arrow

सरकार सांसदप्रति उत्तरदायी भएन : कांग्रेस प्रमुख सचेतक

logo
प्रकाशित २०७५ पुष २५ बुधबार
balkrishna_khad11.jpg

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले सरकार सांसदप्रति उत्तरदायी हुनुपर्ने बताएका छन् ।  प्रतिनिधिसभाको आजको बैठकको सुरुआतमै कांग्रेसका सांसद उठेपछि सभामुख कृष्णबहादुर महराले सांसद खाँणलाई बोल्न समय दिनुभएको थियो । सांसद खाँणले प्रतिनिधिसभा नियमावलीमा सभामुखको अनुमतिले प्रधानमन्त्री तथा मन्त्रीले सार्वजनिक वक्तव्य दिइसकेपछि सांसदले समय माग गरेर प्रश्न गर्न पाउने व्यवस्था रहेको उल्लेख गर्नुभयो ।

यही पुस २२ गते बैठकमा बोल्नका लागि समय माग गर्दा पनि समय नदिएकोप्रति गुनासो गर्दै उहाँले सरकार सांसदप्रति उत्तरदायी नभएको टिप्पणी गर्नुभयो ।

सांसद खाँणले भन्नुभयो, “सांसदले प्रश्न सोध्दा प्रधानमन्त्री र मन्त्रीले किन जवाफ दिनुहुन्न, हामीले नेपाली जनताको तर्फबाट प्रश्न सोध्ने हो, यसमा हाम्रो गम्भीर आपत्ति छ । सभामुखले सांसदको अधिकारको रक्षा गर्नुपर्छ भन्ने आग्रह छ ।”
प्रधानमन्त्री र मन्त्रीले सांसदले उठाएको प्रश्नको जवाफ नदिए बैठक अवरोध गर्ने उहाँले ध्यानाकर्षण गराउनुभयो । सांसद खाँणको भनाइप्रति सभामुख महराले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै मन्त्रीले सार्वजनिक महत्वको वक्तव्य दिँदा जवाफ दिन निर्देशन दिनुभयो ।

सो लगत्तै राष्ट्रिय जनता पार्टी नेपालका सांसदहरु उभिएर विरोध जनाएपछि सभामुख महराले राजपा नेपालका प्रमुख सचेतक लक्ष्मणलाल कर्णलाई बोल्न समय दिनुभएको थियो ।

सांसद कर्णले तराई मधेशमा भएका आन्दोलनमा मानवाधिकार हननका घटना भएको उल्लेख गर्दै त्यसको छानबिनका लागि सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्रलालको संयोजकत्वमा समिति गठन गरिएको जानकारी गराउनुभयो । उहाँले समितिले तीन हजार २६४ उजुरी सङ्कलन गरी छानबिन गर्नुका साथै प्रतिवेदन तयार गरी सरकारलाई बुझाए पनि हालसम्म सार्वजनिक नभएको सम्बन्धमा आपत्ति प्रकट गर्नुभयो ।

सांसद कर्णले प्रतिवेदन सार्वजनिक गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो । सभामुख महराले सोबारेमा सरकारको विशेष ध्यानाकर्षण गराउनुभएको थियो ।
–––

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ