arrow

फूलचोकी र चन्द्रागिरिमा हिमपात

logo
प्रकाशित २०७५ पुष २३ सोमबार
channdragiri.jpg

काठमाडौँ। काठमाडौँ नजीकका नगरकोट, फूलचोकी, चन्द्रागिरि, दामनलगायत स्थानमा आज हिमपात परेको छ । पश्चिमी वायुको प्रभावले आज देशभर बदली हुनाका साथै उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात परेको जनाइएको छ । काठमाडौँमा भने बिहाद ९ बजेदेखि हल्का वर्षा भएको छ ।

देशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम खालको हिमपात परेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो । साथै उच्च हिमाली भूभागका मनाङ, हुम्ला, जुम्लालगायत स्थानमा पनि हिउँ परेको महाशाखाले जनाएको छ । न्यूनतम तापक्रम नघटेको भए पनि मुलुकभर बदली र हिमपात हुँदा र घाम नलाग्दा बढी चिसो महसुस गरिएको मौसमविद् कँडेलले बताउनु भयो । काठमाडौँमा भने केही समय घाम लागेको छ ।

आज काठमाडौँको न्यूनतम तापक्रम ६ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ । आइतबार काठमाडौँको न्यूनतम तापक्रम १ दशमलव ८ डिग्री सेल्सियस थियो । राति देशको पश्चिमी भूभागममा आंशिक बदली तथा मध्य र पूर्वी भूभागमा सामान्य बदली रहने छ । मध्य र पूर्वी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहनाका साथै देशको उच्च पहाडी क्षेत्रका केही स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

मङ्गलबार देशका पश्चिमी तथा पूर्वी पहाडी भेगमा आंशिक बदली हुने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । त्यस्तै बुधबार पूर्वीपहाडी भूभागमा आंशिक बदली रही अन्य स्थानमा मौसम सामान्यतया सफा रहने छ भने उच्च हिमाली भेगका केही स्थानमा हल्का हिमपात र पूर्वी पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ