arrow

सङ्घीय समाजवादी फोरम र हाम्रो कम्युनिष्ट पार्टी एकीकरणको घोषणा

logo
प्रकाशित २०७५ पुष २३ सोमबार
ekikaran.jpg

काठमाडौँ । सङ्घीय समाजबादी फोरम नेपाल र हाम्रो कम्युनिष्ट पार्टी नेपालबीच शनिवार काठमाडौँको जमलमा एक भब्य कार्यक्रमको आयोजना गरी पार्टी एकीकरणको घोषणा गरिएको छ ।

कार्यक्रममा पार्टी अध्यक्ष तथा नेपाल सरकारका उपप्रधानमन्त्री उपेन्द्र यादवले खादा र सहअध्यक्ष तथा प्रतिनिधिसभा सदस्य राजेन्द्र प्रसाद श्रेष्ठले टीका लगाएर पार्टीमा एकीकृत भएका नेता कार्यकर्ताहरूलाई स्वागत गरे भने हाम्रो कम्युनिष्ट पार्टी नेपालका महासचिव हिरालाल भुजेलले आफ्नो पार्टी सङ्घीय समाजवादी फोरम नेपालमा एकीकृत भएको घोषणा गरे ।

पार्टी एकता घोषणा कार्यक्रममा ससफोका अध्यक्ष उपेन्द्र यादवले नेपाली कांग्रेस र कम्युनिष्ट पार्टीहरूले यस्तो सुन्दर देशलाई मागेर खाने देश बनाएको बताउँदै उनीहरूबाट देशको समृद्धि र समाजवाद सम्भव नभएको बताए । उनले नेपालका कम्युनिष्ट पार्टीहरू नक्कली कम्युनिष्ट भएको समेत घोषणा गरे ।

सहअध्यक्ष तथा वार्ता समिति संयोजक राजेन्द्र प्रसाद श्रेष्ठले ससफो नेपाल नयाँ ढङ्गको पार्टी भएको बताउँदै पार्टीमा एकीकृत भएका कसैप्रति पनि आग्रह पूर्वाग्रह नराखी योग्यता क्षमता अनुसार जिम्मेवारी दिने बताए । उनले ससफो नेपाल समाजवादी, लोकतान्त्रिक तथा प्रगतिशील शक्तिहरूको केन्द्र भएको बताए ।

ससफोका उपमहासचिव तथा वार्ता समितिका सदस्य प्रकाश अधिकारीले पार्टीमा नयाँ र पुरानोको भेद नहुने भन्दै सङ्घीयता र समाजवादपक्षधर अरु केही दलहरू पनि निकट भविष्यमै ससफोसँग एकीकृत हुने जानकारी दिए । त्यसरी नै पाार्टीका केन्द्रीय सदस्य तथा प्रदेश नं ३ का इन्चार्ज आङ्देन्दी शेर्पाले ३ नं प्रदेश सम्बद्ध सबै साथीहरूलाई तुरुन्तै पार्टी समितिमा आवद्ध गराउने प्रतिवद्धता व्यक्त गरे ।

ससफोमा एकीकृत भएको हाम्रो कम्युनिष्ट पार्टीका महासचिव भुजेलले आफु नेतृत्वको समुह ससफोको झण्डामुनी गोलबद्व भएकाले अब सबै सातवटै प्रदेश, जिल्ला, नगर र गाउँ समितिहरू आजकै मितिदेखि सङ्घीय समाजबादी फोरममा आवद्ध हुने बताए । उनले आफ्नो पार्र्टी पनि सङ्घीयता र समाजवादको पक्षधर रहेकोले ससफोको नीति, सिद्धान्त र विचारलाई स्विकार गरी ससफोमा एकीकृत भएको बताए ।

त्यसैगरी हाम्रो कम्युनिष्ट पार्टीका वार्ता समिति संयोजक देवराज घिमिरे तथा संगठन विभाग प्रमुख तथा पार्टीका सुदुर पश्चिम प्रदेश इन्चार्ज राजेन्द्र वहादुर विष्टले अब साना साना पार्टीबाट देशको समृद्धिमा योगदान नहुने भएकाले एउटा सशक्त राजनीतिक विकल्प निर्माणमा सहयोग हुने भएकाले नै आफूहरू ससफोतर्फ आकर्षित भएको बताए ।

कार्यक्रममा ससफोका पोलिटब्यूरो सदस्य रमेशबाबु श्रेष्ठ, केन्द्रिय सदस्य तथा प्रदेश नम्बर ३ आ अध्यक्ष लाल वहादुर तामाङ, मञ्जु अन्सारी, तारा विश्वकर्मा, विष्णुजङ बस्नेत लगायतको पनि उपस्थिति रहेको थियो ।

यस कार्यक्रममा ३०० भन्दा बढी नेता कार्यकर्ताहरू ससफोमा एकीकृत भएको कुरा ३ नम्बर  प्रदेशका अध्यक्ष लाल वहादुर तामाङले  जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ