arrow

मुस्लिम महिलाको वैवाहिक सम्बन्ध प्रतिरक्षा विधेयक पारित

logo
एएनआई,
प्रकाशित २०७५ पुष १४ शनिबार
muslim-female.jpg

नयाँ दिल्ली। मुस्लिम महिलाको वैबाहिक सम्बन्ध प्रतिरक्षा विधेयक–२०१८ बिहीबार भारतको लोकसभाबाट पारित भएको छ। मुस्लिम महिलाको वैवाहिक सम्बन्ध प्रतिरक्षा विधेयक–२०१८ माथि छलफल गरेर पारित गर्ने प्रस्ताव कानून मन्त्री रवीशङ्कर प्रसादले प्रस्तुत गरेका थिए।

आफ्नो लोग्नेले तीन पटकसम्म ‘तलाक’ शब्द मौखिक रूपमै उच्चारण गरेपछि वैधानिक रूपमै आफ्नो श्रीमान्ले छोड्ने बाध्यता रहेको कुरीतिलाई प्रतिबन्ध लगाउन यस्तो व्यवस्था गर्नु परेको मन्त्री प्रसादको भनाई छ। भारतीय जनता पार्टी (बीजेपी)ले गत मङ्गलबार सो प्रस्ताव पारित गर्नका लागि लोकसभाका सदस्यलाई डिसेम्बर २७ अर्थात् बिहीबारका दिन संसदमा अनिवार्य उपस्थितिका लागि लिखित पत्र नै जारी गरेको थियो।

सोही पत्रअनुसार लोकसभामा बीजेपीका सबै सदस्य उपस्थित भएका थिए। यस विधेयकको पक्षमा २३८ र विपक्षमा ११ मत परेको थियो। मुस्लिम महिलाको वैवाहिक सम्बन्ध प्रतिरक्षा विधयेक–२०१८ माथि छलफल र मतदान डिसेम्बर २७ का दिनलाई भारतीय सञ्चार माध्यमहरुले मुसमान महिलाको ‘खास दिन’ भन्ने संज्ञा दिएका छन्।

आफ्नो लोग्नेले तीन पटकसम्म ‘तलाक’ शब्द मौखिकरूपमै उच्चारण गरेपछि यसलाई वैधानिक मानी मुस्लिम पुरुषले महिलामाथि थोपर्दै आएको यो एकतर्फी अन्यायलाई भारतको सर्वोच्च अदालतले भने करिब डेढ वर्ष अघि नै अवैधानिक घोषणा गरिदिएको थियो।

मुस्लिम लोग्नेले आफ्नी श्रीमतीलाई छोड्न चाह्यो भने वा ऊ वैधानिकरूपमै सम्बन्ध विच्छेद गर्न चाह्यो भने तीन पटकसम्म मौखिकरुपमै “तलाक” उच्चारण गरे पुग्ने परम्परा रहेको छ। यी शब्दको भरमा श्रीमान् श्रीमतीबीच सम्बन्ध विछेच्द हुने यो प्रक्रिया मुस्लिम समुदायको प्रमुख धर्मग्रन्थ कुरानमा रहेको मुसलमान समूदायको दाबी रहँदै आएको छ।

निकै लामो समयको अध्ययन र विभिन्न धर्मका गुरुकै गहन परामर्शबाट भारतको सर्वोच्च अदालतले यो प्रावधान कुरान कै मूल भावना र मर्मविरुद्ध भएको भन्दै यस प्रथालाई अवैधानिक र अमान्य ठहर गरिसकेको थियो।

भारतमा मुस्लिम समुदायमा पुरुषले आफ्नी श्रीमती र वरिपरि रहेका अन्य वयस्कले सुन्ने गरी “तलाक” शब्द तीन पटकसम्म दोहोर्‍याई उच्चारण गरेकै आधारमा श्रीमतीसँग अलग्गिएर बस्ने, सम्बन्ध नै विच्छेद नै गर्न पाउने धार्मिक मान्यता रहेको भन्ने आडमा निकै लामो समयदेखि नै महिलामाथि अन्याय गरिँदै आएको थियो।

इस्लामिक कानून अवलम्बन गर्ने मुस्लिम राष्ट्रको रूपमा परिचित पाकिस्तान र बङ्गलादेशमा समेत यस्तो तीन तलाकको प्रावधान खारेज भइसकेको थियो भने भारतमा कायम रहिरहेको थियो। बहुसङ्ख्यक हिन्दू धर्मावलम्बी बसोबास गर्ने भारतमा यस्तो कुरीति अझै कायमै रहनु लज्जास्पद पनि थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ