arrow

‘आज अध्यक्ष कमरेडले बिन बजाउँदै हुनुहुन्छ’

logo
प्रकाशित २०७५ पुष ११ बुधबार
ncp-hq-building-oli-prachanda.jpg

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का एक केन्द्रीय सदस्यको भनाइलाई लिने हो भने ‘आज धुम्बाराहीमा मेला छ ।’ अर्थात् नेकपा स्थायी कमिटी बैठकमा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिँदैछन् । 

पार्टी मुख्यालय धुम्बाराहीमा दिने यो जवाफ चानचुने हैन कि असन्तुष्ट स्थायी कमिटीका ४४ सदस्यहरुलाई लठ्ठ पार्न सक्ने गरी जवाफ दिनुपर्नेछ । उनीहरु निकै भड्किएका छन् । त्यो भड्काइलाई मत्थर पार्नुपर्नेछ । 

एक स्थायी कमिटी सदस्य भन्छन् –‘आज अध्यक्ष कमरेडले बिन बजाउँदै हुनुहुन्छ’ । उनको भनाइमा दम छ । किनकि जसरी सपेराले बिन बजाएर सर्पलाई लठ्ठ पार्छ त्यसरी नै प्रधानमन्त्रीसमेत रहेका ओलीले बिन बजाएर आफू विरुद्ध उफ्रिएका पार्टीका प्रतिस्पर्धीहरुलाई शान्त पार्नुपर्नेछ । 

यो सजिलो छैन । किनकि गत आइतबार नै सकिनु पर्ने बैठक आन्तरिक किचलो बढेपछि तीन दिन बैठक सारेर बुधबारका लागि तय गरिएको थियो । 

कमिटी सदस्यहरुले सरकारको काम कार्वाहीदेखि नेतृत्वले पार्टी संचालन गर्न नसकेको गम्भीर प्रकृतिका आरोप लगाइएका छन् । 

राजनीतिक नियुक्तिदेखि लिएर सरकारले एसिया प्यासिफिक समिटलाई गरेको आयोजना विवादित बनेको छ । यसले गर्दा नेताहरु रुष्ट छन् । आत्मआलोचना गर्न दिइएको सुझावसमेत ओलीले मानेका छैनन् । 

ओलीले आफूले जे गरेको हो त्यो सही छ भनेपछि आइतबार एकाएक बैठक भाँडिएको थियो । तीन दिनमा ओली मत्थर भए वा फेरि पनि ‘मेरो गोरुको बाह्रै टक्का’ भन्दै अगाडि बढ्न खोज्छन् त्यसको लेखाजोखा हुने नै छ । 

बैठकमा ४६ सदस्यले पार्टी र सरकार सञ्चालनबारे राखेका सुझावलाई समेटेर ओली र  ‘प्रचण्ड’ले प्रतिउत्तर दिँदैछन् । गत मङ्सिर २९ गतेदेखि शुरु भएको उक्त बैठक अध्यक्षद्वयले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथिको छलफलमा आइतबारसम्म ४६ सदस्यले विचार राखेका थिए । 

प्रतिवेदनमा सरकारका उपलब्धि, पार्टीका काम, सचिवालयबाट अहिलेसम्म भए गरेका कार्य तथा निर्णयका साथै जिल्ला तथा जनसङ्गठनको एकतालगायत विषय समावेश गरिएका छन् । 

दुई अध्यक्षले प्रतिउत्तर दिएपछि ती राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित गर्ने कार्यक्रम रहेको नेता कृष्णगोपाल श्रेष्ठले जानकारी दिए । बैठकमा पार्टी र सरकारका कार्य सम्पादनका बारेमा नेताहरुले मिस्रित धारणा राखेका थिए । 

बैठकका क्रममा सचिवालय सदस्य वामदेव गौतमले अध्यक्षद्वयको प्रतिवेदनमा पूरक प्रतिवेदन पेश गरेका उक्त प्रतिवेदनमा भएका सुझावलाई पार्टीको मूल्यवान् सम्पत्तिका रुपमा सुरक्षित गरिने बताइएको छ । 

तर के गौतमको सुझावलाई पनि समेटेर राजनीतिक प्रतिवेदन पारित होला वा फेरि पनि ओलीले आफ्नो दम्भलाइ कायमै राख्लान् ? एक केन्द्रीय सदस्यले भने झैं केवल दुई तिहाईको सरकारको नेतृत्व सम्हालेको दलको प्रधानमन्त्री एवं अध्यक्षको भनाइ र पूर्व प्रधानमन्त्री एवं अर्का अध्यक्षको भनाइ केवल मेलाकै रुपमा अगाडि बढ्ने हो त्यसको छिनोफानो हुनेछ । 

मन्त्रीमण्डलसमेत पुनर्गठन गर्न सुझाव दिइएपछि ओलीलाई अझै तनाव भएको छ । यदि माग संवोधन गरिएनन् भने आन्तरिक संरचनामा झन् ठूलो असर पर्ने त हैन ? 

दुई तिहाइको सरकारले जनमुखी काम गर्ने प्रतिवद्धता नगरी अहिले नै राम्रा काम भइरहेका छन् भन्ने दम्भ राख्छ भने त्यो पनि दुर्घटनाको एक कारक बन्न सक्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ