arrow

सरकारी छाप र हस्ताक्षर किर्ते गर्ने अभियुक्त पक्राउ

logo
साजन परियार,
प्रकाशित २०७५ पुष ५ बिहिबार
pakrau.JPG

पर्व । पर्वतका कम्प्युटर ईन्स्टीच्यूटमा प्रहरीले छापा मारेको छ । जिल्ला प्रहरी कार्यालय पर्वतको टोलीले बुधबार कुश्मावजारमा छापा मार्दा कम्प्युटर ईन्स्टीच्यूटमा प्रशासनको छाप, कागजात र जिल्ला प्रहरी कार्यालयका प्रमुखको हस्ताक्षरको नमूना भेटिएको छ । एक दर्जन इन्स्टिच्यूटमा प्रहरीले छापा मारेको हो । प्रहरी नायव उपरिक्षक भुवनेश्वर तिवारीका अनुसार न्यू मनकामना कम्प्यूटर ईन्स्टीच्यूटमा धेरै कैफियत भेटिएको छ ।

उक्त इन्स्टिच्यूटमा प्रशासनको छाप, कागजजात र जिल्ला प्रहरी कार्यालय प्रमुखको हस्ताक्षरको नमूना भेटिएको तिवारीले जानकारी दिए । ‘गम्भिर खालका दस्तावेज भेटिएकाले सञ्चालकलाई नै पक्राउ गरेका छौँ,’ तिवारीले भने,‘ हामी अनुसन्धानमै छौँ । कारवाहि अवश्य गर्छौँ ।’ उनले सञ्चालक राजु पौडेललाई बुधबार नै पक्राउ गरिएको बताए । पौडेललाई पुर्पक्षका लागि थुनामा राखिएको छ ।  पौडेलको न्यू मनकामना कम्प्यूटर ईन्स्टीच्यूटको घर्राबाट प्रहरीले प्रशासनको छाप, कागजजात र जिल्ला प्रहरी कार्यालय प्रमुखको हस्ताक्षर भेटाएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

सरकारी छाप, लोगो र हस्ताक्षरको प्रयोग गरि नक्कली कागजात बनाउने गरेको उजुरी पछि प्रहरीले छापा मारेको जनाएको छ । पक्राउ परेका व्याक्ति उपर कानुन अनुसार कारवाहि अगाडी बढ्ने तिवारीले जानकारी दिए । उनले कस्तो कारवाहि हुन्छ भन्ने कुरा आवश्यक कागजात तयार पछि भन्ने बताए । पक्राउ परेका व्यवसायी पौडेल पत्रकार समेत हुन् । उनी नेपाल पत्रकार महासँघ पर्वतका सहसचिव, राससका प्रतिनिधी र कुशुमपूर टुडे पत्रिकाका सम्पादकको रुपमा कार्यरत छन् । पत्रकार नै किर्तेमा संलग्न भएको पाइएपछि जिल्लामा आलोचना बढेको छ ।

पौडेललाई छाड्न दवाव आएको होला नि भन्ने प्रश्नमा डिएसपी तिवारीले भने,’ दवाव आएको छैन । हामीले दवाव दिएपनि छोड्दैनौँ ।’ बुधवार दिउँसो नै जिल्ला प्रशासन कार्यालयले डाँकेको बैठकमा सरोकारवालाहरुले सरकारी कागजात दुरुपयोग भएकोमा प्रशासन मौन बसेको भन्दै आलोचना गरेका थिए । कार्यक्रममा पत्रकार गणेश पौडेलले भनेका थिए,’ कम्प्यूटर ईन्स्टीच्यूटले प्रशासन चलाईरहेका छन् । तपाईहरु के हेरेर बस्नुभएको छ ? तपाईहरु कारवाहि गर्नुहुन्न भने हामी समाचार लेख्छौँ ।’ उनले त्यसो भन्दा बित्तिकै डिएसपी भुवनेश्वर तिवारीले प्रहरी निरीक्षकलाई तत्काल छापा मार्न अन द स्पट आदेश दिएका थिए ।

पर्वतमा कम्प्युटर ईन्स्टीच्यूटमा किर्ते कागजात बनाउने कुरा नौलो होईन । अहिले सम्म प्रशासनले कसैलाई कारवाहि नहुँदा खुलेआम किर्ते गर्ने गिरोह सक्रिय छ । पक्राउ परेका पौडेल एक उदाहरण पात्र बनेपनि जिल्लाका अन्य ईन्स्टीच्यूटमा पनि यस्तै गैह्र कानुनी कार्य हुँदै आएको जनगुनासो सुनिन्छ ।  

सर्वसाधारणहरुलाई मोटो रकम लिएर जन्मदर्ता, नागरिकताको सिफारिस, बैदेशिक रोजगारीमा जानेहरुलाई आवश्यक पर्ने प्रमाणपत्रहरु बनाउने कार्यमा कम्प्यूटर ईन्स्टीच्यूट संलग्न हुने गरेका छन् । उनीहरुले नक्कली शैक्षिक प्रमाणपत्र समेत बनाउने गरेको समेत सुनिन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ