arrow

गोरु तस्करीको समाचार संकलन गर्न पुगेका दाङका पत्रकार माथि प्रहरी दुर्व्यवहार, प्रेस युनियनले गर्‍यो भत्सर्ना

logo
प्रकाशित २०७५ पुष ११ बुधबार
Press-Union.jpg.jpeg.jpeg

काठमाडौं ।  दाङमा गोरु तस्करी भइरहेको सूचनाको आधारमा समाचार संकलन गर्न पुगेका पत्रकारमाथि प्रहरीले दुर्ब्यबहार गरेको घटनाप्रति नेपाल प्रेस युनियनले ध्यानाकर्षण जनाएको छ । बुधबार नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले विज्ञप्ति जारी गर्दै  इलाका प्रहरी कार्यालय भालुबाङ, दाङको प्रहरीले समाचार संकलनका लागि पुगेका प्रदेश टुडे दैनिकका पत्रकार प्रियास्मृती गजमेर, रेडियो देउखुरीका स्टेशन म्यानेजर शिवराज खनाल र गणतन्त्र दैनिकका पत्रकार शिवु खनाललाई गरिएको दुर्ब्यबहार भत्सर्नायोग्य रहेको उल्लेख गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, 'प्रहरीले फोटो खिच्ने क्रममा मोवाइल खोसेर भिडियो डिलिट गरिदिदैं अभद्र व्यवहार समेत गरेको छ। ईलाका प्रहरी कार्यालय भालुबाङ्गका प्रहरी प्रमुख रविन्द्रराज पाण्डेको टोलीले पत्रकारहरु माथि दुर्ब्यबहार गरेको हो। नेपाल प्रेस युनियन समाचार संकलनमा अवरोध गर्ने र समाचार सामग्री मेटाउने प्रहरी हर्कतको भत्सर्ना गर्दछ। साथै संगठित तस्करीको मतियार बनी समाचार संकलनमा अवरोध गर्ने प्रहरीलाई कार्वाही गर्दै भयरहित र स्वतन्त्रतापूर्वक समाचार संकलनको वातावरण बनाउन प्रसासन तथा सरोकारवालासंग नेपाल प्रेस युनियन माग गर्दछ ।'

कन्चनपुरबाट झापा लैजान थालिएका गोरुको बारेमा समाचार संकलन गर्न राप्ती गाउँपालिका वडा नम्बर ५ लठ्ठहवामा प्रहरीले पत्रकारहरुमाथि अभद्र व्यवहार गरेको थियो । स्थानीयले ती गोरुहरु रोकेर राखेका थिए ।

शिवराज  खनाल सहितका पत्रकारहरु त्यहाँ समाचार संकलनका लागि पुगेका थिए । त्यस क्रममा ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरिक्षक रविन्द्रराज पाण्डेले सञ्चार सामग्री खोसेको र फोटो, भिडियो समेत डिलिट गरिदिएका थिए । साथै पाण्डेले उनिहरुको पत्रकार परिचयपत्र खोसेर हातपातसमेत गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ