arrow

सादगी, पारदर्शीता र जवाफदेहीता भएको लोकतन्त्र चाहिन्छ – प्रदीप गिरी

logo
प्रकाशित २०७५ पुष २० शुक्रबार
loktantra.jpg

काठमाडौँ । मुलुकका लागि उदार, समुन्नत र समावेशी लोकतन्त्र आवश्यक रहेको विज्ञहरुले बताएका छन् । समाजशास्त्रीय समाज नेपालले बिहीबार यहाँ आयोजना गरेको ‘हामीले चाहेको लोकतन्त्र’ विषयक संवादमा काङ्ग्रेस नेता एवं राजनीतिक चिन्तक प्रदीप गिरीले सादगी, पारदर्शीता र जवाफदेहीता भएको लोकतन्त्र मुलुकका लागि आवश्यक भएको बताए । 

“राजनीतिक दल बलियो नभई लोकतन्त्र बलियो हुन सक्दैन”,उनले भने । नेता गिरीले कथाकथित संसदीय व्यवस्था र भोटमात्र लोकतन्त्र हुन नसक्ने बताउँदै आमनागरिकको स्वामित्व हुने खालको लोकतन्त्र बलियो हुने धारणा व्यक्त गरे ।

“म नै सबै थोक हो, म नै जान्ने हुँ भन्नु लोकतन्त्रमाथिको ठूलो खतरा हो”, उनले भने । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा स्वर्णिम वाग्लेले उन्नत लोकतन्त्र मुलुकका लागि आवश्यक भएको उल्लेख गर्दै “उदार लोकतन्त्रमाथि संस्थागत प्रहार भइरहेको छ” भने । 

डा वाग्लेले समुन्नती दिने खालको लोकतन्त्र आवश्यक भएको चर्चा गर्दै आवधिक निर्वाचनबाट सत्तामा आउने र लोकतन्त्रको अभ्यासलाई नमान्ने खेलमा वर्तमान सत्तापक्ष लागेको आरोप लगाए ।

समाजशास्त्री दिनेश प्रसाईंले संवादमुलक लोकतन्त्र अहिलेको आवश्यकता भएको बताउँदै “लोकतन्त्रका लागि निरन्तर संवाद चलाउनु जरुरी छ” भने । 

समाजशास्त्रीय समाज नेपालकी अध्यक्ष प्रा डा सन्ध्या बस्नेतले सर्वसाधारणले समाजलाई हेर्ने दृष्टिकोणको बारेमा निरन्तर बहस चलाउनका लागि उक्त कार्यक्रमको आयोजना गरिएको जानकारी दिदैं आगामी दिनमा पनि यस्ता बहसलाई जारी राख्ने धारणा व्यक्त गरिन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ