arrow

महासमिति बैठकलाई रामचन्द्र पौडेलको सन्देश [पूर्णपाठसहित]

logo
प्रकाशित २०७५ पुष ५ बिहिबार
ramchandra-poudel1.jpg

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी इतिहासकै कठिन मोडमा पुगेको भन्दै उज्याले भविष्यका लािग समयबद्ध काम गर्न अपिल गरेका छन् । कांग्रेसको महासमिति बैठकलाई सम्वोधन गर्दै पौडेलले कांग्रेस आज पनि जनताको अपार आशा, अपेक्षा र भरोसाको केन्द्रविन्दुमा रहेको उल्लेख गर्दै कांग्रेसले भावी मार्ग तय गर्न अब ढिला गर्नु नहुने बताए । 

उनले जिम्मेवारी बहन गर्न सशक्त र जनमुखी कांग्रेसको पुनरोदय जरुरी रहेकोमा जोड दिँदै महासमितिको बैठकपछि ढिला नगरी पार्टी संगठनलाई सृदृढ र गतिशील बनाउने अभियान सञ्चालन गर्नुपर्ने बताए । 

नेता पौडेलले आगामी पुस १६ गतेदेखि २०७८ बैशाखपछिका कार्यक्रमसम्म सार्वजनिक गरेका छन् । 

यस्तो छ वरिष्ठ नेता पौडेलले दिएको मन्तव्यको पूर्णपाठ –

मिति २०७५–०९–०४

 श्री सभापति ज्यू, 
 नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति ।
            
उज्यालो भविष्यका लागी समयबद्ध काम गरौं ।

नेपाली काँग्रेस यतिखेर ईतिहासकै कठिन मोडमा छ । सँगसँगै आज पनि जनताको अपार आशा, अपेक्षा र भरोसाको केन्द्रविन्दुमा छ । गौरवशाली विगतले प्रदान गरेको जिम्मेवारी, उर्लिदो जनसमर्थनको प्रेरणा र लाखौं कार्यकर्ता एवं शुभेच्छुकको उर्जाको जगमा नेपाली काँग्रेसले आफ्नो भावि मार्ग तय गर्न अब ढिला गर्नुहँुदैन । राष्ट्रियता, लोकतन्त्र, समाजवाद र जनताका आधारभूत सरोकार र दैनिकी माथि मडारिएका सबैखाले चुनौति र अतिवादको सामना गर्न, संविधानको ईमान्दार कार्यान्वयन गर्न र सबै जाति, वर्ग, लिङ्ग र क्षेत्रका जनताको आर्थिक–सामाजिक समृद्धी सुनिश्चित गर्न सशक्त र जनमुखी काँग्रेसको पुनरोदय जरुरी छ । समृद्ध र स्वाभिमानी नेपाल निर्माणका लागि नेपाली काँग्रेसको लोकतान्त्रिकरण र नेपाली समाजकै लोकतान्त्रिकरण हाम्रो लक्ष्य हो । 

महासमितिको वैठक पश्चात बिलम्ब नगरिकनै पार्टी संगठनलाई सृदृढ र गतिशील बनाउने अभियान सञ्चालन गर्नुपर्दछ । यस अभियानका क्रममा सदस्यता वितरण र प्रशिक्षण अभियानलाई संगसंगै लैजानु पर्दछ । पदयात्रा कार्यक्रम सर्वत्र सञ्चालन गर्नुपर्छ । कम्युनिष्ट सत्ताका मनपरितन्त्रको विरोध गर्नुपर्छ । हाम्रा सदस्यहरुलाई वैचारिक र सांगठनिक प्रशिक्षण दिने, “कम्युनिष्टहरुले भन्दै आएको समाजवाद र प्रजातान्त्रिक समाजवाद कुन सही र श्रेष्ठ हो ?” भन्ने बिषयमा बहस सर्वत्र चलाउनुपर्छ ।

अब काँग्रेसलाई मुखर बनाउनु छ । सबै भातृसंस्था र जनसम्पर्क समितिहरुको समयमै अभिवेशन सम्पन्न गर्ने, समयबद्ध काम गर्ने वानी बसाल्ने, पार्टीका सबै तहका नियमित वैठकहरु गर्ने, वैठकका एजेण्डाहरु समय सापेक्ष बनाउने, लोकतान्त्रिक संस्कार र संस्कृति अबलम्बन गराउने, पार्टीको शिक्षा, स्वास्थ्य लगायतको बिकास नीतिमा स्पष्टता प्रदान गर्ने, गरिबी निवारण र रोजगारी दिलाउने बिषयमा पार्टीको नीति स्पष्ट पार्ने, सामाजिक विभेदहरु हटाउने, समाजमा सहिष्णुता र धार्मिक, जातीय सद्भावको वातावरण निर्माण गर्ने, व्यबहारमा नै लोकतान्त्रिक समाजवादी पार्टी निर्माणमा जुट्ने खालको अभियान सञ्चालन गर्नु पर्दछ ।

स्थानीय तहका प्रतिनिधिहरुको अभिमुखीकरण र स्थानीय जनप्रतिनिधिहरुलाई जनचाहना अनुरुप प्रभावकारी काम गर्न निरन्तर समन्वय एवं निर्देशन गरिरहनु पर्दछ । देशैभरी वी।पी। विचार यात्रा र गणेशमान वलिदान अभियान जस्ता जनस्तरमा व्यापक प्रभाव छोड्ने कार्यक्रमहरु सञ्चालन गर्नुपर्छ । मधेश र काँग्रेसको घनिष्टता वढाउन मधेश केन्द्रित अभियान सञ्चालन गर्नुपर्दछ । मधेसको भूमि र पहाडको पानीको शक्तिमा साझेदारी कायम गरौं । 

यस अभियान पश्चात महासमितिबाट संशोधित विधानले व्यबस्थित गरेका पार्टी संरचनाहरु टोल, वडा, गाउँ, नगर तहदेखि केन्द्रिय महाधिवेशनको कार्यतालिका अहिले नै निर्माण गरेर अगाडी वढ्न अनिवार्य देखिन्छ । यसका लागि यो महासमितिको बैठक सर्वसम्मतिका साथ निम्नानुसारको “समयबद्ध कार्यतालिका” अनुसार अघि बढ्ने प्रण गर्दछ ।
 
मिति कार्यक्रम
२०७५ पुष १६ देखि २०७६ आषाढ मसान्तसम्म राष्ट्रव्यापी जागरण अभियान, पदयात्रा, गाउँगाउँ र टोलटोलमा वैचारिक र सांगठनिक प्रशिक्षण सहित “सदस्यता वितरण अभियान” चलाउने । 
२०७६ आश्विन मसान्तसम्म “क्रियाशील सदस्यता वितरण र नविकरण”  सँगसँगै प्रशिक्षण कार्यक्रम गर्ने । 
२०७६ मंसिर मसान्तसम्म टोल, मतदान केन्द्र, वडा÷ गाउँपालिका, नगर ÷ उपमहानगर ÷ महानगरपालिका अधिवेशन सम्पन्न गर्ने । 
२०७६ पौष मसान्तसम्म प्रदेश निर्वाचन क्षेत्र÷प्रतिनिधि सभा निर्वाचन क्षेत्र÷जिल्ला अधिवेशन सम्पन्न गर्ने । 
२०७६ माघ १६  प्रदेश अधिवेशन सम्पन्न गर्ने । 
२०७६ फागुन ७ केन्द्रीय महाधिवेशन उद्घाटन गर्ने । 
२०७६ चैत्र बाट २०७७ असोज मसान्तसम्म  नव निर्वाचित सबै तहका समितिहरुको वैचारिक तथा संगठनात्मक प्रशिक्षक प्रशिक्षण तालिम सञ्चालन गर्ने र देशव्यापी प्रशिक्षण कार्यक्रम चलाउने । 
२०७७ चैत्र मसान्तसम्म  जनसरोकारका कार्यक्रमहरु अभियानका रुपमा सञ्चालन गर्ने । 
२०७८ बैशाखबाट  निर्वाचनमुखी कार्यक्रम सञ्चालन गर्ने । 
जय नेपाल ।
      
रामचन्द्र पौडेल 
नेता, नेपाली काँग्रेस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ