arrow

जापानले जनायो निरन्तर सहयोगको प्रतिबद्धता, राष्ट्रपति र प्रधानमन्त्रीसंग जापानी विदेशमन्त्रीको शिष्टाचार भेट

logo
प्रकाशित २०७५ पुष २६ बिहिबार
oli-japan-foreign-minister.jpg

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालको दुई दिवसीय भ्रमणमा रहेका जापानका विदेशमन्त्री तारो कोनोले बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेट गरेका छन् ।  

त्यस अवसरमा नेपाल–जापान सम्बन्धका साथै पारस्परिक हित र चासोका विविध विषयमा विचार विमर्श भएको थियो । मन्त्री कोनो नेतृत्वको जापानी प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री ओलीले नेपालको सामाजिक, आर्थिक विकासमा जापानबाट निरन्तर सहयोग प्राप्त भएकामा आभार व्यक्त गर्दै नेपाल सरकारको विकास निर्माणका प्राथमिकता, कृषि क्षेत्रको आधुनिकीकरण, ऊर्जा उत्पादन, पूर्वाधार विकासलगायत क्षेत्रमा सहायताका निम्ति अनुरोध गरेको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा राजन भट्टराईले बताए ।  

प्रधानमन्त्री ओलीको अनुरोधलाई सकारात्मक रुपमा लिएको र जापानले नेपाललाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको जानकारी सल्लाहकार भट्टराईले दिए ।
 
दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन सार्क र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासका लागि बङ्गालको खाडीको प्रयास बिम्स्टेक जस्ता क्षेत्रीय सङ्गठनको विकास हुनुपर्नेमा जोड दिँदै मन्त्री कोनोले जापानले सहयोग गर्ने पनि बताएको भट्टराईले जानकारी दिए । 

भेटमा सूर्यविनायक–धुलिखेल सडक विस्तार, कलङ्की–नागढुङ्गा सुरुङमार्ग निर्माण, नेपाली श्रमिकलाई जापानमा रोजगारी प्रदान गर्नेलगायत पारस्परिक सहयोगका क्षेत्रबारे पनि विचार विमर्श भएको सल्लाहकार भट्टराईले बताए । 

नेपालसँग श्रम सम्झौता गर्न जापानी टोली निकट भविष्यमा काठमाडौँ आउने तथा नेपाल र जापानबीच हवाई सेवा सम्झौता भएसँगै नेपालको पर्यटन प्रवद्र्धन र विशेषगरी नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन जापानबाट सक्दो सहयोग हुने प्रतिबद्धता व्यक्त भएको उनले जानकारी दिए । 


राष्ट्रपति भण्डारीसंग शिष्टाचार भेट
त्यस्तै राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि जापानका विदेशमन्त्री तारो कोनोले बिहीबार बिहान राष्ट्रपति कार्यालय शितल निवासमा शिष्टाचार भेट गरे । 

त्यस अवसरमा नेपाल–जापान सम्बन्धका साथै पारस्परिक हित र चासोका विविध विषयमा विचार विमर्श भएको थियो । भेटमा नेपालका लागि जापानका राजदूत मासामिची साइगो, राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरुको उपस्थिति थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ