arrow

प्रचण्डलाई साइजमा ल्याउन अख्तियार लगाउँदै केपी ओली

क्यान्टोनमेन्टको भ्रष्टाचार मुद्दा लगाउने तयारी

logo
प्रकाशित २०७५ पुष १८ बुधबार
prachanda-oli.png

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र दुई अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको आन्तरिक कलह सतहमा आइपुगेको छ । दुवै अध्यक्षहरु मिलेर अगाडि बढ्नु भन्दा पनि एकले अर्कालाई कसरी सिध्याउने भन्ने खेलमा लागेका छन् । 

प्रधानमन्त्रीसमेत रहेका ओलीलाई पार्टीका अर्का अध्यक्ष प्रचण्डबाट सहयोगको सट्टा असहयोग बढी भएपछि आफू सिध्दिने डरले प्रचण्डलाई नै साइजमा ल्याउने उपाय रचेको स्रोत बताउँछ । स्रोतका अनुसार यसको सबैभन्दा बलियो आधार अख्तियारबाट क्यान्टोनमेन्टको मुद्दा बल्झाउने रहेको छ । 

क्यान्टोनमेन्टको प्रकरण इतिहासकै ठूलो भ्रष्टाचार हो । डार्फर भ्रष्टाचार काण्ड भन्दा पनि ठूलो । यो काण्डमा दुई अर्बभन्दा बढीको भ्रष्टाचार भएको थियो । प्रचण्डसंगै हालका सभामुख कृष्णबहादुर महरा र उर्जा मन्त्री वर्षमान पुन पनि त्यो मुद्दामा जोडिएर आउने नाम हो ।  

त्यतिबेला लडाकुको क्यान्टोनमेन्टबारे कार्वाहीको माग गर्दै तत्कालीन एमाले निकट युवा संघले हजारौंको हस्ताक्षर प्रमाणपत्रसहित अख्तियारमा उजुरी दर्ता गरेको थियो । युवा संघका तत्कालीन अध्यक्ष महेश बस्नेतले नै यो अभियानको नेतृत्व लिएका थिए । त्यतिबेला एमालेले तत्कालीन माओवादीसंग राजनीतिक प्रतिशोध लिने उद्धेश्य राखेको थियो । 
अहिले सहकार्य गर्ने अवस्थासम्म आइपुग्दा क्यान्टोनमेन्टको मुद्दा पृष्ठभूमिबाट पछाडि हटाइएको थियो । तर दुवै अध्यक्षबीच सहकार्यमा समस्या देखिएपछि ओलीले अति भएपछि प्रचण्डलाई यो मुद्दाबाट साइजमा ल्याउन सकिने मनसायसहित मुद्दा ब्यूँताउन लगाएको बुझिन्छ । 

फाइल खुल्न ढिला किन ? 
अख्तियारले चरम भ्रष्टाचार भनिएको उक्त क्यान्टोनमेन्टको मुद्दा ढिला गरी किन खोल्यो भन्ने कुरा यतिबेला गौण बनेको छ । सबैभन्दा पेचिलो मुद्दा ओली–प्रचण्डको सम्बन्धकै हो । माओवादीका कम लडाकु हुँदा पनि धेरै भएको भन्दै गैर लडाकुलाईसमेत बैध बनाएर यसका नाइके प्रचण्डले निकै मोटो रकम हसुरेको जगजाहेरै छ । 

यस मुद्दामा अख्तियारले तत्कालीन अवस्थामा कृष्णबहादुर महरालाई पनि चिठी काटेको थियो । तर त्यो प्रक्रिया पूरा हुन नपाउँदै तत्कालीन अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध महाअभियोग लगाउने खेल संसदबाट भयो । तर्साउनका लागि कार्कीमाथि अनेक खेल खेलिए । 

अख्तियारले ठूला माछाका नाममा तत्कालीन अवस्थामा एमाले र माओवादीका गरी ३० नेताका नाममा चिठी नै काटेको थियो । सामान्य सोधपुछका लागि चिठी काटिएको भए पनि नेतालाई अख्तियारले बोलाउने ? भन्दै प्रतिशोध साँधियो । अन्ततः उनलाई अख्तियार प्रमुख हुन लायक नभएको भन्दै हटाइयो । तत्कालीन एमाले र माओवादीका दुवै दलका नेताहरुलाई चिठी काटिएको थियो । 

फाइल ढिला गरी खोल्नु आफैमा रहस्यमय छ । अख्तियारका प्रमुख नवीनकुमार घिमिरे प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीका निकै विश्वासिला । अहिले ओली आफ्नै पार्टीभित्र अप्ठेरोमा छन् । उनलाई प्रचण्डले घेराबन्दीमा पारेका छन् । ओली त्यो घेरा तोड्नका लागि प्रयासरत छन् ।

ओलीले घेरा तोड्ने उपायस्वरुप नेकपाको स्थायी कमिटी बैठक लम्ब्याए । उनको राजनीतिक प्रतिवेदन पारित नहुने चिन्ताले उनले समय लम्ब्याए । अन्ततः नयाँ बोतलमा पुरानै रक्सी खन्याएर भए पनि प्रतिवेदन पारित भयो । 

त्यो प्रतिवेदन पारित गर्नका लागि प्रचण्डले कुनै भूमिका नखेलेपछि ओली प्रचण्डप्रति रुष्ट भए । छन् । उनले तत्काल बदला लिने हिसाबले क्यान्टोनमेन्टको मुद्दा खोल्न लगाएको स्रोत बताउँछ । भ्रष्टाचार मुद्दामा प्रचण्डलाई साइजमा ल्याउनका लागि ओलीले यो चक्रब्यूह रचेको स्रोत बताउँछ । 

अख्तियार प्रमुख घिमिरेले पनि यसअघिका प्रमुखहरुले जस्तै ठूला माछालाई पक्राउ गर्ने भनेकै छन् । प्रचण्डभन्दा ठूला माछा अहिले अरु कोही हुनै सक्दैन । तर अख्तियारले क्यान्टोनमेन्टको विषयलाई छिनोफानो गर्नकै लागि फाइल खोल्दैछ त्यो अहम् पाटो हुन सक्छ । 

किन जंगिए ओली यसरी ? 
केपी शर्मा ओली यसरी किन जंगिए त्यो अहम् हो । सरकारको नेतृत्व सम्हालेको एक वर्ष अझै पुगेको छैन । ओली पनि पाँच वर्षका लागि दुई तिहाइ सरकारको नेतृत्व सम्हालेका प्रधानमन्त्री ।

तर आफ्नै पार्टीबाट काममा सघाउ नपुर्याउनु दुर्भाग्यको विषय हो । त्यसैले जंगिनु स्वभाविकै छ । अर्कातिर आलोपालो पनि हुन सक्ने सम्भावना देखिएकै हो । तर सरकारमा ओलीलाई प्रचण्डले सघाएको पाइँदैन । 

सरकारका निर्णयमा पनि प्रचण्ड मौन बस्ने गर्दछन् । टेलिकमको प्रकरणदेखि वाइडबडी विमान खरिद प्रकरणमा प्रचण्ड मौन बसिदिँदा ओलीलाई चिसो पस्नु स्वभाविकै हो । यी विषयमा ओली र प्रचण्डबीच तालमेल हुन सकेको छैन । प्रचण्ड पार्टीदेखि पब्लिकसम्ममा बोल्दाखेरि निकै रक्षात्मक बन्दै गएका छन् । 

ओली सरकारको सहआयोजनामा भएको एसिया प्यासिफिक समिटजस्तो विवादित कार्यक्रममा पनि प्रचण्ड साक्षी बन्न गएनन् । बिरामी भएको बहानामा ‘होलीवाइन’ पिउन गएनन् । जबकि त्यो कार्यक्रमलाई सफल बनाउन ओली तीन रात त होटल सोल्टीको रोयल सुइटलाई भाडा तिरेर बसेका थिए । 

बाहिर 'एकता' भित्र 'उता जा' ?
बाहिर बाहिर सहकार्यको डम्फू प्रचण्ड पक्षले बजाएकै छ । तर वास्तविकतामा एक अर्काले निषेध गरेको अवस्था रहेको नेकपा सचिवालय स्रोत बताउँछ । प्रचण्ड र ओली पक्षका दोस्रो तहका नेताहरुले पनि पक्षपाती व्यवहार भइरहेको अनुभूति भइरहेको बताउँछन् । 

पछिल्लो समय सरकारका कामकारवाहीका साना निर्णयमा प्रचण्डलाई साक्षी बनाउन खोजे पनि प्रचण्डलाई ओलीले ठूला तथा दीर्घकालीन योजनामा जानकारी गराउने गरेका छैनन् । त्यसको रीस प्रचण्डलाई हुनु स्वभाविकै हो । 

तसर्थ बाहिर सहकार्य र एकता देखाउन खोजे पनि भित्रभित्र ओलीलाई माइनस गर्न सके पार्टीमा लिड गर्न सक्ने कुरामा प्रचण्ड छन् । तसर्थ भित्र कमजोर गर्ने र विभिन्न अभियानमा बाहिर भण्डाफोर गर्न प्रचण्ड पक्ष लागिरहेको स्रोत बताउँछ । 

सरकार र  र नेतृत्वमाथि प्रश्न उठ्दै गर्दा सरकार कमजोर हुने र ओली कमजोर हुने मनसायका साथ प्रचण्डको टिम विशेष योजनाका साथ लागिरहेको बुझिन्छ । तसर्थ प्रधानमन्त्री बन्ने र नेतृत्व लिने नाममा टिकिराख्न पनि आपसमा टसल भइरहेको बुझिन्छ । 

कार्वाहीकै लागि अख्तियारमा ? 
ओलीले प्रचण्ड पक्षलाई कार्वाही नै गर्ने मनसायले क्यान्टोनमेन्टको मुद्दा ब्यूँताउन लगाएका होलान् त ? यसमा राजनीतिक विश्लेषकहरु पनि विभाजित भएको बुझिन्छ । 

अख्तियारका प्रवक्ता रामेश्वर दंगालले स्पष्ट बताउन नचाहे पनि ‘अनुसन्धानको विषय अनुसन्धान भइरहेको होला नि’ भनेर पन्छिएका छन् । आखिर अनुसन्धानको च्याप्टर बन्द भएको त छैन । अख्तियारमै भएको विषय परेकाले यो जुनसुकै समयमा बाहिर आउन सक्छ । 

भ्रष्टाचार र राजनीतिक विषयलाई नजिकबाट नियालिरहेकाहरु भने यो मुद्धालाई अगाडि बढाएर प्रचण्ड र नेताहरुलाई नियोजित रुपमा चोख्याउने योजना पनि बुनेको हुनसक्ने रुपमा लिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ