arrow

नेपाल जस्तै पाकिस्तान र अफगानिस्तानबाट भारत जाने भारतीय जहाजमा पनि सुरक्षा जाँच

logo
प्रकाशित २०७५ पुष २३ सोमबार
indian-jet-airways.jpg

काठमाडौं । नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कोही भारतीय एयरलाईन्सको विमान चढी भारत जानु भएको छ भने तपाइले विमानस्थलको भर्‍याङमा थप अर्को सुरक्षा जाँच गरेरै जानुभएको होला । अन्य अन्तर्राष्ट्रिय उडानमा नभएको व्यवस्था भारतीय विमानको हकमा रहँदै आएको छ । आखिर किन यो व्यवस्था भन्ने प्रश्न आम नागरिकलाई हुनु स्वभाविक  हो । 

परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई पनि यो प्रश्नले घेरेको रहेछ । ज्ञवालीले आइतवार यो विषय केही सम्पादकहरुसँग राखेको बिषय बाहिर आएको छ । नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलबाट केही बर्ष पहिले भारतीय राष्ट्रिय ध्वजावाहक एयर इण्डियाको आइसी ८१४ कल साइनको जहाज काठमाडौंबाट दिल्ली जाने क्रममा अपहरण गरी अफगानिस्तानको कान्दाहार पुर्‍याइयो । 

क्रु मेम्बरसहित १७६ जना बोकेर उडेको १९९९ डिसेम्बर २४ को दिन नेपालको विमानस्थलको सुरक्षा र सुरक्षा संयन्त्र माथिको ठूलो झापड थियो । हाम्रो सुरक्षा कमजोरीको कारण नेपालको अन्तराष्ट्रिय छवि धुमिलिएको दिन थियो त्यो । सोहि अपहरणमा हनिमुन मनाउन नेपाल आएका कत्याल थरका एक भारतीय यूवाको हत्या समेत भएको थियो ।

सो विमान अपहरणपछि भारत सरकारले केहि समय नेपालबाट हवाइ उडान रद्ध गरेको अवस्था थियो । पछि आफ्नै सुरक्षा जाँच हुने शर्त राखिएपछि नेपालको जमीनमा सुरक्षा जाँच नगरी भारतीय विमानको भर्‍याङमा जाँच गर्ने व्यवस्था मिलाएर हवाइ सम्बन्ध पुनः शुरु गरिएको थियो ।           

नेपालमा सञ्चालन हुने भारतीय एयरलाइन्सका अधिकारीहरुका अनुसार नेपालमा मात्र नभइ पाकिस्तान र अफगानिस्तानबाट भारत जाने भारतीय विमानहरुमा पनि दोहोरो सुरक्षा जाँच हुने गर्दछ । 

किन हुन्छ दोहोरो सुरक्षा जाँच ? 
नेपालमा सञ्चालनमा रहेका भारतीय विमान कम्पनीका अनुसार नेपालबाट विमान अपहरण भए यता भारतीय नागरिक बोकेका विमानहरु सुरक्षाका हिसावले अपहरणदेखि आक्रमणको निशानामा नै रहेका हुन्छन् । 

सुरक्षा चुनौती सम्वन्धी जानकारी उपलब्ध गराउने निकायहरुले त्यस्तो खतरा तिनै मुलुकबाट हुन सक्ने प्रतिवेदन सुरक्षा अधिकारीहरुले अन्य देशका अधिकारीहरुसँग पनि बाँड्ने गर्दछन् । यो सुरक्षा खतराबाट मुक्त रहेको आश्वस्त हुन भारत सरकारले नेपाल, पाकिस्तान र अफगानिस्तानबाट भारत जाने भारतीय विमानमा यो व्यवस्था गराएको छ। जुन कुरा सम्वन्धित देशका सरकारहरुले पनि स्विकारेका छन् । 

आतंकवादसँग सम्झौताको तीतो विगत
विमान अपहरणपछि भारत सरकारले आतंकवादीहरुसँग अनावश्यक सम्झौता गर्नुपरेको तीतो विगतलाई बिर्सन नसकेको उसको गतिविधिले देखाउँछ । विमान अपहरणपछि दीर्घकालीन रुपमा आफ्नो देशको सुरक्षामा सम्झौता गर्नुपरेको उसले सायद भुल्न सकेको छैन । विमानमा एक युवाको हत्या, आतंकवादीलाई रिहा र अन्य माग पूरा गराउन वाध्य भएको इतिहास उसका लागि पनि सधै खाटा नबसेको घाउ भएको छ । 

आतंकवादी पक्षसँग सम्झौता गर्न वाध्य भएको परिणाम मौलाना मसुद अजहरलाई भारत सरकारले छोडेको थियो । पछि तिनै अजहर जैस ए मुहम्मद जस्तो कुख्यात आतंकवादी समुहको नाइके भए । अहिले पनि सो समुहले भारतमा आतंकवादी गतिविधिका लागि आफ्ना सदस्य पठाउने गरेको भारतीय पक्षको ठहर भारतीय मिडिया मार्फत पनि प्रकट भइरहेको हुन्छ । सो समूहले नेपालकै बाटो प्रयोग गरेर अर्को अपहरण गराउन सक्ने भयले पनि बारम्वार झस्काउने गरेको भारतीय पक्षको धारणा सार्वजनिक हुने गरेको छ । 

यो पृष्ठभूमिमा नेपालको जमीनबाट भारतीय विमान हुँदै भारत जाने क्रममा थप सुरक्षा जाँचको प्रवन्ध गरिंदै आएको छ। विगतको यो पृष्ठभूमि रहँदा रहँदै मन्त्री ज्ञवालीले यसलाई नजरअन्दाज गरेर हो या नेपालको अब सुरक्षा जाँचको अवस्थामा सुधार रहेको विश्वासमा हो यो प्रसंग उठाएका छन् । तर त्यस बारेमा थप जानकारी भने मन्त्री ज्ञवालीले दिएका छैनन् । 

नेपालको भूभागबाट कुनैपनि देशको नागरिकलाई हानी हुनु हुँदैन । संसारका कुनै पनि देशका नागरिकको जीउ धनको जिम्मा नेपालमा हुँदासम्म हाम्रो सरकारको हो । हामीले गर्न सक्नेसम्म गर्ने हो । कतिपय शंका लागेको अवस्थामा आपसी विश्वासमा सार्वभौमसत्तामा खलल नपुग्ने गरि स्वीकार्न सक्नेसम्मको व्यवस्था गरी चलनकै निरन्तरता स्वरुप सुरक्षा जाँचको प्रवन्ध पनि होला । 

यदि हामी आफै आश्वस्त भएको अवस्थामा भविष्यमा कुनै खतरा आउन सक्दैन भन्ने हो भने पुरानो व्यवस्थाको निरन्तरता आवश्यक पनि हुँदैन।  अब के गर्ने भन्ने जिम्मा परराष्ट्र मन्त्री ज्ञवालीले लिदा नै उपयुक्त होला । ताकि भोलि नाक काट्ने काम नहोस् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ