- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। नेवार समुदायले जाडो महिनामा योमरी बनाएर खाने पर्व योमरी पुन्ही वा योमरी पुर्णिमा पर्व आज मनाउदैछ। हेमन्त ऋतुको पहिलो पूर्णिमा अर्थात धान्य पूर्णिमाको दिनमा नेवार समुदायले मनाउने पर्व योमरी पुर्णिमा हो। यो पर्व विशेष गरी ज्यापु समुदायले मनाउने गर्दछन। यो दिन विशेष प्रकारको परिकार (योमरी)बनाएर खाने गर्दछन।
नेवार समुदायमा नयाँ बालीका रुपमा धान भित्र्याएपछि विभिन्न देवी देवतालाई योमरी बनाएर पूजा गरी यो पर्व मनाउने गरिन्छ। नयाँ धान कुटी पिसेको पिठोमा चाकु, तिल, नरीवल वा खुवा वा मास पिनेको वा किमा मासु लगायतका विभिन्न सामग्री राखी त्रिकोण आकारको वा लाम्चो आकारको बनाई बाफले पकाएर योमरी तयार गरिन्छ।
योमरीले जाडोमा शरीरमा आवश्यक ताप र उर्जा दिने र चिसोबाट लाग्ने रोग बाट बचाउने भएकाले स्वास्थ्यका लागि निकै फाईदाजनक मानिन्छ। यसरी बनाएको योमरी नया आएका् धानको भकारी वा कुल देवता वा पूजा कोठामा पुजा गरमो कृषि उत्पादनमा वृद्वि हुने र अन्नको अभाव नहुने विश्वास छ।
योमरीलाई भकारी लगायत अन्नका भण्डारमा चढाउँदा धनसम्पति र अन्न लाभ हुने जनविश्वास रहिआएको छ। यसरी चढाएको योमरी चार दिनपछि प्रसादको रुपमा परिवारमा बाँडेर खाने चलन छ। यस पर्वका अबसरमा विवाह भैसकेका चेलीबेटीलाई पनि बोलाएर खुवाउने गरिन्छ। तिहारमा देउसी भैलो खेल जस्तै यस दिन टोलभरी त्यः छिं त्यः गित गाउँदै योमरी माग्ने चलन नेवार समुदायमा छ। नेपाल भाषामा ‘यो’ भनेको मनपर्ने र ‘मरी’ भनेको रोटी हो। सबैलाई मनपर्ने भएकाले नै यसको नाम योमरी राखिएको संस्कृतिविद डा चुन्दा बज्राचार्यले बताए।
नेवार समुदायममा आफैंले उत्पादन गरेको अन्न ढुकुटी पुजा गरेर धनधान्यकी देवी लक्ष्मी, कुबेर र गणेशलाई चढाएर मात्र खाने चलनअनुसार यो पर्व मनाइन्छ। कतिपय नेवार समुदायको यस दिन दिवाली पनि पर्ने भएकाले चटामरी र ल्वहचामरी पनि बनाएर कुल देबतालाई पुजा गरी मात्र खाने चलन छ।
योमरी पुर्णिमाका दिनदेखि दिन लामो हुने जनविश्वास छ। योमरीको पुच्छर जती लामो भयो, पुस को जाडो त्यती नै कम हुने विश्वास जनमानसमा रही आएको छ। योमरिले पुर्णता र उदारतालाई जनाउछ। जसरी मन्दिरको गजुरले पुर्णतालाई जनाउछ त्यसैगरी योमरीले पनि पुर्णतालाई जनाउछ।
लिच्छवीकालदेखिको पर्व
विशेष गरी उपत्यकाको नेवार समुदायले मनाउने यो जात्रा लिच्छविकालदेखि सुरू भएको हो। उपत्यकाको नेवार समुदायले मनाउने यो जात्रा लिच्छविकालका राजा अंशुवर्माका छोरा बालार्चनले खेतीपाती गर्ने मानिसको कमी भएपछि बलभद्र भन्ने बलवान व्यक्तिलाई खेत खन्न लगाएर काम सुरुवात गरेपछि फसल सप्रिएर खाद्यान्नमा परनिर्भरताबाट मुक्त भएको कथनसँग जोडिएको छ। परनिर्भरताबाट मुक्त भएपछिको उत्सवमा बालार्चन राजाले बलभद्रको शिलामूर्ति बनाई थिलापून्हिको दिनमा योमरी चढाइ जात्रा सुरु गरिएको दिनलाई थिलापुन्ही अर्थात् योमरी पूर्णिमाको रूपमा मनाइन थालिएको स्थानीयको भनाइ छ।
पन्चतत्वको प्रतिक योमरी
योमरीलाई पञ्चतत्वको प्रतिकका रुपमा लिइने गरिएको छ। पञ्चतत्व भन्नाले पृथ्वी, जल, तेज वा प्रकाश, माटो र हावालाई पञ्चतत्व मानिन्छ। चामलको पिठोलाई पृथ्वीको प्रतिक मानिन्छ भने पानी लाई जलको प्रतिक, चाकु तेज वा उर्जाको प्रतिक , खालि भाग आकाश वा हावाको प्रतिकका रुपमा लिई पञ्चतत्वले बनेको योमरी भन्ने गरिएको संस्कृतिबिदहरुले बताउने गरेका छन। यो अमूर्त संस्कृति पनि भएको जुन व्यवहारीक ज्ञानबाट मात्र सिक्न सकिने जोकसैले बनाउन नसक्ने कला पनि हो।
यःमरी र ज्यापूको सम्बन्ध
ज्यापू संस्कृतिको महत्वपूर्ण मौलिक चाड यःमरी पूर्णिमा हो। काठमाडौँ उपत्यकाका आदिवासी जनजाति ज्यापू जाति हो। नेवार समुदायभित्र अलग्गै परम्परा र पहिचानको संरक्षणमा ज्यापू समुदायको नाम अग्रस्थानमा आउँछ।
यसैदिन ज्यापू दिवस पनि मनाइने गरिन्छ।
ज्यापू संस्कृति विकास कोषको अग्रसरतामा विक्रम संवत् २०६० सालदेखि यःमरी पूर्णिमालाई नै ज्यापू दिवसका रूपमा मनाउन थालिएको थियो भने नेपाल सरकारले पनि २०६५ सालमा यसलाई मान्यता प्रदान गरी ज्यापू दिवसलाई राष्ट्रिय दिवस अनुरूप सार्वजनिक बिदा दिइएको हो।
नेवा संस्कृति, सङ्गीत, बाजागाजा, भेषभूषा तथा एकता जस्ता परम्पराको महत्वका अमूल्य धरोहरको जगेर्नाका साथै नयाँ पुस्तामा यसको ज्ञान समेतका लागि हरेक वर्ष काठमाडौँ उपत्यकाका भिन्ना भिन्नै स्थानको अगुवाइमा ज्यापू दिवस मनाइन्छ। ज्यापू दिवसको दिनमा नेवार बस्तिहरुमा सहित मौलिक भेषभुषा र गरगहना सहित नगर परिक्रमा गर्नुका साथै सांस्कृतिक झाँकीहरू प्रदर्शन गर्ने गरिन्छ।
ज्यापू महागुठी नेपाः का अध्यक्ष राजभाइ जकमीका अनुसार शनिवार काठमाडौँको भित्री मध्य सहर ब्रह्मटोल ताःननीबाट जैशीदेवल हुँदै नरदेवी र असन लगायतको क्षेत्रमा यमरीसहितको सांस्कृतिक झाँकी प्रस्तुत हुँदैछ। कुल जनसंख्याको ६ प्रतिशत नेवार समुदायमा तीन प्रतिशत जनसख्या ज्यापू समुदायले ओगटेको छ। अध्यक्ष जकमीका अनुसार काठमाडौमा विगतमा ३२ टोलमा ज्यापू खलक रहेको भए पनि अहिले ६० टोलमा यो फैलिएको छ। ललितपुरमा भने ४० टोलमा यो समुदायको बाहुल्यता रहेको छ।
महर्जन, जकमी, डङ्गोल, मुनिकार, सुवाल, अवाल, प्रजापति, पाछै, सिंह थर ज्यापू समुदायमा पर्छ। नेवारीमा ज्यायाफू अर्थात् काम गर्न सक्ने अद्भूत क्षमता भएको अर्थमा यो समुदायलाई अपभ्रंश उच्चारणको रूपमा ज्यापू भनिएको हो भनिन्छ। यःमरि पूर्णिमालाई अन्तर्रा्ष्ट्रिय रूपमा प्रचारप्रसार गर्ने उद्देश्यले ज्यापू समाज यलले बिहीबार पाटन दरवार क्षेत्रमा यःमरि प्रदर्शन गरेको थियो। प्रदर्शनीमा पाटन क्षेत्रका बिभिन्न ४० टोलका ज्यापु समुदायले सहभागिता जनाएका थिए।
कसरी पकाउने योमरी ?
योमरी बनाउन ताइचिनको चामललाई पिठोमा परिणत गरिन्छ। चामल लस्सादार हुनुपर्छ। अत्यन्त मिहिन पिठो शुद्ध घिउमा थोरै राखिन्छ। त्यसमा मनतातो उमालिएको पानीले मुछिन्छ। मज्जाले मुछेको पिठोलाई हावा पस्नबाट रोक्न सफा मलमल कपडाले छोपिनुपर्छ।
मुछिएको आलो पिठोलाई आकार दिनुपर्छ। पिठोलाई आकार दिँदा योमरीको रूप बन्छ। योमरी बनाउने काम सिपालु काम हो। सीपविना योमरी बन्दैन। जुन आकारको योमरी तयार गर्नुछ, उत्रै डल्लो पिठो हात पार्नुपर्छ। पिठोको डल्लोलाई चोर औंलाले छेड्नुपर्छ। औंला शुद्ध खानेतेलले रसाइ पिठो छेड्नुपर्छ।
औँला घुमाउँदै जाँदा पिठोको डल्लो पातलिँदै जान्छ। पातलो डल्लो झन्डै शंखाकारमा परिणत हुन्छ। बीचमा झन्दै वाइन ग्लासको जस्तै खोक्रो ठाउँ बन्न पुग्छ। त्यसै रित्तो ठाउँमा तिल र चाकु उमालेर तयार गरेको मिश्रण चम्चाले हालिन्छ। र त्यसलाई बिस्तारै मुखबन्द गरी अन्त्यमा दुइटा चुच्चो बनाइन्छ। यसलाई मः मः जसरी बफाएर पकाइन्छ।