arrow

प्रधानमन्त्री ज्यू ! शुभकामना पनि मजाक नबनोस्

logo
प्रकाशित २०७५ पुष १७ मंगलबार
kp-sharma-oli.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०१९ मा समृद्ध नेपाल र सुखी नेपालीको महाअभियान अझ दृढतापूर्वक उचाइमा पुग्ने विश्वास व्यक्त गरेका छन् । 
 
अङ्ग्रेजी नयाँ वर्ष २०१९ का अवसरमा मंगलबार शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले अर्को नयाँ वर्षको सङ्घारमा पुग्दासम्म जनताको जीवन सुखी र राष्ट्रको अवस्था समृद्ध बनाउने अभियान सार्थक विन्दुमा पुग्ने बताए । 

प्रधानमन्त्री ओलीले आफ्नो शुभकामना सन्देशमा भनेका छन् – “ निर्वाचनमार्फत प्रकट जनचाहनालाई शिरमा राख्दै मैले पटक पटक सङ्कल्प गरेको छु– जनताका अपेक्षालाई कुनै पनि हालतमा विफल हुन दिने छैन । सरकारको यस अभियानमा सम्पूर्ण पेशा, क्षेत्र, वर्ग र समुदायका दिदीबहिनी दाजुभाइको साथ रहनेछ भन्ने मैले अपेक्षा गरेको छु । ” 

प्रधानमन्त्रीओलीले सन् २०१८ संविधानकार्यान्वय र संक्रमणकाल अन्त्यको वर्ष भएको बताए । प्रधानमन्त्री ओलीले सन् २०१८ लाई राजनीतिक उपलब्धिको वर्ष पनि भनेका छन् । 

“ जननिर्मित नयाँ संविधानअनुसार निर्वाचनका माध्यमबाट तीनै तहका सरकार गठन भई बितेको वर्षमा राजनीतिक सङ्क्रमणकालको अन्त्य भयो ”, प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन् “सङ्क्रमणकालीन संशयहरुलाई चिर्दै ‘समृद्ध नेपाल–सुखी नेपाली’को सङ्कल्पसहित हामी विकास र समृद्धिको महाअभियानमा अभिमुख छौंँ । राजनीतिक सङ्घर्ष र व्यवस्थापनको बहसबाट सिङ्गै समाज विकास र समृद्धिको बहसतर्फ केन्द्रित रहन सक्यो । ” 

मजाक नबनोस् शुभकामना 
प्रधानमन्त्री ओलीले बोल्ने हरेक कुरा रेकर्ड भएर बसेका हुन्छन् । ती संचारमाध्यमले पनि कैद गरेर राखेका हुन्छन् । त्यतिमात्र होइन प्रधानमन्त्री ओलीले प्रधानमन्त्री निवासमा एउटा टोली नै खडा गरेका छन् । त्यो टोलीको काम नै उनले बोल्ने र गर्ने भाषणको फेहरिस्त दैनिक उतार्ने काम गर्छ । 

ओली आफू पनि विरोधीहरुलाई त्यही भन्ने गर्छन् कि –आफूले बोलेका कुरा रेकर्ड भएर बस्ने भएकाले ख्याल गर्नू । 

तर तिनै प्रधानमन्त्रीले आफूले बोलेका कुरा भुलेर हैरान छ । चाहे चुनावका बेलामा गरेका बाचा होउन् वा प्रधानमन्त्री भइसकेपछि बोलेका कुराहरु । विपक्षीका कुरालाई निकै उछितो काढेर टिप्पणी गर्ने ओलीले आफूले बोलेका कुरालाई पनि त्यसैअनुसार गम्भीर भएर लिइदिए कति जाती हुन्थ्यो होला । 

प्रधानमन्त्री ओलीले नयाँ वर्षको शुभकामना निकै नम्र तरिकाले र सटिक तरिकाले दिएका छन् । जनअपेक्षा अनुसारका काम गर्ने बताएका छन् । 

तर तिनै विषय मजाकका विषय नबनुन् । गरेका बाचा र प्रण पूरा नगर्ने अनि त्यस्ता प्रणमा खातमाथि खात बनाउने बानीले एक देशको कार्यकारी अभिभावकप्रतिको सोच बदलिन थालेको छ । 

पानीजहाज आयो अब के के आउने हो 
प्रधानमन्त्री ओलीले भनेको पूरा गर्ने भएका भए सोमबार (पुस १६ गते) ओलीका आलोचक प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका वरिष्ठ नेताहरु यतिबेला कोलकाता हुने थिए । ओलीसंग गफिएका हुने थिए । ‘प्रधानमन्त्री ज्यु हजुर महान् नसोचेको काम गर्नुभयो’ भन्दै जयजयकारको नारा लगाउने थिए । 

तर भ्रम छरेर र भाषणलाई भद्दा मजाक बनाएर उनी आलोचनाको पात्र कहिलेसम्म बन्ने ? गत असार १४ गते काठमाडौंमा भएको एक कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूले पानीजहाज र रेलको कुरा गर्दा उडाउने गरेको भन्दै ‘पुस १६ गते पानीजहाज चढ्न टिकट काटेर तयार हुनोस्’ भनेका थिए ।

त्यही भाषणमा डिजिटल दुनियाँमा बोलेका सबै कुरा रेकर्ड हुने भन्दै विचार गरेर बोल्न आग्रहसमेत गरेका थिए । तर सोमबार के भयो ? पुस १६ मा के भयो ? 

पछिल्ला दिनहरुमा उनका बोलीहरु नै उनका लागि समस्या बन्दै गएको पनि पाइन्छ । सबैभन्दा बढी बोल्ने ओलीले अझ आफ्ना नेताहरु तथा मन्त्रिपरिषदका सदस्यहरुलाई कम बोल्न पनि सुझाव दिने गरेका छन् । 

तर के प्रधानमन्त्रीले जे बोले पनि हुने ? दुई तिहाईको सरकारको नेतृत्व गरेपछि त काम पो गर्ने हो । चुट्किलाले विकास हुन्छ र प्रधानमन्त्री ज्यू ? 

अरिंगालहरु किन बोल्दैनन् ? 
विपक्षीले दुई तिहाइको सरकार ढाल्ने अनेक षड्यन्त्र रचिरहेका छन् भन्दै प्रधानमन्त्री ओलीले आक्रमणमा उत्रन कार्यकर्तालाई आग्रह गरेका थिए । दशैं अगाडि उनले विपक्षी परास्त पार्न नेता तथा कार्यकर्तालाई अरिंगाल बन्न आग्रह गरे । 

अरिंगालको काम आक्रमण गर्ने नै हो । तर ओलीले कहिल्यै अब मौरी बन्नुस् र मिलेर देश विकास गरौं भनेनन् । ओलीले अरिंगाल बन्नू भनेर आदेश दिएकाहरु पनि बोल्न छाडेका छन् । 

उनीहरुलेसमेत बुझिसकेका छन् ओलीको ठट्यौलो पारा । देश कहाँ पुग्यो ? भन्ने कुराको हेक्का उनीहरुले पनि गरिसकेका छन् । के आफ्नै कार्यकर्तालाई पनि ‘पुस १६ गते पानीजहाज चढ्न किन पाइएन ? भनेर प्रश्न गर्ने अधिकार छ कि छैन ? 

यसरी देशको कार्यकारी मजाकको पात्र बन्दा देश रुँदैन ? जनतालाई पिर्दैन ? कुनै विदेशीले तेरो प्रधानमन्त्री त कस्तो भनेर प्रश्न गर्दा मन पोल्दैन ? प्रधानमन्त्री ज्यू अब त गम्भीर बन्ने हो कि । फेरि पनि तपाईको शुभकामना मजाक बन्ने हो कि ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ