arrow

सरकारी वकिलको विशेष जिम्मेवारी छ : राष्ट्रपति भण्डारी

logo
प्रकाशित २०७५ पुष ८ आइतबार
bidhya1.JPG

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले फौजदारी न्याय प्रशासनलाई सवल र प्रभावकारी कार्यान्वयन गर्न सरकारी वकिलको विशेष जिम्मेवारी भएको बताएकी छन् ।

महान्यायाधिवक्ता कार्यालयले आइतबार आयोजना गरेको ‘सरकारी वकिलको दोस्रो राष्ट्रिय सम्मेलन’ को उद्घाटन गर्दैै उनले फौजदारी अभियोजनको मुख्य जिम्मेवारी पाएको सरकारी वकिलले प्रभावकारी ढङ्गले काम गर्नुपर्ने बताइन् ।

राष्ट्रपति भण्डारीले भनिन् , “अभियोजनको मुख्य जिम्मेवारी राज्यले महान्यायाधिवक्ताको कार्यालयलाई दिएको छ, अपराध अनुसन्धान गर्दा प्रभावकारी तरिकाले गर्नुपर्छ, कसुरदारलाई सजाय र पीडितलाई न्याय दिने तरिकाले गर्नुपर्छ ।”

सूचना र प्रविधिको विकाससँगै अपराध अनुसन्धानमा पनि जटिलता भएको उल्लेख गर्दै उहाँले व्यावसायिक, प्रभावकारी, नागरिकलाई विश्वासमा लिएर वकिलले काम गर्नुपर्नेमा जोड दिइन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा अपराध हुन नदिने र अपराध भएमा प्रभावकारी तरिकाले अनुसन्धान गरेर दोषीलाई उन्मुक्ति दिन नहुने बताए । उनले फौजदारी न्याय राम्रोसँग दिनमा लागि प्रहरी, अदालत, पीडित र अपराधीबीच रहेर प्रश्न नउठ्ने गरी व्यावसायिक तरिकाले काम गर्नुपर्नेमा जोड दिए।

प्रधानमन्त्री ओलीले सामाजिक न्याय र समानताका लागि अलि गहन तरिकाले काम गर्नुपर्ने, गरीब धनी मात्र नभई र राष्ट्रिय हितको संरक्षण हुने गरी काम गर्न आग्रह गरे ।

प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले सरकारी वकिलको कार्यशैलीमा आशातित सुधार भएको र अपराध अनुसन्धान गर्दा व्यावसायिक तथा वस्तुनिष्ठ ढङ्गले गर्नुपर्ने बताए। उनले सरकारी वकिलले मुद्दामा बहस पैरवी गर्दा अनुसन्धान गरी बहस गर्ने परिपार्टीको पनि विकास हुँदै गएको आफूले महसुस गरेको र आगामी दिनमा पनि अझ वृद्धि गर्दै लैजानुपर्नेमा जोड दिए।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले देशभरका कानून व्यवसायीले नेपालको संविधान र मुलुकी संहितालाई एकरुपतामा बुझ्न सकेमा काममा सफलता हासिल हुने बताए ।

महान्यायाधिवक्ता अग्नि खरेलले सरकारी वकिलको संस्थागत विकास तथा आगामी दिनका लागि सम्मेलनले रणनीतिक योजना तय गर्ने जानकारी दिए ।

नेपाल बार एशोसिएसनका अध्यक्ष शेरबहादुर केसीले नेपालले अन्तर्राष्ट्रिय सन्धि÷सम्झौतामा हस्ताक्षर गरेको कुरालाई ध्यान दिँदै इन्काउटरका नाममा व्यक्तिको हत्या गर्न नहुने र दोषी देखिए कानूनबमोजिम कारवाही गर्नुपर्नेमा जोड दिए ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सरकारी वकिलको प्रभावकारी अनुसन्धानबिना प्रहरीले राम्ररी काम गर्न नसक्ने उल्लेख गर्दै पीडित मैत्री अनुसन्धान पद्धति जरुरी भएको उल्लेख गरे।

सो अवसरमा सर्वोत्कृष्ट सरकारी वकिललाई सम्मान गरिएको छ । राष्ट्रपति भण्डारीले ‘एटर्नी अफ द इयर’ का रुपमा नायब महान्यायाधिवक्ता किरण पौडेललाई मेडल र पुरस्कारद्वारा सम्मान गर्नुभयो । तीनदिनसम्म चल्ने सम्मेलनमा देशभरबाट ३०० सरकारी वकिलको उपस्थिति रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ