arrow

पाका चालकप्रति यात्रीको भरोसा

logo
नारायण ढुङ्गाना,
प्रकाशित २०७५ पुष ४ बुधबार
driver.jpg

काठमाडौँ । अनुभवले खारिएका पाका चालकले हाँकेको सवारी साधनप्रति यात्रीको भरोसा छ । यात्रीहरु यस्ता गाडीमा यात्रा गर्न उत्साहित हुने गरेका छन् ।

युवा चालकले चलाएको गाडीभन्दा पाका उमेरका चालकले चलाएको गाडी बढी सुरक्षित र भरपर्दाे महसुस हुने भएकाले त्यस्ता गाडीमा यात्रा गर्न उत्साहित भएका हुन् । महानगरीय ट्रफिक प्रहरी महाशाखाले गरेको एक अध्ययनलेसमेत युवाभन्दा पाका चालकका सवारी बढी सुरक्षित रहेको देखाएको छ । महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले बढी दुर्घटनाको जोखिम युवा उमेरका चालकमा रहेको बताउनुभयो ।

ट्राफिक प्रहरीले विगत आठ वर्षको सवारी दुर्घटनाको विषयमा अध्ययन गरेको थियो । दुर्घटनामा संलग्न चालकको उमेर समूह अध्ययन गर्दा सबैभन्दा बढी २१–४० वर्ष उमेर समूहका चालकबाट ४९ दशमलव ६७ प्रतिशत दुर्घटना भएको पाइएको छ । यस्तै २० वर्षमुनिका चालकबाट ३१ दशमलव ७९ प्रतिशत सवारी दुर्घटना भएको पाइएको छ । एकचालिस वर्ष उमेरमाथिका चालकले १८ दशमलव ६२ प्रतिशत मात्रै दुर्घटना गराएको पन्तले जानकारी दिनुभयो ।

“अब पाका चालकलाई प्रोत्साहन गर्न जरुरी छ, उनीहरु भए भने कम दुर्घटना हुन्छ भन्ने तथ्याङ्कले देखाउँछ”, पन्तले भन्नुभयो । गएको वर्ष कूल ११ हजार ५०७ दुर्घटना भएको थियो । त्यसमा २१–४० वर्ष समूहका चालकले आठ हजार २२४ दुर्घटना गराएका थिए । एकचालीस वर्ष माथिका चालकले दुई हजार १९० दुर्घटना गराएको प्रहरीले जनाएको छ । उपत्यकामा युवाचालककै कारण वर्षेनी दुर्घटनामा मानिसको ज्यान जानेक्रम बढ्दो रहेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । आव २०७२÷७३ मा उपत्यकामा भएको दुर्घटनामा १६६ को मृत्यु भएको थियो । आव २०७३÷७४ मा १८२ र आव २०७४÷७५ मा १९४ जनाको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता जयराज सापकोटाले बतउनुभयो ।

दुर्घटना न्यूनीकरणका लागि प्रविधियुक्त ट्राफिक व्यवस्थापन र पोख्त चालक जरुरी रहेको प्रहरीको निष्कर्ष छ । ट्राफिक नियमबारे जानकारी नराखी सवारी चलाउनु पनि दुर्घटनाको अर्काे कारण हो ।

दुर्घटना कम गर्न सडकको पूर्वाधार निर्माण र स्तरोन्नति, सडक पेटी व्यवस्थापन, ठाउँठाउँमा आकाशे पुलसहित उपयुक्त स्थानमा जेब्राक्रसिङको आवश्यकता छ । निजी सवारीको चापले पनि समस्या बढिरहेको प्रहरी प्रधान कार्यालयका प्रवक्ता उत्तमराज सुवेदी बताउनुहुन्छ । नेपालमा ट्राफिक व्यवस्थापनमा आधुनिक प्रविधिको कमी छ । सडक बत्तीको राम्रो व्यवस्था हुन सकेको छैन । सिसी क्यामरा र जिपिएस प्रणालीको व्यवस्था गर्न सकिएको छैन । काठमाडौँ भित्रिने नाकामा अझै गाडीको मानिसले अभिलेख राख्नुपर्ने अवस्था कायमै रहेको प्रहरीले जनाएको छ ।

स्कूलदेखि नै ट्राफिक शिक्षा र ट्राफिक ‘चिल्ड्रेन पार्क’ जरुरी रहेको औँल्याउनुहुन्छ ट्राफिक प्रहरी महाशाखा काठमाडाँैका प्रमुख पन्त । उपत्यकामा दैनिक झण्डै १२ लाख सवारी साधन गुड्छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार आर्थिक वर्ष २०७४÷०७५ मा मुलुकभर ३२ लाख सवारी साधन दर्ता भएका छन् । मुलुकभर दर्ता भएकामध्ये ३६ दशमलव ४० प्रतिशत सवारी साधन वाग्मतीमा गुड्छन् ।

महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक पन्तले वाग्मती अञ्चलमा दर्ता भएका गाडीमध्ये ९० प्रतिशत उपत्यकामा गुड्ने भएकाले पनि ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण भएको बताउनुभयो । निजी, साना, पुराना र तीन पाङ्ग्रे सवारीलाई निरुत्साहित गर्नेतर्फ ध्यान दिनुपर्ने प्रहरीले बुझाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ