arrow

कांग्रेस विधानमा १३ पदाधिकारी राख्ने सहमति

logo
प्रकाशित २०७५ पुष ६ शुक्रबार
congress-meeting.jpeg

काठमाडौँ । नेपाली कांग्रेसको विधान मस्यौदामा लामो रस्साकस्सीपछि पदाधिकारीको सङ्ख्या र चयन प्रक्रियाबारे शीर्ष नेताहरुबीच सहमति भएको छ ।

शीर्ष नेताबीच एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, सात सहमहामन्त्री र एक कोषाध्यक्षसहित १३ पदाधिकारी राख्ने सहमति भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। कोषाध्यक्षबाहेक सबै पदाधिकारी निर्वाचित हुने र कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यबाट सभापतिले मनोनीत गर्ने सहमति भएको उनले बताए ।

प्रवक्ताले शर्माका अनुसार शीर्ष नेताबीच भएको सहमतिलाई आजै केन्द्रीय समिति बैठक बसेर पारित गरिनेछ । केन्द्रीय समितिबाट पारित भएपछि विधान मस्यौदा प्रतिवेदन भोलिको महासमिति बैठकमा पेश गर्ने पार्टीको तयारी छ । कांग्रेसको महासमिति बैठक गत मङ्सिर २९ गतेदेखि काठमाडौँमा जारी छ ।

यसअघि सभापति देउवा र वरिष्ठ नेता पौडेल पक्षको आ–आफ्नै अडानका कारण विधानमा सहमति हुन सकेको थिएन । महासमिति बैठक आरम्भ भएको एकसाता भइसक्दा पनि विधान मस्यौदासम्बन्धी प्रतिवेदन बैठकमा पेश हुन सकेको थिएन ।

कांग्रेसले संविधानको सङ्घीय व्यवस्थाअनुसार पार्टीको विधानलाई परिमार्जन गर्न महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा विधान संशोधन मस्यौदा समिति गठन गरेको थियो । समितिले तयार गरेको प्रतिवेदनमा यसअघि गत मङ्सिर १३ देखि २२ गतेसम्म सम्पन्न पार्टी केन्द्रीय कार्यसमितिमा छलफल भएको थियो ।

यसअघि विधान मस्यौदामा सहमति हुन नसक्दा मङ्सिर २९ देखि पुस ३ गतेसम्म निर्धारित महासमिति बैठक पनि लम्बिएको छ । प्रवक्ता शर्माले महासमितिको निर्धारित बैठक अवधिमा छलफल गर्न समय अपर्याप्त भएकाले बैठक लम्बिएको बताए । महासमिति बैठकमा निर्धारित अवधिभन्दा थप तीन-चार दिन लम्बिन सक्ने उनले बताए ।

महासमिति सदस्यले बैठकमा यसअघि नै पेश भइसकेका पार्टीको राजनीतिक, साङ्गठनिक, समग्र आर्थिक र आन्तरिक आर्थिक प्रतिवेदनमाथि आफ्ना धारणा राख्ने क्रम भने जारी छ । कांग्रेसको विधानमा हाल कूल ८५ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था छ, जसमा पदाधिकारीमध्ये एक सभापति, एक महामन्त्री र एक कोषाध्यक्ष निर्वाचित तथा एक उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्री मनोनयन हुने प्रावधान छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ