arrow

मेलमिलाप दिवसमा यी हुन् कांग्रेसका जिल्ला नजाने नेताहरु

logo
प्रकाशित २०७५ पुष १३ शुक्रबार
nepali-congress-flag.jpg.jpeg

काठमाडौं । नेपाली काँग्रेसका ८३ केन्द्रीय सदस्यमध्ये केही केन्द्रीय सदस्यहरु राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा पार्टीले आयोजना गर्ने कार्यक्रमका लागि जिल्ला नजाने भएका छन् ।
 
पार्टीले बिहीबार जारी गरेको सूचीमा केन्द्रीय समितिका नौ जना नेताहरुको नाम नभएकाले उनीहरु यही कार्यक्रमका लागि गृहजिल्ला नजाने भएका हुन् । 

नेपाली काङ्ग्रेसले यही पुस १६ गते मेलमिलाप दिवसको अवसरमा देशभर आमसभा, गोष्ठी, र्याली, कोणसभालगायत कार्यक्रम गर्ने तयारी गरेको छ ।
 
विसं २०३३ साल पुस १६ गते काङ्ग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाका साथ लौहपुरुष गणेशमान सिंह र अन्य शीर्षनेताहरुसहित आठ वर्ष लामो निर्वासन अन्त्य गरी स्वदेश फर्किएको दिनलाई काङ्ग्रेसले हरेक वर्ष राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका रुपमा मनाउँदै आएको छ ।

दिवसलाई प्रभावकारी बनाउन काङ्ग्रेसले ७७ जिल्लामा केन्द्रीय सदस्यलाई प्रतिनिधिका रुपमा खटाएपनि केही नेताहरु विभिन्न कारणले जिल्लागत कार्यक्रममा जान नसक्ने भएको पार्टी केन्द्रीय कार्यालयका सचिव प्रकाश पंगेनीले जानकारी दिए । 

पदाधिकारीमध्ये एक उपसभापति, दुई महामन्त्री र प्रवक्ता नै जिल्ला नजाने सूचीमा छन् । मनोनित महाममन्त्री पूर्ण बहादुर खड्का आफ्नी आमाको निधनपछि बर्षभर कुनै पनि सार्वजनिक कार्यक्रममा सहभागी नहुने निर्णय अनुसार नजाने भएका हुन् । 
 
उपभापति विजयकुमार गच्छदार, निर्वाचित महामन्त्री डा शशांक कोईराला र प्रवक्ता विश्वप्रकाश शर्मालाई पनि जिल्लामा खटाइएको छैन ।

त्यसैगरी केवि गुरुङ र नरहरी आचार्य आफै विरामी भएकाले जान नसक्ने भएका हुन् । चिनकाजी श्रेष्ठ, प्रदिप गिरि र राधेशचन्द्र यादव पनि जिल्ला नजाने सूचीमा छन् ।

 
काँग्रेसको अहिलेको विधानमा ८५ केन्द्रीय सदस्य रहने व्यवस्था भएपनि विधान भन्दा बाहिरबाट विजयकुमार गच्छेदार थपिएको र खुमबहादुर खड्काको निधन भएकाले ८३ जना केन्द्रीय सदस्य छन् । खड्काको ठाउँमा बाहेक अर्का एक जना मनोनयन गर्न बाँकी छ । त्यसैगरी दश जना आमन्त्रीत केन्द्रीय सदस्य हुनु पर्नेमा एक जनाको मनोनयन भएको छैन ।
 
अहिले जिल्ला खटाइएका केन्द्रीय सदस्यहरुको सूचीमा तीन जना आमन्त्रीत केन्द्रीय सदस्य  पनि रहेका छन् । तराईका नेतालाई पहाडी तथा हिमाली क्षेत्रमा र हिमाली तथा पहाडी क्षेत्रका नेतालाई तराई क्षेत्रमा खटाइएको छ भने सांसदहरुलाई काठमाडौ देखि टाढाका जिल्ला तोकिएको छ । 

पदाधिकारीहरुले तयार पारेको जिल्ला खटाउने सूचीमा महिलाहरुलाई पनि सुगम जिल्लाहरुमा खटाइएको छ । खटाइएका नेताहरु आजैदेखि तोकिएका जिल्लाहरुमा जान लागेको विवरणहरु प्राप्त भएको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ