arrow

ओलीले भने – पार्टी संचालनमा कमीकमजोरी भए होलान् सरकार संचालनमा सबै राम्रो 

logo
प्रकाशित २०७५ पुष १३ शुक्रबार
ncp-meeting-sthai-committee.jpg

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को साङ्गठनिक एकतालाई यही पुस मसान्तसम्म पूरा गर्ने प्रस्ताव गरिएको छ । पार्टी मुख्यालयमा बसेको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकता गर्न बाँकी रहेका कमिटीको एकता पुस मसान्तसम्म गर्ने प्रस्ताव गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी गराए ।

आफ्नो राजनीतिक प्रतिवेदनका सन्दर्भमा स्थायी कमिटी सदस्यले बैठकमा राखेका विभिन्न विषयको जवाफ दिने क्रममा अध्यक्ष ओलीले कार्यदल गठन गरेर बाँकी रहेको सङ्गठनको एकतालाई निष्कर्षमा पुर्याउने बताएको प्रवक्ता श्रेष्ठले उल्लेख गरे ।  

एकतापछि पार्टीको केन्द्रीय कमिटी र प्रदेश कमिटीसहित इञ्जिनीयरिङ, निर्माण व्यवसायी र कानून व्यवसायी सङ्गठनमा मात्रको एकता भएको छ । जिल्ला कमिटी, स्थानीय तह र जनवर्गीय सङ्गठनको एकता हुन अझ बाँकी नै रहेको छ । 

उनले बैठकमा भएको छलफलले अझ उन्नतस्तरको एकताका लागि बलियो आधार तयार गरेको उल्लेख गरे । पार्टीको एकतालाई बलियो बनाउनका लागि अब पार्टी एकता ढिलाइ गर्नुहुँदैन । 

उनले भने, ‘‘अहिले पार्टी एकतालाई छिन्नभिन्न बनाउन केही तत्व लागेका छन् । तिनलाई परास्त गरेर जानु पर्दछ । बैठकमा प्रधानमन्त्री ओलीले माघ महिनाभित्र सबै कमिटीको भेला र केन्द्रीय कमिटीको बैठकसमेत आयोजना गर्ने बताए । 

यस्तै फागुन, चैत्रमा पार्टी एकतालाई अझ बलियो बनाउनका लागि राष्ट्रिय अभियान समेत सञ्चालन गर्ने स्थायी कमिटी सदस्य योगेश भट्टराईले बताए । अध्यक्ष ओलीको राजनीतिक प्रस्तावमा माघ, फागुनमा राष्ट्रिय अभियान सञ्चालन गर्ने उल्लेख गरिएको थियो । 

नेता भट्टराईले संसद् चलिरहेकोले समय अभावका कारण अध्यक्ष ओलीले नै फागुन, चैत्रमा अभियान सञ्चालन गर्ने प्रस्ताव ल्याउनुभएको बताए । प्रवक्ता श्रेष्ठका अनुसार बैठकमा अध्यक्ष ओलीले पार्टीलाई अझ सुदृढ र एकताबद्ध बनाएर लैजानेसमेत बताएका थिए । 

उनले मुलुकको राष्ट्रियता एकता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाभिमान र सार्वभौमसत्ता लागि पार्टी र सरकारको प्राथमिकतामा रहेकाले यसलाई अझ दृढ भएर लाग्ने बताए । ‘‘लोकतन्त्रलाई सृदृढ गराउने, सुशासन कायम राख्ने, सङ्घीय प्रणालीलाई बलियो बनाउने र भ्रष्टाचारलाई नियन्त्रण गर्ने सरकारको पहिलो प्राथमिकता रहेको छ’’ उनले बैठकमा भने । 

सरकारले यी कुरालाई ध्यानमा राखेर काम गरिरहेको छ । सरकारले सफलता प्राप्त गर्दै गइरहेको छ । बैठकमा प्रधानमन्त्री ओलीले पार्टी सञ्चालनका क्रममा केही कमीकमजोरी भएपनि अबको दिनमा त्यस्ता कमीकमजोरी हुने नदिने समेत बताए । 

उहाँले सरकारले अन्तर्राष्ट्रिय सम्बन्धलाई समेत सुदृढीकरण गर्दै लगिरहेको बताए । नेकपाको तेस्रो स्थायी कमिटी बैठक मङ्सिर २९ गतेदेखि जारी रहेको रहेको छ । शुक्रबार बिहान ८ बजे पुनः पार्टी मुख्यालयमा बैठक बस्ने छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ