arrow

प्राधिकरणका अध्यक्ष दिगम्बर झालाई बोक्न सकेनन् केपी ओलीले, गराए राजीनामा

logo
प्रकाशित २०७५ पुष ११ बुधबार
digambar_kpoli.jpg

काठमाडौं । नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले चौतर्फी दबाब थेग्न नसकेपछि नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झालाई राजीनामा गर्न लगाएका छन् । 

आर्थिक चलखेल गरी झालाई पदमा पुनर्नियुक्ति गरेको भन्ने आरोप आम सर्वसाधारण र पार्टी बृत्तमा तीब्र रुपमा लागेपछि ओलीले झालाई राजीनामा दिन लगाएको नेकपा स्रोतले जनाएको छ । नेकपा स्थायी समिति बैठकमा समेत यो विषयमा गम्भीर रुपमा कुरा उठेको थियो । नेकपा स्थायी समिति बैठकमा ४३ जना केन्द्रीय सदस्यहरुले हस्ताक्षर नै गरी झालाई अध्यक्षबाट हटाउनको लागि दबाब दिएका थिए । 

पहिले आफैंले हटाएको नेकपाले पछि आर्थिक चलखेलमा परी झालाई पुनः नियुक्ति दिलाएको आरोप स्थायी समितिमा नै लागेको थियो । यो काममा नेकपाका दुबै अध्यक्षहरुसँगै सञ्चार तथा प्रविधि मन्त्री गोकुल बाँस्कोटाको समेत संलग्नता बाहिर आएको थियो । झालाई पुनर्नियुक्ति गर्ने विषयमा मन्त्रिपरिषद् बैठकमा नै केही मन्त्रीहरुले विरोध गरेपनि प्रधानमन्त्री केपी ओलीले झाको विषयमा मन्त्रीले ल्याएको प्रस्तावलाई सिधै पारित गरेका थिए । 

झाको पुनर्नियुक्तिको विषय उनले अदालतमा दिएको मुद्दा फिर्ता लिएदेखि नै चर्चामा रहेको थियो । उनले अदालतमा विचाराधीन मुद्दा फिर्ता लिएदेखि नै प्राधिकरणमा पुनः अध्यक्ष बन्ने आशंका गरिएको थियो । जुन कुरालाई मन्त्री बाँस्कोटा सहितका केही नेकपाका नेताहरुको सिफारिसमा प्रधानमन्त्री ओलीले लालमोहर लगाईदिएका थिए । 

नेकपा स्थायी समितिमा अचानक यो विषयले प्रवेश पाएपछि सरकार रक्षात्मक बनेको थियो । प्रधानमन्त्री केपी ओली र उनको ‘किचन क्याविनेट’ र सञ्चारमन्त्री बाँस्कोटा थप रक्षात्मक बनेपछि उनीहरुले समेत झालाई बोकिराख्ने आँट गर्न सकेनन् । फलस्वरुप झालाई राजीनामा दिन लगाएर यो प्रकरणको सहज निकास खोज्न प्रधानमन्त्री ओली लागेको देखिएपनि उनको पुनर्नियुक्तिमा भएको चलखेल भने अझै पटाक्षेप हुन बाँकी छ । ओली प्रधानमन्त्री भएपछि दूरसञ्चार क्षेत्रमा भएका दूरगामी असर पार्ने सरकारी निर्णयहरुको चौतर्फी आलोचना हुँदै आएको छ ।  

बुधबार राजीनामा दिएर आएपनि अध्यक्ष झाले राजधानीमा पत्रकार सम्मेलन गरी आफू जुनसुकै बेलापनि राजीनामा दिनसक्ने अवस्थामा रहेको बताएका थिए । उनले पत्रकार सम्मेलनमा आफू जागिर गरेर तलबमात्रै खाएर बस्ने मान्छे नभएको भन्दै आफू काम गर्ने मान्छे रहेको दाबी गरेका थिए । उनले मन्त्री बास्कोटालाई राजीनामा बुझाए पछि प्राधिकरणका उच्च अधिकारीसमक्ष आफ्नो राजीनामाको बारेमा जानकारी गराएका थिए । राजीनामा दिएपछि पत्रकार सम्मेलन गरेका झा त्यसपछि प्राधिकरण फर्किएनन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ