arrow

डा गोविन्द केसी इलाममा अनसनको साइत जुराउँदै, स्थानीयदेखि सांसदसम्मको दवाव

logo
प्रकाशित २०७५ पुष १८ बुधबार
govinda-kc2.jpg

काठमाडौं । चिकित्सा शिक्षा विधेयक सहमति अनुसार संसदबाट पारित गराउन दवाव दिँदै आएका सत्याग्रही प्राडा गोविन्द केसी आफ्नो अल्टिमेटमको समय सकिएपछि पुनः आमरण अनसन बस्न पूर्वी पहाडी जिल्ला इलाम पुगेका छन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्थानीय नगरपालिकाले नागरिक अभिनन्दन गर्दै गर्दा सोही कार्यक्रमलाई नै प्रभावित गर्ने गरी डा केसी मंगलबार साँझ इलाम पुगेका हुन् । उनले संसदबाट विधयक पारित गराउन मंगलबार (पुस १७) सम्मकै समय दिएका थिए । 

तर संसदबाट पारित हुने सम्भावना नदेखेपछि अनिष्ट नहोस् भन्नका लागि सरकारलाई आफ्नो मागमा दवाव दिन डा केसी इलाम लागेका हुन् । 

इलामका वरिष्ठ पत्रकार धर्म गौतमका अनुसार मंगलबार डा केसी अनसन बस्नकै लागि इलाम पुगेका हुन् । तर उनका सहयोगीहरुले अनसनका लागि केही समय कुरिदिन आग्रह गरेपछि बुधबार बिहानसम्म अनसन बस्न नसकेका हुन् । 

डा केसीका सहयोगी अभिषेकराज सिंहका अनुसार संसदको शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीले टेलिफोन सम्पर्क गरी डा केसीसंग केही दिनको समय माग गरेकी छिन् । 

सोही अनुसार कुरा अगाडि बढिरहेको बुझिन्छ । यता पत्रकार गौतमले हाम्राकुरासंग बुधबार बिहान १०ः३० बजे दिएको जानकारी अनुसार डा केसी केही समयका लागि उनीबाट टाढिएका छन् । 

उनले भने, ‘सायद उहाँले काठमाडौं आफ्ना सहकर्मीहरुसंग कुरा गर्नका लागि एकान्त खोजिरहनु भएको होला । त्यसैअनुसार उहाँ एकान्तमा जानु भएको छ । उहाँलाई एकान्तका लागि चियाबारीतिर देखाइदिएको छु । उहाँले अहिले मोबाइल स्वीच अफ गर्नुभयो । साढे ११ बजे सम्पर्क गर्छु भन्नु भएको छ ।’

समिति सभापति घर्तीले सम्पर्क गरी गरेको अनुरोधले डा केसी केही शान्त देखिएका हुन् कि भन्ने पनि देखिन्छ । अर्कातिर यसलाई बहानाबाजीका रुपमा लिएर कुनै पनि समय अनसन बस्न सक्ने पनि बुझ्न सकिन्छ । 

डा केसी बसपार्क नजिकैको होटलमा बसेका छन् । उनी एक्लै छन् । 

स्थानीयदेखि सांसदसम्मको दवाव 
इलाममा प्रधानमन्त्री ओलीको नागरिक अभिनन्दन हुँदैछ । यदि डा केसी सरकारकै विरुद्धमा आमरण अनसनमा बसे भने नागरिक अभिनन्दनको सन्देश गतिलो जाँदैन । त्यसैले नै स्थानीय सरकारले केसीलाई अनसन नबस्न दवाव दिइरहेको छ । 

अर्कातिर प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले नागरिक अभिनन्दन नगर्न आग्रह गरिरहेको छ । 

त्यस्तै सांसद पुरीले समेत पनि समय मागेपछि यसको कनेक्सन सीधै प्रधानमन्त्री केपी शर्मा ओलीमा गएर मिसिन आउँछ । तसर्थ डा केसी दवावमा छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ