arrow

राम्री दुर्घटनास्थलमा मृत आत्माको शान्तिका लागि मन्दिर निर्माण गरिने

logo
शंकर के सी,
प्रकाशित २०७५ पुष १० मंगलबार
dang_district_map.png

सल्यान। २३ जनाको ज्यान जानेगरि भएको दुर्घटना स्थल दाङ तुलसिपुर उपमहानगरपालिका ३ राम्रीमा विश्वकर्मा बाबाको मन्दिर निर्माण गरिने भएको छ । राप्ती लोकमार्ग अन्तर्गत दाङ सल्यान सडक खण्डको त्यस क्षेत्रमा सवारी दुर्घटना भई ठूलो मात्रामा जनधनको क्षति भएको र अझै दुर्घटनाको क्रम नरोकिएकाले मृतआत्माको शान्तिका लागि मन्दिर निर्माण गरेर पूजाआजा गर्ने भन्दै मन्दिर निर्माण कार्य सुरु गर्न लागीएको हो ।

डीएल डान्स एकाडेमी तुलसिपुर दाङले मन्दिर निर्माणका लागी पहल शुरु गरेको जनाएको छ । क्लवका अध्यक्ष द्रोण आचार्यले एकाडेमीको कोषमा रहेको केहि रकमबाट विश्वकर्मा बाबाको मन्दिर निर्माण कार्य यसै हप्तादेखि शुरु गरिने जानकारि गराए । मन्दिर निर्माणका लागी अन्य रकम विभिन्न सहयोगी दाताहरुबाट जुटाउने पनि अध्यक्ष आचार्यले जनाएका छन् ।

सडकको छेउमा निर्माण हुन लागेको सो विश्वकर्मा बाबाको मन्दिरमा शिलालेख राखिने र शिलालेखमा सहयोग गर्ने दाताहरूको नाम उल्लेख गर्ने डीएल डान्स एकाडेमीका कोषाध्यक्ष शरद शर्माले बताए । स्थानीयहरुले पटक पटक वर्षेनी राम्रीको क्षेत्रमा सवारि दुर्घटना हुने क्रम नरोकिनुमा कुनै मृत आत्माको त्यस स्थानमा बास रहेको बताउँछन् । मन्दिर निर्माण गरेर पुजाअर्चना गरेपछि मृत आत्माले शान्ति पाउने र अनिष्ट रोकिने स्थानीयहरुको विश्वास छ । यसका साथै साँघुरो सडक, ठाउँठाउँमा खाल्डाखुल्डी भएकाले पनि दुर्घटना नरोकिएको भन्दै राज्यले सडकको स्थीती सुधार गर्न चासो देखाउनुपर्ने माग नागरिकहरुले गरेका छन् ।

कृष्णसेन इच्छुक स्मृति बहुप्राविधिक शिक्षालय घोराहिका शिक्षक तथा विद्यार्थी चढेको गाडी गत शुक्रबार दुर्घटना भएको थियो । सल्यानको कपुरकोटबाट तुलसीपुरतर्फ जाँदै गरेको बा ४ ख ९७६६ नम्बरको बस दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको थियो । दुर्घटनामा १४ जना घाइते भएका थिए ।

अघिल्लो बर्ष पनि त्यहाँ ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो । सल्यानको कपुरकोटबाट तुलसीपुरतर्फ जाँदै गरेको लु २ त २५५८ नम्बरको ट्याक्टर रातिको समयमा पल्टीदा दुई जनाले ज्यान गुमाएका थिए ।

त्यसैगरी दुईबर्ष अघि पनि राम्रीमा मोटरसाईकल दुर्घटना हुँदा २ जनाको ज्यान गएको थियो । त्यसको अघिलो बर्ष पनि सल्यानवाट दाङ जाँंदै गरेको जीप दुर्घटना हुंदा २ जनाको घटनास्थलमा मृत्यु भएको थियो । गएको असार १८ गते राती पनि यही ठाउँमा तरकारी बोकेको पिकप दुर्घटना हुँदा सल्यान बागचौर नगरपालिका ९ कोटमौला डाँगीगाउँ कमलपोखरीका ३५ वर्षीय गोरख डाँगीको पनि मृत्यु भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ