arrow

नेविसंघको महाधिवेशन केन्द्रित गतिविधि नरोक्नू : देउवा

logo
प्रकाशित २०७५ पुष २९ आइतबार
nsu-deuba.jpg

काठमाडौं । नेविसंघ नेतालाई महाधिवेशन केन्द्रित गतिविधि नरोक्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्देशन दिएका छन् । नेविसंघका ७ पदाधिकारीको राजीनामापछि भेट्न पुगेका नेतालाई सभापति देउवाले महाधिवेशनको तयारीअन्तर्गत भइरहेका जिल्ला अधिवेशनलगायत गतिविधि जारी राख्न निर्देशन दिएका हुन् । देउवाले माघ १० मा बस्ने केन्द्रीय कार्यसमितिको बैठकमा छलफल गरेर नेविसंघको समायावधिका बारेमा निर्णय गरिने बताए ।

आइतबार महामन्त्री कुन्दनराज काफ्लेको नेतृत्वमा नेविसंघको टोली देउवा निवास बुढानिलकण्ठ पुगेको हो ।  देउवाले महाधिवेशनको तयारीलाई यथावत् राख्दै संगठन विस्तारमा जोड दिनुपर्ने बताए । भेटमा काफ्लेले आगामी १२ औं महाधिवेशन अहिलेकै कार्यसमितिले गर्ने वातावरण बनाउन देउवासँग आग्रह गरेका थिए ।

पछिल्लो पटक थप गरिएको दुई महिनाको समयमा पनि महाधिवेशन नहुने भइसँगै नेविसंघमा अन्योल देखिएको हो । नैनसिंह महर नेतृत्वको नेविसंघको दोस्रो पटक थप गरिएको म्याद माघ २ गते समाप्त हुँदैछ । माघ २ गतेसम्म कांग्रेसले कुनै निर्णय नगरे विधानतः नेविसंघ स्वतः विघटन हुनेछ ।

भेटमा महामन्त्री काफ्लेले १४ जिल्लामा अधिवेशन सम्पन्न भइसकेको र बाँकी रहेका अधिकांश जिल्लामा अधिवेशनको प्रक्रिया सुरु भइसकेको भन्दै तीन महिनाभित्र महाधिवेशन गर्न सकिने बताएका थिए ।

गत शुक्रबार नेविसंघका सात जना पदाधिकारीले पदबाट संयुक्त राजीनामा दिएका थिए । महरको नेतृत्वमा १२ औं महाधिवेशन हुन नसक्ने दाबी गर्दै तीन उपाध्यक्ष, एक महामन्त्री र तीन जना सहमहामन्त्रीले पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर राजीनामा बुझाएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ