arrow

'ट्रेड युनियन मुभमेन्टसँग सरकार किन डरायो' ? : प्रकाशमान सिंह

logo
प्रकाशित २०७५ पुष १४ शनिबार
prakash-man-shing2.jpg

काठमाडौं। ट्रेड युनियन मुभमेन्टसँग सरकार किन डरायो ? प्रश्नको उत्तर खोज्नु पर्ने बेला आएको बताउँदै नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले, सामुहिक सौदाबाजीलाई सरकारले शत्रु दृष्टि लगाउनु पर्ने जरुरी नरहेको बताएका छन्।

शनिबार राजधानीमा सम्पन्न नेपाल वातावरण तथा सरसफाइ श्रमिक संघको पहिलो राष्ट्रिय भेलामा बोल्दै नेता सिंहले, सहभागितामा आधारित लोकतन्त्रको सिद्धान्त विपरीत सरकार एकलौटी अघि बढिरहेको बताए। लोकतन्त्रमा सबैको जीत हुन्छ तर अहिले कसैले जित्ने र कसैले हार्ने स्थिति सृजना भयो, यसको दोष सरकारले लिनु पर्छ कि पर्दैन? नेता सिंहले सरकारलाई प्रश्न गरे। 

लोकतन्त्रमा श्रमिकका कामको सम्मान नगर्ने सरकार भएपछि अन्यायको सृङ्खला शुरु हुने बताउँदै उनले नेपाली कांग्रेसले यस्तो हुन नदिने बताए। कार्यक्रममा ट्रेड युनियन महासंघ नेदरल्याण्ड (एफएनभि) का एशिया प्यासिफिक क्षेत्रीय निर्देशक प्रभु राजेन्द्रले, श्रमिकको पेशागत र औद्योगिक अधिकारको मात्र कुरा गरेर ट्रेड युनियनको जिम्मेवारी पूरा नहुने बताउँदै यसको पूर्णताका लागि उसको सामाजिक र आर्थिक अधिकार तथा समावेशिताको विषयमा पनि कुरा गर्नु पर्ने धारणा राखे।

नेदरल्याण्डमा फोहोरमा काम गर्ने श्रमिकहरुको ट्रेड युनियनमा १२ लाख सदस्य छन्। आवश्यक पर्‍यो भने यसले सरकारलाई पूर्ण असफल बनाउने हैसियत राख्छ तर हामी शक्तिको दुरुपयोग गर्दैनौं, किनभने हाम्रो शक्तिका विषयमा सरकार जानकार छ, उहाँले ट्रेड युनियन अभियानका तागतको चर्चा गरे।

ट्रेड युनियनका अगुवा श्रमिकका हरेक समस्यामा सचेत हुनुपर्छ, युएनआइका क्षेत्रीय उपमहासचिव राजेन्द्र आचार्यले—अनौपचारिक क्षेत्रका श्रमिकलाई संगठित गरेर मात्र ट्रेड युनियन दरिलो बन्ने धारणा व्यक्त गरे। 

सरकारले सामाजिक सुरक्षा भत्ता कार्यक्रमलाई नयाँ युगको शुभारम्भ भनेको छ। यो नेपाली कांग्रेस सरकारका पालामा बनेको ऐनका आधारमा आएको कार्यक्रम हो। कार्यक्रममा धारणा राख्ने क्रममा नेपाल ट्रेड युनियन कांग्रेसका निवर्तमान अध्यक्ष खिला दाहालले कार्यविधि बनाउँदा अहिलेको सरकारले अनौपचारिक क्षेत्रलाई छुटाएको आरोप लगाए।

अहिलेको ऐनले कुल श्रमिकमध्ये ४ प्रतिशतलाई मात्र समेट्छ, अब भन्नोस्, ९६ प्रतिशत लाभग्राही बाहिर राखेर कसरी नयाँ युग शुरु हुन्छ? उनको प्रश्न थियो।

कार्यक्रममा स्थानीय तह कर्मचारी युनियनका महासचिव रामप्रसाद पौडेलले, सरकार कान नसुन्ने र आँखा नदेख्ने भएको आरोप लगाए भने युएनआइ नेपालका अध्यक्ष शंकर लामिछानेले — सबै क्षेत्रका श्रमिकहरुको संगठित शक्तिले मात्र अधिकार प्राप्ति हुने तर्क राख्दै अन्तरसम्बन्ध विकासमा जोड दिए।

कार्यक्रममा कृषि मजदुर श्रमिक संघका अध्यक्ष बिमला गैरे, क्लास नेपालका अध्यक्ष लेखप्रसाद बुर्लाकोटीलगायतका बक्ताले परिपक्व ट्रेड युनियन गतिविधिमा अगाडि बढ्नु पर्ने खाँचो देखाए।

श्रम कार्यालयमा दर्ता र स्थानीय तह कर्मचारी युनियन, नेपालसँगको आवद्धतामा नेपाल वातावरण तथा सरसफाइ श्रमिक संघ स्थापना गरिएको हो। औपचारिक  र अनौपचारिक क्षेत्रमा रहेर सरसफाइ तथा वातावरणीय सुधारमा काम गर्ने व्यक्ति यसका सदस्य रहनेछन्। यसमा ६ जना पदाधिकारीसहित ११ जनाको कार्यसमिति गठन गरिएको छ।

जसको अध्यक्षमा पञ्चबहादुर तामाङ्, उपाध्यक्षमा चित्रकुमार सुनुवार, महिला उपाध्यक्षमा फुलकुमारी अधिकारी, महासचिवमा चन्द्र घिमिरे, सचिवमा श्याम कार्की र कोषाध्यक्षमा रीमा पुजारी छन्। त्यस्तै सदस्यहरुमा ज्ञानबहादुर राय, शुक्रबाबु पोडे, डम्बरकुमार अधिकारी, सञ्जना पुजारी र ईश्वरी बुढाथोकी छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ