रममा करेन्ट लागि अशोकको पुरै शरीर जलेको पिडितकी आमा सेत्या देवी चौधरीले बताईन।
घटनापछि कामको लागि लैजाने दलाल र कम्पनिले कुनै पनि क्षतीपुर्ती तथा राहत नदिएको पिडितका आफन्तले गुनासो गरेका छन। कम्पनिले वेवास्ता गरेपछि आफुहरूले भारतको लखनउ स्थित सामरा अस्पतालमा उपचारका लागि भर्ना गरेको र उपचार गर्दा २० लाख रूपैयाको बिल आएको आफन्तले बताए ।
आफुसँग रहेको चल अचल सम्पत्ति बेचेर पनि अस्पतालको पैसा तिर्न नसक्ने अशोककी श्रीमती अनिता चौधरी बताउछिन। कमाउने छोरो र घरको सहारा नै उनी मात्र भएकोले सरोकार वालालाई सकुशल उद्धारका लागि बिन्ति गरेकि छिन। सहयोगका लागि राष्ट्रीय बाणिज्य बैँकको खाता नम्बर ४३९०००७१४११० मा सहयोग रकम जम्मा गरिदिन पिडितका आफन्तले अनुरोध गरेका छन।
अशोकको घटना दयनिय रहेको र परिवारको आर्थिक स्थिति एकदम कमजोर रहेकाले गाउपालिकाबाट दिने सहयोग आफुले दिने र सम्बन्धित सम्पुर्ण सरोकारवालाई समेत सहयोग गर्न लालझाडी गाउँपालिकाका प्रमुख मदनसेन बडायकले अनुरोध गरेका छन। कानुनी प्रक्रिया मिलाई रोजगारदाता कम्पनिलाई समेत कार्बाहिको दायरामा ल्याई क्षतिपुर्ति दिलाउन सम्बन्धित निकायले कदम चाल्नु पर्ने गाउँपालिका प्रमुख बडायकले बताए ।
घरपरिवारको भरोसा एक्लो छोरो अस्पतालको सैयामा छटपटिदा परिवार नै स्तब्ध बनेको छ। घटनामा परेर अशोकको दुईवटै हात, खुट्टा,टाउको तथा छाती जलेर घम्भीर घाईते भएका थिए। पैसा कमाएर परिवारमा खुशी ल्याउन घर परिवार छोडेर हिँडेका अशोक महिना दिन नबित्दै ठुलो दुर्घटनामा परे। उपचार पछि अहिले बिस्तारै ठिक हुँदै गएकाले मनमा खुसी छाए पनि बिल खर्च तिर्न ठुलो रकम जुटाउनु पर्ने भएपछि निन्द्रा लाग्न छाडेको पिडितका आमा सेत्या देवी चौधरीले दुख ब्यक्त गरिन् । आफुसँग त्यति धेरै रकम तिर्न सक्ने क्षमता नरहेकाले सबै सहयोगदाता, आफन्त, शुभ चिन्तक एवम स्थानिय सरकारलाई अनुरोध गरेकी छन्।