arrow

गुटमा नलाग्न कार्यकर्तालाई वरिष्ठ नेता पौडेलको निर्देशन

logo
प्रकाशित २०७५ पुष २२ आइतबार
ramchandra-daju-news-aa.jpeg

चितवन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गुटको पछि नलाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।  प्रजातन्त्रका सेनानी रघुनाथ अधिकारीको १३औँ दिनको पुण्यतिथिमा उनको निवास खैरहनीमा नेपाली कांग्रेस चितवनले आज आयोजना शोकसभालाई सम्बोधन गर्दै उनले गुट भनेर कुनै पनि नेताको पछि लाग्न नहुने बताए ।

महासमितिको बैठकपछि पार्टीभित्र एकताको सन्देश आएको भन्दै उनले भने, “अब म देउवा कांग्रेस, पौडेल कांग्रेस भनेर नलाग्नुस् म नेपाली कांग्रेस भनेर लाग्नुस् ।” गुटपछि नलाग्ने हो भने आउने निर्वाचनबाट समृद्धिको नेतृत्व कांग्रेसले गर्ने उनले बताए ।

पार्टी एक ढिक्का बन्ने विश्वास दिलाउँदै उनले भने, “इमान्दार भएर पार्टीमा लाग्नुस् तपाईँको मुल्याङ्कन पार्टीले गर्छ ।” कांग्रेस सङ्कटमा रहेको र सुधार्नु पर्ने बताउँदै उनले भने, “माथिल्लो तहमा हामी मिल्यौँ तल्लो तहमा तपाईँहरु मिल्नुस् ।”

मुलुकमा लोकतन्त्रलाई साकार पार्ने काम र जनतालाई समृद्धि दिन कांग्रेसले मात्र सक्ने उनको दावी थियो । सो अवसरमा नेता पौडेलले नेपाली कांग्रेस चितवनका पूर्वउपसभापति समेत रहनुभएका अधिकारीको निधनले सिङ्गो कांग्रेसमा अतुलनीय क्षेती पुगेको बताए।

अधिकारी परिवारले लमजुङबाटै राजनैतिक र सामाजिक परिवर्तनमा ठूलो भूमिका निर्वाह गरेको भन्दै उनले हलो क्रान्तिको अभियानमा अधिकारी परिवारको अतुलनीय योगदान रहेको पनि बताए ।

कार्यक्रममा नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, निवर्तमान सभापति टेकप्रसाद गुरुङ, पूर्वसभापतिहरु रामकृष्ण घिमिरे, शेषनाथ अधिकारी, टिकाराम न्यौपाने, कृष्णलाल सापकोटा, नेपाली कांग्रेस मकवानपुरका पूर्वसभापति रघुनाथ न्यौपाने लगायतले बोलेका थिए ।

यस अघि आजै पौडेलले समाचार सङ्कलनका क्रममा दुर्घटनामा परी निधन भएका पत्रकार प्रबिण पौडेलको रत्ननगरमा रहेको निवासमा पुगेर समवेदना प्रकट गरेका थिए । नेपाल प्रेस युनियन चितवनले आयोजना गरेको शोकसभामा उनले कार्यक्षेत्रमा रहँदा एक पत्रकारले ज्यान गुमाउनु परेको सुन्दा आफूलाई दुःख लागेको बताए। एपि वानमा कार्यरत पौडेलको यही पुस १३ गते रत्ननगरमा सवारी दुर्घटनामा परी निधन भएको थियो ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ