arrow

कांग्रेसमा ‘पदाधिकारी’ विवाद मिलाउने प्रयास जारी

महासमिति बैठक पार्टी केन्द्रीय कार्यालयमा

logo
भीष्मराज ओझा
प्रकाशित २०७५ पुष ५ बिहिबार
congress-meeting1.jpeg

काठमाडौँ । नेपाली कांग्रेसको विधान मस्यौदामा पदाधिकारीको सङ्ख्या र चयन प्रक्रियाबारे सहमति खोज्न शीर्ष नेताको प्रयास जारी छ ।

लामो रस्साकस्सीपछि मङ्गलबार राति शीर्ष नेताबीच पदाधिकारीको सङ्ख्या र चयन प्रक्रियाका विषयमा सहमति भएको थियो । उक्त सहमतिमा बुधबार पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा केही केन्द्रीय सदस्यले समावेशीतालाई सम्बोधन गर्नुपर्ने माग गरेपछि त्यसलाई समेट्नेबारेमा बिहिबार बिहानदेखि छलफल जारी छ ।

शीर्ष नेतृत्वले यसअघि विधानमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, दुई सहमहामन्त्री र एक कोषाध्यक्षसहित आठ पदाधिकारी रहने र कोषाध्यक्षबाहेक सबै पदाधिकारी निर्वाचित हुने सहमति गरेको थियो । साथै कोषाध्यक्ष निर्वाचित केन्द्रीय सदस्यमध्येबाट सभापतिले मनोनयन गर्ने र कूल १६१ सदस्यीय केन्द्रीय समिति हुने सहमति भएको थियो ।

बिहीबार यसअघिको सहमतिबाहेक एक उपसभापति सभापतिबाट मनोनीत हुनुपर्ने र सहमहामन्त्रीको सङ्ख्या सात पुर्‍याइ समावेशीताका ‘क्लष्टर’ राख्नुपर्ने प्रस्तावमा छलफल भए पनि सहमति हुन सकेको छैन । पार्टी केन्द्रीय सदस्य मीन विश्वकर्माले सहमति हुन नसकेको विषय मिलाउन शीर्ष नेताबीचको प्रयास जारी रहेको जानकारी दिँदै सहमतिपश्चात् आजै केन्द्रीय समिति बैठक बसेर विधान मस्यौदा प्रतिवेदन पारित गरिने बताए  ।

केन्द्रीय समितिबाट पारित विधान मस्यौदा प्रतिवेदन आज रातभरिमा छापेर शुक्रबारको महासमिति बैठकमा पेश गर्ने कांग्रेसको तयारी छ । कांग्रेसमा संस्थापन पक्ष पदाधिकारी सङ्ख्या धेरै बढाउन नहुने र बढाए पनि सबैको निर्वाचन गर्न नहुने पक्षमा छ । संस्थापनइतर पक्ष भने केन्द्रीय कार्यसमितिको सङ्ख्या बढाएसँगै पदाधिकारी सङ्ख्या पनि बढाउनुपर्ने र सबै पदाधिकारी निर्वाचित हुनुपर्ने पक्षमा तर्क गर्दै आएको छ ।

महासमिति बैठक पार्टी केन्द्रीय कार्यालयमा

कांग्रेस महासमिति बैठक आजदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा शुरु भएको छ । गत मङ्सिर २९ गतेदेखि जारी महासमिति बैठक बुधबारसम्म सिंहदरबार पश्चिम गेटअघिको एक पार्टी प्यालेसमा हुँदै आएको थियो । महासमिति बैठकका लागि पार्टी प्यालेसमा रिजर्भ गरिएको निर्धारित समय समाप्त भएपछि बैठक स्थल सारिएको हो ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले महासमितिको निर्धारित बैठक अवधिमा छलफल गर्न समय अपर्याप्त भएकाले बैठक लम्बिएको बताए । गत मङ्सिर २९ गतेदेखि शुरु महासमिति बैठकमा निर्धारित अवधिभन्दा थप तीन दिन लम्बिएको छ । बैठक पुस ६ गतेसम्म चल्ने उनले बताए ।

बिहिबार बिहानदेखि शुरु हुने भनिएको महासमिति बैठक शीर्ष नेता विधान मस्यौदामा सहमति खोज्न व्यस्त भएपछि साँझ मात्र बसेको थियो । बैठकमा महासमिति सदस्यले विभिन्न विषयका प्रतिवेदन, पार्टीका आगामी कार्ययोजना, सरकारका काम कारवाहीलगायत विषयमा आफ्ना धारणा राखेका थिए ।

कांग्रेसले संविधानको सङ्घीय व्यवस्थाअनुसार पार्टीको विधानलाई परिमार्जन गर्न महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा विधान संशोधन मस्यौदा समिति गठन गरेको थियो । समितिले तयार गरेको प्रतिवेदनमा यसअघि पनि मङ्सिर १३ देखि २२ गतेसम्म सम्पन्न पार्टी केन्द्रीय कार्यसमितिमा छलफल भए पनि प्रतिवेदन पारित हुन सकेको थिएन ।

कांग्रेसको विधानमा हाल कूल ८५ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था छ, जसमा पदाधिकारीमध्ये एक सभापति, एक महामन्त्री र एक कोषाध्यक्ष निर्वाचित तथा एक उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्री मनोनयन हुने प्रावधान छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ