arrow

सैनिकमा आधा आकाश :  विश्वलाई हामीले सिकायौं, तर आफैं पछि पर्‍यौं 

logo
सुदर्शन अर्याल,
प्रकाशित २०७५ पुष २३ सोमबार
Nepal-Army-Day.jpg

काठमाडौं । विश्वमा पश्चिमी मुलुकहरुले महिलालाई गृहिणीको दर्जामा राखिरहँदा हाम्रा दिदीबहिनीहरुमा हातमा भाला र खुकुरी लिएर शत्रुमाथि जाईलाग्ने आँट आईसकेको थियो । आफ्नो घरायसी काम सकेर शत्रुसँग पौंठेजोरी खेल्न समेत भ्याएका उनीहरुलाई इतिहासले त्यति सम्मान गर्न सकेन । तर, उनीहरुकै बलिदानीले अहिलेसम्म हामीहरु कहिलै पनि कसैको दास नबनेको सार्वभौम देशका नागरिक भएर बाँच्न पाएका छौं । 

ती महिलाहरुको योगदानलाई सम्मान गर्न नसक्नु इतिहासको कमजोरी हुनसक्छ । तर, हिमालको काखमा जन्मिएर आफ्नो सार्वभौमसत्ताको रक्षाको लागि चुलाचौकामा सीमित नभएका ती महिलाहरुलाई हाम्रै ऋषिमुनीहरुको यो पावन भूमिले हिम्मत जुटाईदिने काम ग¥यो । हाम्रै जमिनमा उब्जिएको कन्दमूलले उनीहरुमा शक्ति र साहस जुटाईदियो । त्यसैले त त्यतिबेलाका महिला सैनिकहरुले आफू नेतृत्वमा पुग्नभन्दा पनि निस्वार्थ रुपमा राष्ट्र सेवाको लागि युद्धमा होमिए । त्यही नेतृत्वको लागि नलड्दा उनीहरु इतिहासको पर्दामा भने पछि परिरहे । 

ती युद्धहरुमा महिलालाई नेतृत्व दिईएन । त्यसैले कमाण्डरको मात्रै नाम सम्झिने हाम्रा मानसपटलमा अहिले पनि कुनै महिला सैनिकहरुको नाम आउने गरेको छैन । तर, नेतृत्वमा नआएपनि ती युद्धहरुमा महिला सैनिकहरुको उच्च सहभागिताको बारेमा भने सबै इतिहास साक्षी छ । नेपाल भित्रको आन्तरिक युद्ध र बाह्य शक्तिसँगको युद्धहरुमा नै किन नहोस् महिला सैनिकहरुको भूमिका अद्वितीय रहेको तथ्य निर्विवादित छ । तर काहिँ कतै ती योद्दाहरु सैनिक होईनन् स्वतन्त्र लडाकू मात्रै थिए भन्ने पनि तर्कहरु आउने गरेको छ । तर, राज्यले सैनिकको रुपमा धेरै जनशक्ति पाल्न नसक्ने त्यो समयमा आफ्नो घरको माना खाएर देशको लागि युद्ध लड्ने ती सैनिकहरुलाई सैनिक नभन्दा उनीहरुमाथि न्याय नहुने तर्क पनि आउने गरेको छ । 

अमेरिकी महिला सैनिक अँग्रेज फौजले भारतमा आएर आफ्नो फौजमा महिलाहरुलाई नर्सको जागिर दिनुभन्दा आधा शतक अघि नै हाम्रा महिला योद्दाहरुले शत्रुको गर्धनमा खुकुरीले आक्रमण गरिसकेका थिए । आधा आकाशको रुपमा मानिने महिलालाई साहसी बनाउन हाम्रै यो ऋषिमुनीहरुको भूमिले सिकाएको हो । सीता, गार्गी जस्ता विदूषीहरुपनि हाम्रै चेलिबेटीहरु हुन् भने पासाङ ल्हामु जस्ता साहसीलाई पनि यही भूमिले जन्म दिएको हो । अरु अज्ञात बीर योद्दाहरुलाई पनि यही माटोले साहस थपेको हो । 

नेपाली सेनाको इतिहासलाई हेर्ने हो भने सन् १८१४ देखि १६ सम्म भएको नेपाल अँग्रेज युद्धको समयदेखि नै तत्कालीन नेपाली सेनामा महिलाहरुको सहभागिता भएको थियो । यो समयको युद्ध नित्तान्त बन्दूकका बिरुद्ध खुकुरी र गुलेली जस्ता घरेलु हतियारसँग थियो । यस भन्दा अघि र पछि पनि हाम्रा फौजहरु नुवाकोटको युद्ध, कीर्तिपुरको युद्ध, कान्तिपुर भक्तपुर, ललितपुर, सेन अधिराज्य, किराँत राज्य, बाईसे चौविसे राज्य कुमाउ गढवाल जस्ता नाममा आन्तरिक युद्धहरु लडेको इतिहास छ । यस्ता युद्धहरुमा पनि धेरै महिलाहरुको सहभागिता भएको इतिहासका पानाहरुमा भेटिन्छ । 

त्यतिबेलाको नेतृत्वले कहिलै पनि महिलाहरु कमाण्डर बन्नसक्नेमा विश्वास गरेन । त्यसैले पनि उनीहरुको नाम इतिहासमा सजिलै पाउन सकिँदैन । तर,त्यस्ता युद्धहरुमा उनीहरुको योगदान रहेको भन्ने कुरा यदाकदाका शिलालेखहरुमा अहिले पनि भेटिन्छ । Female Soldier

नेपाली सेनामा महिलाको वर्तमान अवस्था 

यसरी २०० वर्षदेखिको महिला सहभागिता सुरु भएको सेनामा औपचारिक रुपमा महिला सैनिक भर्ति भने निकै पछि भएको छ । हामीले औपचारिक रुपमा महिलाहरुलाई सैनिकमा भर्ति गराउँदा हाम्रा छिमेकी मुलुकहरुले महिलालाई सैनिक सेवामा अभ्यस्त बनाईसकेका थिए । साधारण सेवामा प्रवेश गरेर युद्ध क्षेत्रमा खटाउनको लागि भन्दा पनि विसं २०१८ देखि नेपाली सेनाले महिलाहरुलाई मेडिकल क्षेत्रमा उपचारिकाको रुपमा भर्ति गर्न सुरु गर्यो । जुन अभ्यास धेरै पहिले इष्ट इण्डिया कम्पनीले गरिसकेको थियो । महिला सैनिकलाई पञ्चायती शासन सुरु भईसकेपछि स्वास्थ्य सेवाबाट सैनिकमा प्रवेश गर्ने व्यवस्था गरिएको थियो । पछि २०४७ सालमा प्रजातन्त्र पुनस्र्थापना पछि बनेको नयाँ संविधानमा कुनैपनि सरकारी सेवामा जात, लिंग, वर्ण आदिको आधारमा कसैलाई पनि विभेद गर्न नपाईने व्यवस्था भएपछि नै नेपाली सेनामा समेत महिलाहरुको लागि संवैधानिक रुपमा बाटो खुलेको थियो । 

पछि विसं २०६० सालमा आएपछि बल्ल नेपाली सेनाले साधारण सेवा तर्फ समेत महिला भर्ना गर्ने कार्यको सुरुवात गरेको पाईन्छ । हाल नेपाली सेनामा महिला सैनिकहरु ४ हजार ६ सय ४९ जना कार्यरत रहेको नेपाली सेनाको सूचना तथा जनसम्पर्क निर्देशनालयले जनाएको छ ।  उनीहरु मध्ये २ सय ७९ जना अधिकृत र ४२ सय ७० जना पदिक र अन्य दर्जाका सैनिकहरु रहेका छन् । 

पछिल्लो समय महिलाहरुलाई सेनाको साधारण सेवामा औपचारिक रुपमा भर्ना गर्न थालेपछि उनीहरुलाई विशेषतः कम्ब्याट, कम्व्याट सपोर्ट तथा कम्ब्याट सर्भिस सपोर्ट युनिटहरुमा नियुक्ति दिने गरिएको छ ।  महिलाहरुको सेवाको लागि विशेषगरी सैनिक प्रहरीहरु, प्रशासन सेवा जस्ता क्षेत्रहरुमा महिलाहरुलाई विशेष प्राथमिकता दिने गरिएको छ । महिला सैनिकहरुको हकमा डेलिभरी समयमा २ महिना विदा दिने, डेलिभरी पछि थप ६ महिना बेतलबी विदा दिने जस्ता सुविधाहरु पनि दिने गरिएको छ । female soldiers

विदेशी मुलुकहरुमा महिला सैनिक 
त्यसो त आधुनिक सैनिक संरचनामा नेपालमा भन्दा पहिले नै छिमेकी मुलुकहरुले महिलालाई सैनिक सेवामा प्रवेश गराएको पाईन्छ । सैनिकहरुको व्यवस्थित रुपमा संरचनागत विकास भएपछि भारत, चीन जस्ता देशहरुले पनि पहिला सैनिकलाई यो क्षेत्रमा प्राथमिकता दिन थाले । विश्वलाई महिला सैनिक भर्ति गर्न हामीले सिकायौं । तर, बीचमा हामीले महिला शक्तिलाई बुझ्न नसक्दा हामी महिलाहरुको साहसलार्इ सम्मान गर्ने देशको सूचीमा पर्न सकेनौं ।  

मुलुकहरुले सेनामा महिलाको भूमिकालाई अगाडि ल्याईरहेका छन् । विश्वमा नै उदाहरणीय बनेको इजरायली सेना होस् या त विश्व शक्ति राष्ट्रको रुपमा उदाएको चिनियाँ सेनामा होस् । महिलाहरुको अहं भूमिका देखिन थालेको छ । यस बाहेक पनि वेल्जियम, क्यानडा, डेनमार्क, फ्रान्स, जर्मनी, ग्रीस, हंगेरी, नर्वे, नेदरल्याण्ड, फिनल्याण्ड, आयरल्याण्ड, स्पेन, टर्की, पोर्चुगल, घाना जस्ता मुलुकहरुमा समेत महिला सैनिकहरु सेनाको मियोको रुपमा रहेका छन् । 

छिमेकी मुलुक भारतले सन् १८८८ देखि भारतीय सेनामा नर्सको रुपमा महिलाहरुलाई प्रवेश गराएको इतिहास छ । तर, भारतीय सेनामा सन् १९९२ देखि भने गैर मेडिकल क्षेत्रमा पनि महिला सेनालाई भर्ना लिन थालिएको हो । भारतीय सैनिकको तथ्यांक अनुसार अहिले कूल भारतीय सेनामा अहिले पनि ३ प्रतिशत महिला रहेको बताईएको छ । त्यस्तै, जल सेनामा २.८ प्रतिशत, र हवाई सेनामा साढे ८ प्रतिशत महिला सैनिक रहेको बताईएको छ । 

अर्को छिमेकी मुलुक चीनमा अहिले कूल सेनाको साढे ७ प्रतिशत महिला सेना रहेको पिपुल्स डेल्ली चाईनाको रिपोर्टमा उल्लेख छ ।

अर्को तर्फ इजरायली सेनामा महिला सैनिकको अवस्थालाई हेर्ने हो भने पहिले पाईलटको रुपमा महिला सैनिकहरु भर्ति गर्न सुरु गरेको इजरायली सैनिकले १९४८ को स्वतन्त्रता युद्ध पछि कमव्याट तहमा महिलालाई धर्ना गर्न प्रतिबन्ध लगायो । पछि सन् १९९४ मा त्यहाँकै एक उच्च अदालतको आदेशपछि इजरायली सेनाले हवाई क्याडेटमा महिला सैनिक भर्ना गर्न सुरु ग¥यो । यसरी विश्वले २० औ शताब्दीको अन्तिमदेखि मात्रै महिला सैनिकहरुलाई आफ्नो फौजमा स्थान दिएको देखिन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ