arrow

इतिहास विर्सिएको काँग्रेसलाई मजदूर नेताको प्रश्न : 'हाम्रो स्थान कहाँ छ ?'

logo
प्रकाशित २०७५ पुष ६ शुक्रबार
trad_Union_news.jpg

काठमाडौं । नेपाली काँग्रेसको जारी महासमिति बैंठकमा बोल्दै ट्रेड युनियन काँग्रेसका नेताहरुले काँग्रेसको विधानमा ट्रेड युनियनको स्थान कहाँ छ ? भन्दै प्रश्न गरेका छन् । बैठकमा बोल्ने ट्रेड युनियनका नेताहरुले ट्रेड युनियनको अधिकारबारे विधानमा पनि उल्लेख नगर्ने र नेतृत्वले गरेको सम्झौता पनि कार्यान्वयन नगर्ने हो भने ४ लाख मजदुरहरुले काँग्रेसलाई विश्वास गर्ने आधार नै गुम्ने चेतावनी समेत दिएका छन् ।

ट्रेड युनियन काँग्रेसका अध्यक्ष पुस्कर आचार्यले नेपाली काँग्रेसको विधानमा ट्रेड युनियनको मुद्दालाई कुन् यन्त्रले खोज्दा देखिन्छ ? भनेर प्रश्न गरे । मजदूर आन्दोलनको जगमा उभिएर यति ठूलो र शक्तिशाली पार्टी बनेको काँग्रेसले ७२ वर्ष पछिसम्म पुग्दा विधानमा मजदुरको अधिकारलाई कुन् यन्त्रले खोज्नुपर्छ भनेर प्रतिप्रश्न गर्नुपर्ने भनेको यो भन्दा लज्जास्पद विषय अरु के हुन सक्ला ? 

महासमितिमा बोल्दै नेता आचार्यले ४ लाख मजदूरलाई विर्सिएर काँग्रेस अघि बढ्ने हो भने काँग्रेसको आगामी बाटो कसरी सहज हुन्छ भन्दै प्रतिप्रश्न समेत गरेका थिए । उनले अबको चुनाव जित्नको लागि १८ देखि २० लाख मत थप्नु पर्ने भन्दै त्यो शक्ति मजदुरसँग मात्रै रहेको पनि बताए । उनले त्यो शक्तिलाई खिन्न नबनाउन पनि पार्टी नेतृत्वसँग आग्रह गरेका छन् । 

योगदानमा आधारित सामाजिक सुरक्षा योजनाबारे बोल्दै नेता आचार्यले काँग्रेसले ल्याएको सामाजिक सुरक्षाको अवधारणा, काँग्रेसले ल्याएको सामाजिक सुरक्षा ऐनलाई विर्सिएर नेकपा सरकारले नयाँ युगको सुरुवात भन्दै मार्केटिङ गरिरहेको बेलामा त्यो प्रचारको खण्डन गर्नुपर्ने काँग्रेसले पार्टीको विधानमा समेत मजदूरको अधिकारबारे केही उल्लेख नगर्ने हो भने मजदूरहरु अब कसको पक्षमा उभिन्छन् ? भन्दै नेतृत्वसँग प्रश्न गरे । उनले काँग्रेसले आगामी चुनावमा जीत हाँसिल गर्नको लागि मजदूरहरुको अधिकार र उनीहरुको हकहितको विषयमा खुलेर लाग्नुपर्ने सुझाव दिएका छन् । 

कार्यक्रममा बोल्दै ट्रेड युनियनका पूर्व अध्यक्ष लक्ष्मण बस्नेतले पनि मजदूरहरुको हक र हितका लागि नेतृत्व उदासिन बनेको आरोप लगाए । बस्नेतकै दबाबमा २०५४ सालमा काँग्रेस नेता आनन्द ढुंगानाले गैरसरकारी विधेयकको रुपमा संसद्मा योगदानमा आधारित सामाजिक सुरक्षा योजना बारे विधेयक प्रस्तुत गरेका थिए भने बस्नेतकै पालामा तत्कालीन पार्टी सभापति स्व. सुशील कोइरालाले पार्टी नेतृत्वमा हुँदा मजदूरहरुको स्थान सुरक्षित गर्नेबारे ट्रेड युनियनसँग सम्झौता पनि गरेका थिए । सो सम्झौता काँग्रेसले अझै पनि पालना गरेको छैन ।  

इतिहासमा काँग्रेसको मजदुरसँग कस्तो छ सम्बन्ध ? 
वि।स‌ं। २००३ साल फागुन २० गते नेपालको इतिहासमा पहिलोपल्ट विराटनगरका औद्यौगिक मजदूरहरूले बिहान सवा सातबाट ऐतिहासिक हडताल शुरु गरेका थिए। त्यसै हडतालमा त्यतिखेर त्यहाँको कारखानामा कार्यरत गिरिजा प्रसाद कोइरालालाई मजदूरहरूले आफ्नो अध्यक्ष चुनेका थिए। त्यो आन्दोलनलाई वी। पी।कोइराला र गणेशमान सिंहको पनि सहयोग र निर्देशन थियो। पछि हडताल दवाउने सिलसिलामा राणा शाहीले उनीहरुका आमा बहिनीहरू र मजदूर नेताहरू सहित मजदूर नेताहरुलाई गिरफ्तार गरेर थुनेका थिए। उक्त आन्दोलनमा विश्वेश्वर प्रसाद कोइराला, गिरिजाप्रसाद कोइराला, तारिणी प्रसाद कोइराला, मनमोहन अधिकारी, युवराज अधिकारी र गेहेन्द्रहरि शर्मालाई २४ दिनको पैदलयात्रा पश्चात काठमाण्डौको सुन्दरीजल पुर्‍याइएको थियो । राणा शाहीबाट भएका ज्यादती तत्काल रोक्न सरकारलाई नेपाली राष्ट्रिय काँग्रेसले ११ चैत, २००३ मा चेतावनी दिएको थियो।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ