arrow

कांग्रेसले राष्ट्रिय मेलमिलाप दिवस ७७ वटै जिल्लामा मनाउँदै, अरु दल पनि सम्झन्छन् बीपीको नीतिलाई 

केन्द्रीय नेताहरु नै ७७ जिल्लामा खटिए

logo
प्रकाशित २०७५ पुष १६ सोमबार
bp-koirala.jpeg

काठमाडौँ । राष्ट्रिय मेलमिलाप दिवस विभिन्न कार्यक्रमसहित नेपाली काँग्रेसले सोमबार मनाइरहेको छ । बीपी कोइराला, गणेशमान सिंह लगायतका कांग्रेसका नेताहरु भारतको निर्वासित जीवन बिताएर मेलमिलाप गर्न स्वदेश फर्केको दिनको सम्झनामा कांग्रेसले हरेक वर्ष यो दिवस मनाउँदै आएको छ । 

आठ वर्षको भारत प्रवासपछि २०३३ साल पुस १६ गते बीपीसहितका नेताहरु स्वदेश फर्केका थिए । २०१७ सालमा जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको सरकार बर्खास्त गर्दै राजा महेन्द्रले निर्दलीय पञ्चायती व्यवस्था लागु गरेपछि कोइरालासहितका नेतालाई ७ वर्षका लागि जेल हालिएको थियो । 

जेलबाट छुटेपछि बीपीसहितका नेताहरु २५ सालमा भारत गए । भारतमा इन्दिरा गान्धी नेतृत्वको सरकारले अपमान गरेको महसुस गर्दै विदेशमा बसेर हैन नेपालमै गएर राजासंग हातेमालो गरेरै राजनीतिक निकास निकाल्न सकिन्छ भन्दै बीपी फर्केका थिए । 

बीपीले भारत आफू अनुकुलको राजनीति नेपालसंग गरिरहेको निष्कर्षमा पुगेपछि साथीहरु लिएर ज्यानको बाजी लगाएर स्वदेश फर्किने हिम्मत गरेका हुन् । उनलाई राज्यद्रोहको आरोपमा फेरि जेल कोचेर 
 मार्नेसम्मको योजना हुन सक्दथ्यो । 

तर बीपीले भारतमा अपमानित भएर बस्नुभन्दा स्वदेशमै मर्न जाती भन्दै फर्किएको निधन हुनुअघि गणेशमान, शैलजा आचार्य, खुमबहादुर खड्का लगायतले बताउँदै आएका थिए । 

तर राजासंग हातेमालो गर्न आएका उनीहरुलाई तत्कालीन सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्रेर सुन्दरीजल बन्दीगृह लगेको थियो । 

त्यहि दिनको सम्झनामा हरेक वर्ष पुस १६ गतेलाई मेलमिलाप दिवसका रुपमा मनाउन थालिएको हो । 

बीपीलाई त्यतिबेला पञ्चले नारा लगाएर विरोध गरे । मञ्चमा बोल्न दिइएन । राजाले कसैलाई पनि रोकेनन् । 

कांग्रेसले किन राजा फाल्यो ? 
बीपी कोइरालाले नयाँ विचार प्रतिपादन गर्दै भित्रैदेखि एकता नभइ हुँदैन भनेर राष्ट्रिय मेलमिलाप नीतिलाई अगाडि बढाएका थिए । यसलाई तत्कालीन अवस्थामा राजासहितको मेलमिलाप नीति भनेर भनियो । 

बीपीको सोच निकै राम्रो थियो । तत्कालीन अवस्थामा राजासंग मेलमिलाप गर्नुको विकल्प थिएन । तर त्यो राजासंगको मेलमिलाप भने पनि समग्रमा भने काँग्रेसी नेताहरुसंगै अन्य दलहरुसंगको एकता पनि थियो । 

जनमत संग्रह त्यसको दवाव थियो । ०४६ सालमा बहुदल ल्याउन दलहरु मिले । त्यो पनि मेलमिलापको नीति अन्तर्गत नै थियो । ०६२–६३ को आन्दोलन पनि दलहरुको मेलमिलापको नीति अन्तर्गत नै थियो । 

राजासंगको मेलमिलापको नीतिलाई अंगीकार गरेको कांग्रेसले राजा ज्ञानेन्द्र शाहलाई किन फाल्यो त भन्ने प्रसंगमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल भन्छन्, ‘तत्कालीन अवस्थामा राजाले राष्ट्रिय एकता गर्न सक्छन् भन्ने सम्भावना नभएपछि पछि राजा हटाएका हौं । राजाको नियतमा सुधार नदेखिएपछि हामीले राजसंस्था फाल्यौं ।’ 

अन्य दलले पनि सम्झन्छन् मेलमिलापको नीति
काँग्रेस नेताहरुले चुनावका बेलामा र आन्तरिक अप्ठेरो परेका बेलामा बीपीलाई सम्झने गरेको आरोप लाग्छ । 

तर कांग्रेसले बीपी बाहेकको नीति अवलम्बन गरेको छैन । बीचबीचमा भड्कने काम भने भइरहेको छ । 

अन्य दलका नेताहरु भने बीपीको विचारलाई राम्रो मान्छन् । दलहरुबीच राजनीतिक गतिरोध बढ्दै जाँदा एकताका लागि सबैलाई बीपीलाई सम्झन्छन् । 

बीपीकै नीतिको गलत फाइदा उठाउँदै दलहरुबीच पटक पटक सहमति पनि हुँदै आएको छ । 

महासमिति बैठकपछि काँग्रेसभित्रका असहमति सबै मिलेको भन्दै आन्तरिक मेलमिलापलाई समेत बल पुगेको सन्देश दिँदै सबै केन्द्रीय नेताहरु नै ७७ जिल्लामा खटिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ