arrow

आन्दोलनरत कर्मचारीलाई देउवाको आश्वासन : 'परे संसद् अवरुद्ध गरिन्छ' 

logo
प्रकाशित २०७५ पुष १० मंगलबार
Nepali-congress-President.jpg

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कर्मचारीहरुको हक हितको लागि संसद् अवरुद्धसम्म गर्नुपरेपनि पछि नहट्ने आश्वासन दिएका छन् । मंगलबार देउवालाई भेट्न उनको निवास पुगेका आधिकारिक ट्रेड युनियनका अध्यक्ष सहितको टोलीलाई देउवाले यस्तो आश्वासन दिएका हुन् । 

बैठकमा कर्मचारी समायोजनको विरोधमा रहेका ४ वटै ट्रेड युनियनका प्रतिनिधिहरु सहभागी थिए । सहभागीहरुमध्ये आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्यप्रसाद ढकालले स्थानीय कर्मचारी ऐन, प्रदेश निजामती ऐन र संघीय निजामती ऐन आएपछि मात्रै कर्मचारी समायोजनको विषयलाई अघि बढाउनुपर्नेमा आफूहरु रहेको बताएका थिए । 

उनीहरुले देउवासामु एउटै मोडलबाट जागिर खाएका आफूहरु स्थानीय तहमा पुगेपनि केन्द्रमा पनि आउन पाउने र स्थानीय तहकाहरु प्रदेशमा पनि जान पाउने व्यवस्था हुनुपर्ने पक्षमा आफूहरु रहेको जानकारी समेत गराएका थिए । उनीहरुले यो अध्यादेशले कर्मचारीको त्यो अधिकारलाई रोकेको भन्दै यसलाई संशोधन गर्न समेत माग गरेका थिए । 

भेटका क्रममा उनीहरुले प्राविधिकहरुको शैक्षिक योग्यताको विषयमा पनि छलफल गरेका छन् । प्राविधिकहरुको हकमा सेवा प्रवेश गरेको समयको शैक्षिक योग्यताको आधारमा बढुवा हुनुपर्ने माग उनीहरुले पेश गरेका छन् । अहिले नासु तहका प्राविधिकहरुको लागि मात्रै शैक्षिक योग्यताको विषय राख्न खोजिएको भन्दै उनीहरुले शैक्षिक योग्यता या त सबैलाई राख्नुपर्ने होईन भने कसैलाई पनि राख्न नहुने तर्क राखेका थिए । उनीहरुले पुरानो निजामती ऐन अनुसार नै शैक्षिक योग्यता राखिनुपर्ने माग पनि राखेको नेपाल निजामती कर्मचारी संघका उपाध्यक्ष उत्तम कटुवालले जानकारी दिए । 

जवाफमा सभापति देउवाले कर्मचारीका यी मागहरुलाई संसद्मा समेत पेश गर्ने भन्दै सरकारले सम्बोधन नगरे संसद् अवरुद्ध गरेर भएपनि यो अधिकार दिलाईछाड्ने प्रतिवद्धता व्यक्त गरेका छन् । देउवासँगको भेटलाई नेपाल निजामती कर्मचारी युनियन संघका अध्यक्ष गोपाल पोखरेलले संयोजन गरेका थिए ।

युनियनका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र अधिकारीले समायोजन भएर गएका कर्मचारीहरुको पनि सरुवा र बढुवाको स्पष्ट प्रावधान सहित अध्यादेश वा कानून ल्याउनु पर्छ भन्ने आफ्नो बटमलाईन रहेको प्रतिक्रिया दिए । उनले स्थानीय तहमा पुगेपछि कर्मचारीहरु फर्कनै नपाउने भन्ने व्यवस्थाले कर्मचारीहरुको अधिकार कटौती गरेको उनको बुझाई छ । बैंठकमा काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा लगायतको उपस्थिती थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ