arrow

आणविक निःशस्त्रीकरण र कोरियाली प्रायद्वीपमा स्थायी शान्ति नेपालको चाहना

logo
शरच्चन्द्र भण्डारी ,
प्रकाशित २०७५ पुष ८ आइतबार
pradeep-.jpg

काठमाडौँ ।सरकारले कोरियाली प्रायद्वीपमा भइरहेको शान्ति स्थापनाको प्रयास तथा आणविक निःशस्त्रीकरणको प्रयत्नबारे गहन छलफल गरेको स्पष्ट गरेको छ ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको गत साता सम्पन्न अमेरिकाको औपचारिक भ्रमणका बेला त्यहाँका विदेशमन्त्री माइकल रिचार्ड पोम्पेओसँग द्विपक्षीय, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय महत्व र चासोका विविध विषयमा विचारविमर्श भएको बताएको छ ।

उत्तरकोरियामात्र होइन समग्र कोरियाली प्रायद्वीपमा स्थायी शान्ति हुुनुपर्ने नेपालको अडान र राष्ट्रसङ्घीय प्रस्तावअनुरुप आणविक निःशस्त्रीकरणको पक्षमा नेपाल रहेको बताउँदै मन्त्री ज्ञवालीले पत्रकारमाझ भने–“नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राखेर विदेशमन्त्री पोम्पेओसँग छलफल भएको हो ।”

नेपालमा चिनियाँ प्रभाव घटाउने र अमेरिकी प्रभुत्वलाईं बढावा दिने आशयका भ्रामक समाचारको खण्डन गर्दै मन्त्री ज्ञवालीले एशिया–प्रशान्त सुरक्षा रणनीतिमा नेपाल नलागेको प्रष्ट पारे।

अमेरिकाका एशिया–प्रशान्त मामिलासम्बन्धी सहायक रक्षा मन्त्री र्‍यान्डल स्क्रिभरसँगको भेटवार्तामा नेपाल र अमेरिकाबीचको सहयोग तथा सहकार्यका साथै संयुक्त राष्ट्रसङ्घीय शान्ति सेनामा नेपालको योगदानका बारेमा छलफल भएको जानकारी दिए ।

पाँचखालस्थित वीरेन्द्र शान्तिकार्य तालीम केन्द्रको क्षमता अभिवृद्धिमा अमेरिकाले गर्नसक्ने सहयोग तथा केन्द्रलाई विश्वस्तरीय प्रशिक्षण प्रतिष्ठानमा रुपान्तरण गर्ने नेपाल सरकारको चाहना पूरा गर्न सघाउने आश्वासन पनि दिएको उनले बताए ।

झण्डै दुई दशकको अन्तरालमा परराष्ट्रमन्त्रीस्तरमा भएको नेपाल–अमेरिका वार्ता सफल भएको निष्कर्ष सुनाउँदै मन्त्री ज्ञवालीले भ्रमणका क्रममा नेपाल–अमेरिका सम्बन्धसँग महत्व राख्ने अन्य अमेरिकी निकायका उच्च पदाधिकारीहरुसँग समेत भेटवार्ता गरेर पछिल्लो राजनीतिक विकासक्रम, नेपालको शान्तिप्रक्रिया, वर्तमान सरकारका विकासका प्राथमिकताबारे अवगत गराएको बताए।

नेपालमा अमेरिकी लगानीका लागि सहजीकरण गर्न आफूले गरेको, आगामी मार्चको अन्तिम सातामा नेपालमा आयोजना हुन लागेको लगानी सम्मेलन, व्यापारको क्षेत्रमा अमेरिकाले नेपाललाई प्रदान गरेको सहुलियत, भन्साररहित तथा सीमारहित सहुलियत प्राप्त वस्तुमा नेपालको तुलनात्मक लाभ रहेका पुरुष र महिलाका पोशाकलाई समावेश गरिदिन अनुरोध गरेको जानकारी मन्त्री ज्ञवालीले दिए  ।

नेपाल–अमेरिका राजनीतिक परामर्श बैठक पनि मन्त्री ज्ञवालीले भ्रमणका क्रममा भएको छ । परराष्ट्र सचिव शङ्करदास वैरागी नेतृत्वको प्रतिनिधिमण्डलसँग भएको उक्त परामर्श बैठकमा नेपाल सरकारका विकास प्राथमिकताहरु, द्विपक्षीय समझदारीहरुको कार्यान्वयन, मिलेनियम च्यालेन्ज कर्पोरेशन कम्प्याक्टको प्रगति, विकास सहायता, व्यापार तथा लगानीबारे गहन छलफल भएको थियो ।

द्विपक्षीय विकास सहायताका विविध पक्षहरुमा छलफल गर्नुका साथै आगामी दिनमा विकास सहायतामा थप सहकार्य तथा सहयोगको सम्भावनाका बारेमा विचार आदानप्रदान भएको थियो ।

नेपाल र अमेरिकाबीच गतवर्ष हस्ताक्षर भएको सम्झौता बमोजिमको ५०० मिलियन अमेरिकी डलरको सहायता रहेको मिलेनियम च्यालेन्ज कर्पोरेशन कम्प्याक्टअन्तर्गतका परियोजनाहरुलाई शीघ्र कार्यन्वयन गर्नेमा दुवै देश सहमत भएका छन् । उक्त कम्प्याक्टअन्तर्गत नेपालको ऊर्जा तथा सडकको क्षेत्रमा महत्वपूर्ण परियोजनाहरु सञ्चालन हुनेछन् ।

संयुक्त अधिराज्यपछि अमेरिकासँग कूटनीतिक सम्बन्ध स्थापना गरेर बाह्य विश्वमा परिचय कामय गरेको नेपालले आफ्नो राजनीतिक उपलब्धि तथा विकासका प्राथमिकता, परराष्ट्र नीतिका प्राथमिकता तथा नेपाल–अमेरिका सम्बन्धका विविध आयामबारे औपचारिक रुपमा सम्बद्ध उच्च अधिकारीलाई जानकारी गराएर देशको वास्तविकता बुझाउन मद्दत पुग्नुले दुई देशबीचको सम्बन्धलाई अझ सुदृढ तुल्याउन सहयोग पुगेको मान्न सकिन्छ ।

अमेरिकाजस्तो नेपालको पुरानो तथा महत्वपूर्ण साझेदार राष्ट्रको नेपालतिरको चासो र महत्वमा बढोत्तरी हुनका साथै भविष्यमा आपसी सहयोग र सहकार्यमा अभिवृद्धि हुने अपेक्षा गरिएको छ ।

मन्त्री ज्ञवालीको यो भ्रमणमा नेपालको विकासका नयाँ परियोजनामा अमेरिकासँग कुनै सम्झौता नभए पनि एकअर्कालाई बुझ्न तथा विकासका आवश्यकता र प्राथमिकताबारे पारस्परिक छलफलका निम्ति लाभप्रद रहेको भ्रमण दलमा संलग्न अर्थ र गृह मन्त्रालयका अधिकारीहरूले पनि बताएका छन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ