arrow

'दहेज प्रथा कानूनी अपराध हो'

logo
प्रकाशित २०७५ पुष १२ बिहिबार
daijo.jpg

विराटनगर । प्रदेश नं १ का प्रदेश प्रमुख प्राडा गोविन्दबहादुर तुम्बाहाङले दहेज प्रथा कानूनी अपराध हो भनेका छन् । दाइजोविरुद्धको १० दिने अभियानअन्तर्गत विराटनगरमा इस्लामी सङ्घ नेपालद्वारा बिहिबार आयोजित दाइजो प्रथा समाजमा यसको प्रभाव तथा कारण र निवारण विषयक अन्तक्र्रिया कार्यक्रममा उनले दाइजोको विरुद्धमा महिला पनि अघि सर्नुपर्ने बताए ।

प्रदेश प्रमुख तुम्बाहाङले समाजमा विकृतिको रुपमा विकसित हुँदै गएको दहेज प्रथालाई रोक्न शिक्षा र सचेतना कार्यक्रम आवश्यक छ भन्दै तराईमा दहेज प्रथाले विकराल रुप लिएकोमा चिन्ता व्यक्त गरे । छोराछोरीलाई समान रुपमा हेर्ने दृष्टिकोण बनाउनुपर्छ अनि मात्र असल समाज बन्ने उद्घोष गर्दै प्रदेश प्रमुख तुम्बाहाङले दाइजोको कारण महिलामाथि हुने हिंसा जघन्य अपराध हो भने ।

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले मुसलमान समुदायमा पनि दहेज प्रथा चल्नु इस्लाम धर्मको खिलाप हो भने । नेपाली काङ्ग्रेसका आमन्त्रित केन्द्रीय सदस्य हसन अन्सारीले दहेज लिनु र दिनु दुबै गैरकानूनी काम भएकाले यसलाई समयमै रोक्न सक्नुपर्छ भने।

प्रदेशसभा सदस्य लोकप्रसाद सङ्ग्रौला, विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली र उपप्रमुख इन्दिरा कार्कीले छोरी पढाउ र छोरी बचाउ अभियानले दहेज प्रथालाई केही हदसम्म नियन्त्रण गर्ने कुरामा जोड दिए।

आयोजक सङ्घ प्रदेश नं १ का अध्यक्ष मौलाना जुल्फकर अलीको अध्यक्षतामा भएको सो कार्यक्रममा मुस्लिम अगुवा रिजवान अन्सारी, मौलाना गुलाम रसुलले इस्लाम धर्ममा दहेज लिनु भनेको पाप गर्नु सरह हो भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ