arrow

ओली इखालु कि बेमतलबी ? 

तीन दिनको समय के का लागि ?

logo
प्रकाशित २०७५ पुष ९ सोमबार
kp-sharma-oli--udayepur-news.jpeg

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली इखालु छन् कि बेमतलबी भन्ने प्रश्न अहिले नेकपा वृत्तमा धुँवासरी फैलिएको छ ।

गत शनिबारदेखि जारी स्थायी समिति बैठकलाई पुस ८ गते आइतबार नै सक्नु पर्नेमा पुस ११ सम्म सारेर ओली बेमतलबी भएको आरोप नेकपाका नेताहरुले लगाउन थालेका छन् । 

आइतबार अपरान्ह राजनीतिक प्रतिवेदनमाथि ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिनुपर्ने समय बिहानै तोकिएको थियो । तर दिउँसोमात्र कार्यव्यस्तताका कारण भन्दै पुस ११ सम्मलाई सारियो । 

स्थायी समिति सदस्यहरुमा दुई मुख्यमन्त्री पनि छन् । उनीहरुका पनि काम होलान् । आफ्नो प्रदेशमा गएर सत्ता संचालन गर्नुपर्ने हुन्छ । तर ओलीले त्यसको पर्वाह त गरेनन् नै कार्यव्यस्तता भन्दै फेरि भाषणबाजीमा लागेको एक नेकपाका स्थायी समिति सदस्यले आरोप लगाए । 

नाम नखुलाउने सर्तमा उनले भने, ‘एकातिर सरकार राम्रोसंग संचालन नगरेको आरोप छ अर्कातिर पार्टीभित्र पनि त्यस्तै बेथिति बढाएको आरोप छ । हाम्रा अध्यक्षले खोइ के सोच्नु भएको हो, यसरी पार्टी कसरी चल्छ ?’

ओलीमाथि स्थायी समितिका अधिकांश सदस्य आक्रामक भए । सत्ता राम्ररी नचलाउँदा मन्त्रिपरिषद पुनर्गठन गर्नुपर्ने सम्मको दवाव आयो । त्यसैगरी पार्टीभित्र कार्यविभाजन नहुनुका साथै काखा र पाखाको प्रवृत्ति हावी भएको चन्दै ओलीलाई नैतिक दवाव दिइएको छ । 

ओलीको रवैयाप्रति एमाले छँदादेखिकै सदाबहार प्रतिस्पर्धीहरु नेकपाका वरिष्ठ नेताहरू माधव नेपाल र झलनाथ खनाल त छँदै रहे कुनै समय एकै कित्तामा उभिएका वामदेव गौतमले त समानान्तर शैलीको सुझाव प्रतिवेदन नै पेश गरे ।  

ओली, गौतम र खनालसंगै प्रचण्ड पक्षका सदस्यहरुले पनि जमेर ओलीको आलोचना गरे । 

तीन दिनको समय के का लागि ?
एक हप्तासम्म आफूमाथिको आक्रोश र प्रतिशोधको भावना देखेका र सुनेका ओली त्यत्तिकै चुप लागेर बस्लान् वा गल्ती भयो अब राम्रोसंग जिम्मेवारी निभाउँछु भन्लान् भन्ने कल्पनासम्म पनि नगरे हुन्छ । 

विगत कोट्याउने हो भने पनि उनी चुप लागेर बस्ने प्रवृत्तिका नेतामा पर्दैनन् । उनी कडा क्रियाको जवाफमा कडा प्रतिक्रिया जनाउँछन् नै । 

एक स्थायी समिति सदस्यले आक्रोश पोख्दै भने, ‘समय नबुझी तीन दिन स्थगित भयो, कसलाई के गाली गर्ने र कसलाई के भनेर तर्साउने भनी तयारी गर्नकै लागि बैठक तीन दिन स्थगित गरिएको होला ।’

के ओलीले पार्टी पनि यसरी गैरजिम्मेवारीपूर्वक चलाइरहेका छन् ? त्यसकै परिणामले यति रुष्ट भएका हुन् त सदस्यहरु ? 

कतै ओलीको विकल्प खोज्न थालिएको त हैन ? ओली पनि कच्चा खेलाडी हैनन् उनले केही न केही त सोचेकै छन् । 

उनको इखालु स्वभाव सम्भवतः बुधबारको बैठकमा खुल्नेछ । तर उनी बेमतलवी भएको आरोप भने नेकपाभित्र गाइँगुइँ फैलिएको छ । मतलवी भैदिएका भए बैठकलाई आइतबारै सक्ने थिए । 

जनताको अपेक्षा अनुसार काम नगरेको भनेर आलोचना खेपिरहेका ओलीले अहिले फेरि पार्टीभित्र पनि बेवास्ताको नीति अपनाउँदा जताततैबाट घेराबन्दीमा परेको विश्लेषण हुन थालेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ