arrow

प्रदुषणविरुद्ध उर्लियो नेविसंघ

logo
प्रकाशित २०७५ पुष ५ बिहिबार
pradhushan.jpg

काठमाडौं । स्वच्छ वातावरणका लागि ‘मास्क मुभमेन्ट’ चलाएको नेपाल विद्यार्थी संघले विहीबार काठमाडौं महानगरपालिकामा ज्ञापनपत्र बुझाएको छ । तीन हजार भन्दा बढिको संख्यामा विद्यार्थीहरू यो अभियानमा जोडिएका थिए ।  स्वच्छ वातावरणका लागि हरित सहरको परिकल्पना अभियानले गरेको छ । यसैले पनि र्‍यालीमा सहभागी भएका कतिपय विद्यार्थीले रूखका चित्र अनुहारमा टाँसेका थिए । वातावरणमैत्री नारा र प्रदुषण नियन्त्रणका उपायसहितका जानकारी लेखिएका कपडा लगाएका थिए ।

अभियानमा सहभागी रहेका विद्यार्थी नेता तथा अभियन्ता मनिष सिम्खडा भन्छन्,‘हामीले यो अभियान निक्कै लामो समयदेखि चलाएका थियौं । अहिले महानगरको ध्यान आकर्षण गराउनका लागि ज्ञापनपत्र बुझाएका हौं ।’ नेपाल विद्यार्थी संघको झन्डा पनि देखिएपछि सुरक्षाकर्मीको बाक्लो उपस्थिति गराइएको थियो । तर, यो कुनै राजनीतिक र्‍याली नभएर वातावरण प्रदुषणविरुद्धको अभियान थियो ।  

यो अभियान लामो समयदेखि नेविसंघका केन्द्रीय सदस्य नवराज त्रिपाठीको नेतृत्वमा चलेको थियो । काठमाडौंका प्रायः सबै क्याम्पस र कलेजमा अभियान चलाइसकिएको थियो । ‘वातावरणीय प्रदूषणका कारण काठमाडौंमा बाँच्न नै कठिन भइसकेको छ । यसमा महानगरपालिकाले ध्यान दिएको पाइएन, दबाबका लागि कार्यक्रम गरेका हौं’, त्रिपाठी भन्छन्,‘स्थानीय सरकारको दायित्वमा पर्ने काममा किन ढिलाई गरिएको हो रु स्वच्छ काठमाडौंको नाराले मात्र पुग्दैन ।’

वायु प्रदूषणको प्रभाव स्वास्थ्यमा मात्रै सीमित छैन । यसको नकारात्मक असर आर्थिक तथा सामाजिक क्षेत्रमा समेत परिरहेको छ । पर्यटक आगमन, सडक तथा हवाई आवागमन, शहरी सुन्दरतादेखि बसाइँसराइमा समेत प्रदूषणले प्रभाव पारिरहेका कारण सांकेतिक रूपमा मास्क मुभमेन्ट गरिएको त्रिपाठीले बताए ।

काठमाडौंमा प्रदूषण ज्यादा भएका कारण नै पर्यटन व्यवसायीहरू सकेसम्म धूलो कम भएको मौसममा पर्यटक बोलाउँछन् । फागुन, चैत र वैशाखमा धूलोकै कारणले पर्यटक कम आउँछन् । र्‍यालीमा काठमाडौंका विभिन्न क्याम्पस, कलेजलगायत शैक्षिक संस्थामा रहेका विद्यार्थीको उपस्थिति थियो । उनीहरू वातावरण प्रदुषण नियन्त्रणका उपाय सम्बन्धी तुल र प्लेकार्डसहित महानगरपालिका पुगेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ